‘मकवानपुरगढीमा एमालेसँग गठबन्धन अत्तालियो’

साझाकुरा
२०७९ बैशाख २४, शनिबार १३:४०

हेटौंडा- आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बिदुर हुमागाईंले गठबन्धनका पाँच दल एमालेसँग अत्तालिएको बताएका छन् । एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हुमागाईंले शुक्रबार ६ नम्बर वडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै पाँच दल एक तिर एमाले एक तिर हुँदापनि गठबन्धन अत्तालिएको बताएका हुन् । ‘जनताबीचको गठबन्धन छैन, पार्टी–पार्टीबीचको मात्रै गठबन्धन हो’, उनले भने । जनताले गठबन्धन नरुचाएको उनको दाबी छ ।

मकवानपुरगढीमा एमालेले जित्ने आधारबारे बाहिर भनिरहनु नपर्ने भन्दै जित सुनिश्चित रहेको उनको ठोकुवा छ । कांग्रेसले त्रसित भएर बितण्डा मच्चाएको उनले आरोप लगाए । केही दिनअघि कांग्रेसका कार्यकर्ताहरुले एमालेमाथि भौतिक आक्रमण गर्न खोज्नु राजनीतिक संस्कारभित्र नरहेको हुमागाईंले बताए । कांग्रेसका गाउँ सभापतिले समेत कमजोरी महशुस गरेकोले एमाले अनुशासित पार्टी
रहेको प्रमाण दिएको उनको भनाइ छ । एमाले संयमित भएर अनुशासित भएर अघि बढ्ने उनको भनाइ छ ।

एमालेलाई जिस्काउने र आक्रमण गर्ने कल्पनासमेत नगर्न उनले सुझाव दिए । एमालेको शक्तिलाई कसैले नदेखेको भन्दै एमाले चुनाव जित्ने पार्टी भएकाले अनुशासित भएर अघि बढ्नुपर्नेमा हुमागाईंको जोड छ । उनले २०७४ सालमा निर्वाचन जितेर पाँच वर्ष काम गर्दा प्रतिबद्धता पत्रमा उल्लेख गरिएका ८० प्रतिशत विषयको सम्बोधन भएको बताए । २०७९ सालको प्रतिबद्धता पत्रमा उल्लेख भएका कुरालाई पूर्ण रुपमा लागू गरेर जनताको पक्षमा काम गर्ने बताए । प्रतिबद्धता पत्र पढ्दा एमाले स्पष्ट दृष्टिकोण भएको पार्टी र समृद्धि खोज्ने पार्टी रहेछ भनेर बुझ्न सकिने उनले जानकारी दिएका छन् । कृषि, स्तरोन्नती, उद्योग र उद्यम, सामाजिक विकासका क्षेत्रमा भएका कामलाई निरन्तरता दिने उनले बताए ।

डुम्रेकुनाको अस्पतालमा वृद्धवृद्धा र असक्तलाई निःशुल्क उपचार दिइने एमालेको योजना हुमागाईंले बताए । एमालेको योजनालाई लागू गरेर गाउँलाई समृद्ध बनाउन र योजनालाई पूर्णता दिन एमालेलाई जिताउनुको विकल्प नभएको उनको जिकिर छ ।हुमागाईले मकवानपुरगढीका जनताको समस्या लालपूर्जा भएको बताए । गाउँपालिकाभित्रका भूमिहीन, अव्यवस्थित बसोबास गर्दै आएकालाई लालपूर्जा दिन नापजाँचको काम गाउँपालिकाले  गरिसकेको भन्दै स्थानीय सरकारको ऐनमा टेकेर अस्थायी लालपूर्जा भएपनि दिने प्रतिबद्धता व्यक्त गरे ।

केन्द्रमा एमालेको सरकार नआई लालपूर्जा वितरण गर्न सक्ने कुरा कल्पना पनि गर्न नसकिने भन्दै ६ महिनापछि एमाले सरकारमा आउने र लालपूर्जा वितरण गर्ने योजना अघि बढाउने हुमागाईंले जानकारी दिए । ‘गाउँपालिकाले प्राविधिक राखेर नापजाँच गरेर भएपनि अस्थायी लालपूर्जा दिन्छ । स्थानीय सरकारलाई अस्थायी लालपूर्जा वितरण गर्न ऐनले पनि अधिकार दिएको छ’, हुमागाईंले भने ।
एमाले मकवानपुरका निवर्तमान अध्यक्ष बद्री लम्सालले पाँच दलीय गठबन्धन एमालेसँग डराएको बताएका छन् । चुनावी सभामा बोल्दै उनले एमालेको जित निश्चित भएको देखिएपछि गठबन्धनले अनेक हतकण्डा अपनाउन थालेको बताएका छन् ।

गठबन्धन राजनीतिक प्रतिस्पर्धा गर्न छोडेर अन्य गतिविधिमा अगाडि बढेको लम्सालले बताए । ‘के एमाले र बिदुर हुमागाईंले डुम्रेकुनामा अस्पताल बनाउनु अपराध हो ?, पक्की पुल बनाउनु एमाले र हुमागाईंको गलत काम हो ?,’ लम्सालले भने । गठबन्धनलाई राजनीतिक संस्कारअनुसार अगाडि बढ्न आग्रह गरे ।घर अगाडि स्ल्याब ढलान गरिरहँदा एमालेले पराजय भोग्नु पर्ने आधार के हो ? भन्दै उनले प्रश्न गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*