कांग्रेस समस्याको निकास र जनताको विकासको पार्टी : बानियाँ

साझाकुरा
२०७९ बैशाख २२, बिहीबार १३:५५

हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस समस्याको निकास र जनताको विकासको पार्टी भएको दाबी गरेका छन् ।बुधबार मनहरी गाउँपालिका ५ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता बानियाँले मनहरी ५ स्थित फायरलाइनको बाटो स्तरीकरण गरी चक्रपथ बनाउने, ५ नम्बर वडा जान पक्कीपुल बनाउन बजेट छुट्याउने, गाउँ जोगाउन तटबन्धन गर्ने लगायतको प्रतिबद्धता पनि जनाएका छन् ।

उनले हावा र उडन्ते कुरा गर्ने पार्टीका नेताले जितेर मुलुकको विकास नहुने बताए । एमालेप्रति लक्षित गर्दै उनले भने ‘समयअनुसार बोली फेर्ने । सधैं उडन्ते कुरा गर्ने पार्टीका नेतालाई भोट दिएर फेरि ५ वर्ष पछुताउने काम नगर्नुहोला ।’ कांग्रेसका कार्यकर्ताले कम्युनिस्टले जस्तो राजनीतिलाई पेसा नबनाउने उनले बताए । ५ नम्बर वडामा कांग्रेसका उम्मेदवारले जिते विपन्न परिवारलाई एम्बुलेन्स सेवा निःशुल्क गर्ने, विपन्न सुत्केरी महिलालाई ३ महिनासम्म पोषण खानाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेस ५ नम्बर वडा सभापति विष्णुप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रञ्जन कालाखेतीले गठबन्धनको दुबै उम्मेदवारलाई मतदान गर्न अनुरोध गर्दै जनताको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।कार्यक्रममा कांग्रेसका निवर्तमान जिल्ला सभापति नवराज उप्रेती, गाउँपालिका सभापति प्रकाश बर्तौला, बागमती प्रदेश सदस्य जानुकी लामा, वडा अध्यक्षका उम्मेदवार योगेन्द्र अर्याललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*