राप्रपा जोगाउने मधुले नै छोडे पार्टी

साझाकुरा
२०७९ बैशाख २४, शनिबार १३:३६

हेटौंडा-राप्रपा मकवानपुरका पुराना नेता मुध अधिकारीले निर्वाचनको संघारमा आएर (राष्ट्रिय प्रजातन्त्र पार्टी) राप्रपा परित्याग गरेका छन् ।राप्रपाको स्थापना कालदेखि ३२ वर्ष राजनीति गरेका अधिकारीले पार्टीमा अपमानित, अपहेलित भएर बस्न नसकिने भन्दै पार्टी छाडेका हुन् । अधिकारी कमल थापाले राप्रपा अध्यक्षमा पराजित भएपछि नयाँ पार्टी गठन गर्दा मकवानपुरमा राप्रपालाई जोगाउने नेताका रुपमा परिचित छन् ।

थापाको गृह जिल्लामा अधिकारीले राप्रपालाई जोगाइराख्न खेलेको भूमिकाको अहिले पनि चर्चा हुने गरेको छ । तर, उनै अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी छोडेको घोषणा गरेका हुन् । उनले आसन्न निर्वाचनमा हेटौंडाको मेयरमा दाबी गरेका थिए ।अधिकारीलाई राप्रपाको केन्द्रीय नेतृत्वले नै मेयरमा उम्मेदवारी दिन सिफारिस गरेको उनले बताएका थिए । तर, उनीभन्दा अगाडि
राप्रपाबाट दीपकबहादुर सिंहले मेयरपदमा उम्मेदवारी दिएका थिए । पार्टीले सिंहलाई पनि उम्मेदवारी दर्ता गर्न सिफारिस पत्र दिएको थियो ।

पार्टीले दोहोरो चरित्र देखाएको भन्दै अधिकारी रुष्ट थिए । राप्रपाको पूर्वकेन्द्रीय सदस्य, केन्द्रीय कार्य सम्पादन समिति सदस्य, पार्टी बागमती प्रदेशको उपाध्यक्षको भूमिकामा रहेका नेता अधिकारीले पार्टी मकवानपुर जिल्ला सभापतिको भूमिका निर्वाह गरेका थिए । निर्वाचित वडा अध्यक्षदेखि शाही कालमा हेटौंडा नगरपालिकाको मेयर भई आफ्नो दायित्व निर्वाह गरेका अधिकारी पछिल्लो समय
राप्रपालाई एकताबद्घ बनाउने अभियानमा समेत सक्रिय थिए ।

अधिकारीले राप्रपालाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित गर्न तल्लो तहमा नै बसेर अनवरत रुपमा रगत पसिना बगाइरहेको, सकेको बल, बुद्धि, श्रम, सीप लगाउँदै आफ्नो क्षमताअनुसार सकेको आर्थिक लगानी पनि गरेको, सिद्धान्तलाई केन्द्रमा राखेर अघि बढेको तरपनि पार्टीमा मूल्याङ्कन नभएको जिकिर गर्दै पार्टी परित्याग गरेका हुन् ।अधिकारी गत निर्वाचनमा पनि राप्रपाबाट मेयरका उम्मेदवार थिए । उनले करिब साढे ६ हजार मत ल्याएका थिए । ‘कठिन, असहज र चुनौतीपूर्ण अवस्थामा पनि पार्टीलाई स्थापित गर्न लागिपरेको थिएँ । यो बीचमा पार्टी शून्य अवस्थामा पुग्यो । पार्टीलाई सकेको योगदान दिने कुरामा जहिल्यै अग्रसर भइरहेँ’, अधिकारीले भने ।

उनले आफ्नो राजनीतिक जीवनभर निष्ठाको राजनीति गरेर कुनै लाभको पदमा बसेर फाइदा नलिएको बताएका छन् ।पार्टीमा ‘काम गर्ने कालू, मकै खाने भालुु’ प्रवृत्ति मौलाएको भन्दै उनले आपत्ति जनाए । ‘कुनै कार्यकर्ताको मेहनत र लगनको मूल्याड्ढन त परै जाओस्, उल्टै हुर्मत लिने र तेजोबध गर्ने काममा नेतृत्व तह हतियारका रुपमा प्रयोग भयो ।कसले दुःख गरेको छ, कसले मेहनत गरेको छ, हेक्का राख्न नसक्ने लाचार, निरीह नेतृत्वसँग बसेर एउटा स्वाभिमानी व्यक्तिले कसरी काम गर्न सक्छ ?’, अधिकारीले विज्ञप्तिमा प्रश्न गरेका छन् । उनले राप्रपाबाट अलग भई स्वतन्त्ररुपमै बिताउने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*