विवाद साम्य बनाउँदै चुनावी अभियानमा सक्रिय गठबन्धन

साझाकुरा
२०७९ बैशाख १८, आईतवार १२:४९

हेटौंडा- मकवानपुरमा सत्तारुढ गठबन्धन चुनावी अभियानमा सक्रियरुपमा लागेको छ । स्थानीय तहको निर्वाचन आउन १२ दिनमात्रै बाँकी भएसँगै गठबन्धन मकवानपुरमा चुनावी अभियानमा सक्रियरुपमा लागेको हो ।गठबन्धनमा देखिएको समस्यालाई बिस्तारै साम्य बनाउँदै दैनिकरुपमा चुनाव प्रचारप्रसारदेखि घरदैलो कार्यक्रमलाई गठबन्धनले प्राथमिकतामा राखेको छ । मकवानपुरको विभिन्न स्थानीय तहमा गठबन्धनविरुद्वको उम्मेदवारीलाई फिर्ता गराएसँगै चुनावी प्रचारप्रसार कार्यक्रमले प्राथमिकता पाएको हो ।

पाँच दलीय गठबन्धनमा रहेको जसपाले समेत हेटौंडा उपमहानगरपालिकामा दिएको उम्मेदवारी फिर्ता लिदै गठबन्धनलाई समर्थन गरिसकेको छ । मित्रवत् प्रतिष्पर्धा गर्ने भन्दै गठबन्धनबाहिर गएर एकलरुपमा उम्मेदवारी दिएको जसपाले उम्मेदवारी फिर्ता लिंदै गठबन्धनमा नै फर्किसकेको छ । बकैया गाउँपालिकामा पनि माओवादीको उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिँदै गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसको उम्मेदवारलाई सघाउने भइसकेका छन् । माओवादीबाट अध्यक्षको उम्मेदबार बनेकी लक्ष्मी माझीले उम्मेदवारी फिर्ता लिँदै कांग्रेसका उम्मेदबार धर्मराज लामिछानेलाई जिताउने प्रतिबद्वता व्यक्त गरेका छन् ।

मनहरी गाउँपालिकामा पनि कांग्रेसबिरुद्व कांग्रेसले नै दिएको उम्मेदवारी फिर्ता भइसकेको छ । नेपाली कांग्रेस (वीपी) पार्टीबाट मनहरी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका शंकर न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिँदै कांग्रेसकै अर्का उम्मेदबारलाई समर्थन गरेका छन् ।कांग्रेस जिल्ला सभापति बुद्ध लामा र प्रवक्ता अर्जुन चौलागाईंले मनहरी नै पुगेर उनको उम्मेदवारी फिर्ताका लागि पहल गरेका थिए । जिल्लाको अन्य स्थानीय तहमा पनि गठबन्धनमा देखिएको समस्याको गाँठोलाई फुकाउन गठबन्धन दलभित्रका नेताहरु सक्रिय बनेका छन् । निर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्न गठबन्धनलाई बलियो बनाउन आवश्यक भएको भन्दै दलका नेताहरु समस्या समाधान गर्न सक्रिय बनेका हुन् । समस्या समाधान हुँदै गएसँगै गठबन्धनबाट उम्मेदवार बनेकाहरुले दैनिकरुपमा घरदैलो कार्यक्रम गर्न थालेका छन् ।

सत्तारुढ गठबन्धनबाट हेटौंडाका उपमेयरका उम्मेदवार राजेश बानियाँले गठबन्धनप्रति जनताले देखाएको विश्वास नै चुनाव जित्ने आधार भएको बताएका छन् । शनिबार हेटौंडामा आयोजित स्थानीय तह निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले गठबन्धनप्रतिको विश्वास र जनलहरबाटै आफूहरु जितको नजिक पुगेका दाबी गरेका हुन् । उनले प्रत्येक वडामा गठबन्धन एक भएर निर्वाचनमा होमिएका कारण सकारात्मक नतिजा आउनेमा आफूहरु ढुक्क रहेको बताए ।

‘हेटौंडामा अब एमाले किल्ला ढल्दैछ । विपक्षी आत्तिसकेका छन् । हामी समाजसेवा गर्न राजनीतिमा आएका हौं । अरुले जस्तो राजनीतिलाई पेशा बनाउन आएका होइनौं’, उनले भने । उनले सत्तारुढ गठबन्धनको मर्मअनुसार मतदान गर्नसमेत कार्यकर्तालाई आग्रह गरेका छन् । चुनावी कार्यक्रमलाई तीव्रता दिएको सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिका–२ मा प्रतिवद्वतापत्र सार्वजनिक गरेको छ ।स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट हेटौंडा–२ को उम्मेदवार बनेकाहरुले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतिवद्वतापत्र सार्वजनिक गरेका हुन् । गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार बनेका विष्णुगोपाल महर्जनले हेटौंडा–२ को अव्यवस्थित भएको ढल व्यवस्थित गर्ने बताएका छन् । उनले वडाअन्तर्गत्का सडकहरुको सडक अधिकार क्षेत्रभित्रका जग्गाहरुको लगत कट्टा गरी हाल साविक गरिने बताए ।

महर्जनले हेटौंडा–५ र २ को सिमाना खोल्सीमा तटवन्धन र पैदलमार्ग निर्माण गर्न बहुवर्षीय योजना तयार गरी सुरुवात गरिने जानकारी दिए । ‘खेलाडी उत्पादनका लागि तालिम तथा खेलकुद आयोजना गरिनेछ । साथै उपयुक्त स्थान भेटिएमा खुला व्यायामशाला निर्माण गरिनेछ’, महर्जनले भने । उनले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरी बृद्धबृद्धाहरुलाई विभिन्न क्रियाकलापमा संलग्न गराइने बताए । उनले आवासीय किरियापुत्री घरनिर्माण सुरुवात गर्ने बताए ।

प्रतिबद्धता पत्रमा नेपाल संविधानले सुरक्षित गरेको शिक्षाको अधिकारबाट हाम्रो वडाको कुनैपनि बालवालिका बञ्चित नहोस् भन्नाका लागि राज्यले निःशुल्क भन्दाभन्दै पनि तिनुपर्ने शुल्कहरु गरिब तथा अति विपन्न वर्गका विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने उल्लेख छ ।घोषणपत्रमा हेटौंडा नगरको परिकल्पनाकार बासुदेव रिजालको संगमचोकस्थित प्रतिमा उचित व्यवस्थापन र संरक्षण नभएको हुँदा व्यवस्थित तथा उचित संरक्षण गरिने उल्लेख छ । गठबन्धनबाट हेटौंडा–२ सदस्यमा ईन्द्रप्रसाद रिजाल, सुरज बर्तौला, तारा ढुड्डाना लामा र मैया परियार उम्मेदबार छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*