गठबन्धन देशकै लुत्तो भएको केपी ओलीको टिप्पणी

साझाकुरा
२०७९ बैशाख १८, आईतवार १८:२३

हेटौंडा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन नेपालको राष्ट्रिय लुत्तो भएको टिप्पणी गरेका छन् ।आइतबार हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धन देशकै लागि लुत्तोको रुपमा रहेको टिप्पणी गरेका हुन् । ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनपछि गठबन्धनलाई लुत्तो फालेको जस्तैगरि फाल्ने दावी समेत गरे । ‘वैशाख ३० गते देशकै लुत्तो बनेको गठबन्धन फाल्ने दिन हो’,उनले भने‘एमाले एक्लैले यो लुत्तोलाई निकालेर फाल्छ । ’

उनले परमादेश सरकारलाई जनादेशबाट हटाउने बताए । पाँचदलीय गठबन्धन मिलेर पनि चुनावमा एमालेलाई हराउन नसक्ने उनको दावी छ । ओलीले एमालेदेखि डराएर नै गठबन्धन बनेको भन्दै पाँच दल मिलेपनि एमालेलाई हराउन नसक्ने बताए । ‘मिलेर पनि पार लाग्दैन । गठबन्धन गरेर पनि पार लाग्दैन । पाँचै जनाले पार लाग्दैन’, उनले भने, ‘देशभरीका प्रतिक्रियावादीहरु, राष्ट्रघातीहरु, भ्रष्टाचारीहरु, जनविरोधीहरु, देशद्रोहीहरु, मोर्चा कसेर आउ, एमाले एक्लै लड्छ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*