एमालेसँग गठबन्धन डराइरहेको छः पूर्वमुख्यमन्त्री पौडेल

साझाकुरा
२०७९ बैशाख ११, आईतवार ०९:१८

हेटौंडा,-बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा एमालेदेखि गठबन्धनका दल नै डराएको दाबी गरेका छन् ।नागरिकमा एमालेप्रति बढेको क्रेजका कारण पराजित हुने हतासले गठबन्धनका दलहरु डराएको पौडेलले दाबी गरेका हुन् । हेटौंडा उपमहानगरपालिका–१२ मा नेकपा एमालेको प्रचारप्रसार कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले एमालेलाई दिएको भोट खेर नजाने भन्दै समृद्धि र परिवर्तनका लागि एमालेको विकल्प नभएको बताएका छन् । ‘एमाले एक्लै अरु सबै शक्ति एकातिर हुँदा पनि गठबन्धनका दलहरु एमालेसँग डराइरहेको छन्’, उनले भने ।

शिक्षा, स्वास्थलगायत भौतिक क्षेत्रको विकासमा एमालेभन्दा अगाडि कुनै दल नरहेको दाबी पौडेलको थियो । नेकपा एमालेका केन्द्रीय सल्लाहकार समितिसदस्य समेत रहेका पौडेलले एमाले विकासको मूल फुटाउने पार्टी भएको भन्दै स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदबारलाई जिताउन आग्रह गरे । नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर सहइन्चार्ज जुनेली श्रेष्ठले उपयुक्त व्यक्तिले चुनाव जिते विकासको काम पनि धेरै हुने बताइन् । त्यसका लागि एमालेका उम्मेदबार जिताउनु पर्ने उनको दाबी छ ।

एमालेले हरेक स्थानीय तहमा विकासप्रेमी र इमान्दार उम्मेदबार छानेको बताइन् ।कार्यक्रममा नेकपा एमाले हेटौंडा १२ नम्बर वडा कमिटीका अध्यक्ष बखानसिंह घलानको संयोजकत्वमा ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटीसमेत घोषणा गरिएको छ । वडा कमिटी अध्यक्ष घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्यहरु सुमित्रा काफ्ले, आरती पाठक, वडा सदस्य पदका उम्मेदवारहरु रुक्मिणी स्याङ्वो, ज्ञानबहादुर श्रेष्ठ, महेश भट्टराई, गीता परियारलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*