एमालेको ‘लालकिल्ला’ भत्काउदै गठबन्धनले रच्ला ईतिहास ?

साझाकुरा
२०७९ बैशाख २७, मंगलवार १५:२९

हेटौंडा- स्थानीय तहको निर्वाचन आउन दुई दिनमात्रै बाँकी छ । निर्वाचनको मिति नजिकिरहँदा बागमती प्रदेशको एकमात्र उपमहानगर हेटौंडा उपमहानगरपालिकामा कसले बाजी मार्ला ? भन्ने विषय सबैको चासोमा परेको छ ।निर्वाचनको मिति नजिकिरहँदा हेटौंडा उपमहानगरपालिकामा उम्मेदबार बनेकाहरूको दौडधुप बढेको छ । आज मध्यरातिबाट मौन अवधि सुरु हुने भएकोले मत परिणाम आफ्नो पक्षमा पार्न उम्मेदबारले हरसम्भव प्रयास गरिरहेका छन् । हेटौंडा उपमहानगरपालिकाका प्रमुखमा १९ जनाको उम्मेदबारी कायम रहे पनि मुख्य प्रतिस्पर्धा भने नेकपा एमाले र सत्तारुढ गठबन्धनबीच हुने देखिन्छ ।

हेटौंडामा लामो समयदेखि बलियो उपस्थिति देखाउँदै आएको एमालेलाई यसपटकको निर्वाचनमा भने मत परिणाम आफ्नो पक्षमा पार्न सत्तारुढ गठबन्धनको सामना गर्नुपर्ने भएको छ । २०४९ यता भएका तीनवटै स्थानीय निर्वाचनमा हेटौंडामा जित्दै आएको एमालेले यसपटक आफैंबाट विभाजित एकीकृत समाजवादीको नेतृत्वमा कांग्रेस र माओवादी केन्द्र रहेको गठबन्धनसँग प्रतिष्पर्धा गर्दैछ ।कुनै पनि हालतमा आफ्नो विरासत जोगाउने दाउमा एमाले छ भने एमालेलाई हराउँदै नयाँ इतिहास रच्ने दाउमा पाँचदलीय सत्ता गठबन्धन छ । २०४९ र २०५४ मा हेटौंडा नगरपालिकामा एमालेका डोरमणि पौडेल मेयरमा र उपमेयरमा एमालेबाटै हरिबहादुर महत विजयी भएका थिए ।

२०७४ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । तर पनि परिणाम एमालेकै पक्षमा गयो । ०७४ को निर्वाचनमा कांग्रेस–माओवादीका उम्मेदवारलाई पराजित गर्दै एमालेका हरिबहादुर महत मेयर र मीनाकुमारी लामा (हाल एकीकृत समाजवादी) उपमेयरमा बिजयी भएका थिए । त्यतिवेला एमालेलाई बिजयी हुन बदर मतले सहयोग गरेको थियो । गएको स्थानीय निर्वाचनमा एमालेका महत ६१५ मतान्तरले मेयरमा बिजयी भएका थिए । निर्वाचनमा मेयरमा सात हजार ५०२ मत बदर भएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार बदर मतमध्ये करिब ९० प्रतिशत माओवादी केन्द्रको चुनाव चिन्हमा स्वस्तिक छाप हानिएको थियो । यसले गर्दा माओवादीको समर्थनमा मेयर उम्मेदवार रहेका कांग्रेसका आनन्दराम पराजुली पराजित भएका थिए ।

