हेटौंडाको विकास गर्न राप्रपाले जित्नुपर्छ: लिङदेन

साझाकुरा
२०७९ बैशाख २६, सोमबार १४:१५

हेटौंडा-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई जिताए भ्रष्टचार नभई हेटौंडाको विकास हुने बताएका छन् । आइतबार हेटौंडामा भएको आमसभालाई सम्बोधन गर्दै उनले राप्रपाले जिते हेटौंडालाई भ्रष्टचारमुक्त बनाउदै विकास गर्ने बताएका हुन् । भ्रष्ट्राचार नगरी, कमिसन नखाई कसरी स्थानीय तहको विकास हुन्छ भनेर हेर्नको लागि भएपनि एक पटक राप्रपालाई विजयी गराउन उनले अनुरोध गरे ।

‘तपाईहरुले योपटक हेटौँडामा राप्रपालाई जिताउनुभयो भने भ्रष्ट्राचार नगरिकन, कमिसन नखाईकन हेटौँडाको विकास भएको देख्नुहुनेछ । यो हाम्रो प्रतिवद्धता भयो । राप्रपाले जितेको स्थानीय तह कस्तो हुँदो रैछ भनेर हेर्न देशभरका मानिसहरु हेटौँडा आउने बनाउछौ’, उनले भने । उनले देशमा कम्युनिष्ट र कांग्रेसले भ्रष्ट्राचारलाई प्रोत्साहन गरेको भन्दै राप्रपाले भ्रष्टचार उन्मुलनको उदेश्य बोकेको जिकिर गरे।
‘हामीलाई थाहा छ, एमाले, कांग्रेस र माओवादीले प्रोत्साहन गरेको भ्रष्टचार उन्मुलन सहज छैन, तर एकदिन राप्रपाले यो काम अवश्य गर्नेछ, म पूरै विश्वस्त छु’, उनले भने । लिङ्देनले नेतालाई सुधार्न चुनावमा मतदानको बाकस खाली गर्नुपर्ने बताए । उनले कार्यकर्ताहरूलाई आफ्नो पार्टीका नेताहरु सुध्रिए हुन्थ्यो भन्ने लागेको भए चुनावमा बाकस खाली गर्नुपर्ने बताएका हुन् ।

‘तपाइहरुलाई आफ्नो पार्टीको नेता सुध्रिए हुन्थ्यो भन्ने लागेको भए यो एउटा मात्रै विकल्प हो । चुनाव उनीहरुको बाकसलाई खाली पारिदिनूस्’, उनले भने । लिङ्देनले नेपालको नेताहरु लरतरो हिसाबले नसुध्रिने भन्दै तीन तहको निर्वाचनलाई देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने जिकिर गरे । उनले कांग्रेस, एमाले र माओवादी पार्टीमा देशलाई माया गर्ने नेता भए राप्रपालाई मतदान गर्नसमेत आग्रह गरे ।

नेता लिङ्देनले एमालेले जनताले दिएको मतको सम्मान गर्न नसकेको टिप्पणीसमेत गरे । उनले पाँच वर्षको लागि बहुमत पाएको एमालेले धेरै खाने र थोरै खानेबीचको लडाइँले देशलाई अस्थीरतातर्फ धकेलेको बताए । उनले नेपालमा भ्रष्टचारलाई सस्ंथागत नै बनाएको भन्दै राप्रपाले भ्रष्टचारको अन्त्य गर्ने दोहो¥याए । अहिलेको लागि बलियो विकल्पको रुपमा राप्रपा आएको उनको भनाइ थियो । देशलाई दुर्घटनाबाट जोगाउनका लागि भ्रष्ट्राचार हटाउनुपर्ने उनले जिकिर गरे ।

त्यस्तैगरी राप्रपाका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङले हेटौंडा उपमहानगरपालिकामा नेता र निर्वाचित जनप्रतिनिधिहरुले डोजर र जग्गा पल्टिङको मात्र विकास गरेको टिप्पणी गरेका छन् । आमसभालाई सम्बोधन गर्दै उनले आफूले हेटौंडामा स्वास्थ्यको समस्या धेरै समय अघिबाट देखेको तर, यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले उक्त समस्यालाई समाधान गर्न पहल समेत गर्न नसकेको आरोप लगाए । उनले आफूलाई हेटौंडाको अस्पतालमा एमआरआई र सिटिस्क्यानसमेत नहुने जानकारी पाएको भन्दै राप्रपा विजयी भए स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने बताए । उनले बागमती प्रदेशको राजधानी भएर पनि हेटौंडाको जनप्रतिनिधिहरुले अस्पतालको विकास गर्नुको साटो आफ्नै लागि डोजर र पल्टिङको विकास गर्न गरेको उनको आरोप थियो ।

उनले हेटौंडाको मेयरको लागि उम्मेद्वार दीपकबहादुर सिंह उठाएको भन्दै सिंहको सक्षम टिमलाई जिताउन अनुरोध गरे । उनले राप्रपाको उम्मेद्वार भ्रष्ट्राचार र मूल्यवृद्धिबिरुद्ध रहेको भन्दै आफ्ना उम्मेद्वारहरुलाई विजयी बनाउन आग्रह गरे । यस्तैगरी राप्रपाबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार सिंहले आफू हेटौंडाको मेयरमा निर्वाचित भए हेटौंडालाई भ्रष्ट्राचारमुक्त बनाउने बताएका
छन् ।

उनले हेटौंडामा एमालेले भ्रष्टचार गर्दै आफ्नो मान्छेलाई मात्रै पोसिरहेको भन्दै उनले आफूले जिते हेटौंडा उपमहानगरलाई भ्रष्ट्राचारमुक्त बनाउने बताएका हुन् ।उनले हेटौंडाको स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको र हेटौंडा अस्पताल रिफर सेन्टरको रुपमा रहेको भन्दै आफू मेयरमा बिजयी भए विशेषज्ञ सेवासहितको सुविधायुक्त अस्पताल निर्माण गर्ने पनि बताए । उनले हेटौंडालाई सुन्दर, सभ्य, सफा तथा विकासको दृष्टिकोणले देशकै नमूना सहर बनाउन आफूसंग योजना रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*