प्रदेशका मन्त्रीहरुले नै गरे निर्वाचन आचारसंहिता उल्लङ्घन

साझाकुरा
२०७९ बैशाख २०, मंगलवार १०:२५

हेटौंडा-बागमती प्रदेश सरकारका मन्त्रीहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । गएको चैत २५ गतेदेखि नै निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता लगाइसकेको अवस्थामा प्रदेश सरकारमा रहेका मन्त्रीहरुले धमाधम आचारसंहिताको उल्लङ्घन गरेका हुन् । उनीहरुले कुनै दल तथा व्यक्ति विशेषको लागि मत माग्दै आचारसंहिता उल्लङ्घन गरेका हुन् ।
मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिलाई कुनै उम्मेदवार वा दल विशेषको पक्ष वा विपक्षमा प्रचार–प्रसार गर्न आचारसंहिताले रोक लगाएको छ । तर, प्रदेश सरकारको केहि मन्त्रीहरुले सामाजिक सञ्जालमार्फत् त केहिले सार्वजनिक कार्यक्रममा नै उम्मेदवार र पार्टीको लागि मत माग्ने काम गरेका छन् ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईंले स्थानीय तह निर्वाचनको आचारसंहिता उल्लङ्घन गरेका छन् । मन्त्री हुमागाईंले आफ्नो फेसबुकमा पटक–पटक विभिन्न उम्मेदवारका लागि मत माग्दै निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको हो । मन्त्री हुमागाईंले उम्मेदवारका लागि सार्वजनिक रूपमा सामाजिक सञ्जालमा नै मत मागेका छन् ।
मन्त्री हुमागाईँले पाँच दिनअघि आफ्नो फेसबुकमा काभ्रे जिल्लाका १३ स्थानीय तहका प्रमुख उपप्रमुखलाई अत्यधिक बहुमतले विजयी गराउन आग्रह गरेका छन् । विभिन्न पालिकाको प्रमुख तथा उपप्रमुख चुनावी प्रचारको तस्विरसमेत राख्दै उनले मत मागेका छन् ।

उनले स्थानीय तहको निर्वाचनअघि आफू हेटौंडा नफर्किने समेत बताएका छन् । ‘चुनावअघि म हेटौंडा आउन भ्याउँदिन’, साझाकुरासँग कुरा गर्दै उनले भने, ‘अब एकैपटक जेठको ४÷५ गते आउँछु होला ।’ बागमती प्रदेशको वन तथा वातावरणमन्त्री विशाल खड्काले निर्वाचन आचासंहिता विपरीत दल र उम्मेदवारको लागि मत मागिएको पोष्ट फेसबुकमा शेयर गरेका छन् । खड्काले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको चुनावी गीतदेखि उम्मेदवारको लागि मत मागिएको पोष्ट पनि शेयर गरेका हुन् । आइतबार बागमती प्रदेशको बहालवाला सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समेत निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै चुनावी कार्यक्रममा भाषण गरेकी छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा तीन दलीय गठबन्धनको वडा कमिटीको आयोजनामा भएको चुनावी सभामा उनले आचारसंहिता विपरित भाषण गरेकी हुन् । उनले गठबन्धनको उम्मेदवारलाई विजयी गराउन अपिल गर्दै मुलुकबाट प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्ने बताइन् ।मन्त्री मोक्तान दैनिक रूपमा चुनावी प्रचारप्रसारमा सहभागी हुँदै आएकी छन् । मोक्तान नेकपा माओवादी केन्द्रका उम्मेदवारहरूलाई मत माग्न, सम्पर्क कार्यालय उद्घाटन गर्न सक्रिय भएकी छन् । केही दिन अघि मन्त्री मोक्तान आचारसंहिताको बेवास्ता गर्दै पश्चिम मकवानपुरको मनहरिका विभिन्न वडामा उम्मेदवारहरूसँगै प्रचारमा हिँडेकी थिइन् । निर्वाचन आयोगले आचारसंहिता पूर्ण कार्यान्वयन गराउने दाबी गरिरहेको भए पनि मकवानपुरमा आचारसंहिता उल्लङ्घनका घटना दिन प्रतिदिन बढिरहेका छन् ।

दैनिकरुपमा विभिन्न पार्टीले गर्ने घरदैलो कार्यक्रमदेखि आभसभामा समेत सरकारी कर्मचारीले समेत सहभागीता जनाउँदै आएका छन् । निजामती कर्मचारी, शिक्षक, सार्वजनिक संस्थानका कर्मचारी र स्थानीय तहका कर्मचारीहरुले पनि आचारसंहितालाई बेवास्ता गरेका हुन् । कर्मचारीहरु विभिन्न पार्टीको चुनावी प्रचारप्रसारमा देखिएका छन् ।तर, यस विषयमा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालयले कुनै चासो नदेखाएको सर्बसाधरणको गुनासो छ । सरकारी कर्मचारी, शिक्षकको हकमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ । स्थानीय तह निर्वाचन निर्देशिका २०७८ मा निर्वाचन कार्यालयले आचारसंहिता उल्लङ्घन भए नभएको अनुगमन गरी उल्लंघन भएको पाइए तुरुन्त रोक लगाउनु पर्ने व्यवस्था गरिएको छ । हेटौंडाको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मन्त्रीहरूले कुनै पनि दल वा उम्मेदवारको लागि मत माग्न नहुने बताए ।

उनले मन्त्री भनेकै राज्य भएकोले राज्यले मतदातालाई प्रभावित पार्नेगरी कसैको पक्षमा मत माग्न नहुने बताए । सरकारी कर्मचारीहरुले पनि आफैं संयमित भएर आचारसंहिता पालना गर्नुपर्ने उनको भनाइ छ ।श्रेष्ठले यस विषयमा बुझेर आवश्यक कदम चाल्ने प्रतिक्रिया दिए । उसो त, प्रदेशका मन्त्रीहरु स्थानीय तहको निर्वाचनमा बढि केन्द्रित हुँदा प्रदेशको राजधानी हेटौंडामा भेटिन समेत मुस्किल पर्न थालेको छ । राज्यमन्त्रीसहित १८ जना मन्त्री रहेको बागमती प्रदेशको राजधानी हेटौंडामा मन्त्री भेट्नै मुस्किल भएको हो । प्रदेश सरकारका मन्त्रीहरू स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन आ–आफ्नो गृहजिल्ला पुगेका छन् । आफ्नो दलका उम्मेदवारलाई जिताउन मन्त्रीहरू सक्रिय बन्दा मन्त्रालय भने निष्क्रिय बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*