त्यसैले पनि अघिल्लो निर्वाचनलाई हेर्दा मत बदर नभएको खण्डमा परिणाम गठबन्धनको पक्षमा जाने देखिन्थ्यो । थोरै मतले जितेको एमालेलाई धेरै बदर मतले सहयोग गरेको यहि तथ्याड्ढले स्पष्ट देखाउँछ । अहिलेको स्थानीय तहको निर्वाचनमा अघिल्लो निर्वाचनमा एमालेबाट उपमेयरमा निर्वाचित भएकी मीना लामा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बन्दै चुनावी प्रतिष्पर्धामा छिन् ।
एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीमा रहेकी उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी हुन् । एमालेले यसपटक २०७० सालमा संविधानसभा सदस्य निर्वाचित अनन्त पौडेललाई मेयरमा उठाएको छ । योपटक एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपालको पनि समर्थन पाएको भएपनि हेटौंडामा राप्रपा नेपालको प्रभाव भने खासै देखिएको छैन ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले मेयर–उपमेयरसहित सबै वडामा उम्मेदवार प्रतिस्पर्धामा उतार्दा थापाले आफ्नै गृहनगरमा पनि पार्टीका तर्फबाट एकजना पनि उम्मेदवार खडा गर्न सकेका छैनन् । राप्रपाबाट दीपकबहादुर सिंह मेयरको रूपमा मैदानमा छन् ।समान राजनीतिक विचारधारा बोकेको राप्रपाले प्रतिस्पर्धा गरिरहँदा राप्रपा नेपालका मतदाता राप्रपालाई छान्ने कि एमालेलाई छान्ने भन्ने दोधारमा छन् । त्यसैले हेटौंडामा राप्रपाको राजनीतिक समर्थन भए पनि व्यावहारिकरूपमा एमालेले विगतमा झैं एक्लै लड्नुपर्ने अवस्था सिर्जना भएको देखिन्छ । एमालेका लागि चुनौतीको बिन्दु नै यहि ह। अहिले गठबन्धनको आकार बढेको छ । कांग्रेसबाट उपमेयरमा राजेश बानियाँ मैदानमा छन् । उनको प्रभाव युवामाझ अत्यधिक रहेको छ ।

गठबन्धनमा माओवादी केन्द्रका साथै एमालेबाट विभाजित भएको एकीकृत समाजवादीको मत पनि जोडिएको छ । अघिल्लो चुनावमा गठबन्धन भए पनि मतदाता शिक्षा राम्ररी दिन नसक्दा धेरै मत बदर भएर क्षति व्यहोर्नुपरेकाले अहिले सत्तारुढ गठबन्धनले सो अवस्था दोहोरिन नदिन घरदैलो कार्य तीव्र रुपमा गरेको छ ।मकवानपुरमा एमाले विभाजनपछि एकीकृत समाजवादीतर्फ गएको जनमत स्पष्ट नभए पनि प्रभावशाली नेताहरू भने एकीकृत समाजवादीतर्फ लागेका छन् । एमालेमा हुँदा केन्द्रीय भूमिकामा रहेका विरोध खतिवडा, केदार न्यौपाने र मजदुर नेता ललित बस्नेत पनि एकीकृत समाजवादीमा छन।
गठबन्धनबाट साझा उम्मेदवार बनेकी लामाको सबलताले पनि एमालेको विरासतलाई टक्कर दिइरहेको देखिन्छ । उपमहानगरमा रहेको जनजाति मतले पनि गठबन्धनलाई उत्साहित बनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार हेटौंडा उपमहानगरमा एक लाख चार हजार ४७३ मतदाता छन् । तीमध्ये करिब ३१ प्रतिशत मतदाता जनजाति (तामाङ) समुदायका रहेको जनाइएको छ । त्यस्तैगरी बाहुन २६ र क्षेत्री १३ प्रतिशत छन् । तामाङ (लामा) समुदायकी गठबन्धनकी साझा उम्मेदवार लामाले जातीय मत पनि बढि पाउने अपेक्षा गरेकी छन् ।

सत्तारुढ गठबन्धनको मत एकढिक्का भएर खसेको खण्डमा एमालेको लालकिल्ला नभत्किएला भन्न सकिँदैन । पछिल्लो समय हेटौंडामा कांग्रेसप्रति आकर्षण पनि बढ्दो अवस्थामा छ ।
एमालेबाट पुरानै अनुहार चुनावमा फर्कीफर्की आउँदा जनता र कार्यकर्तामा निराशा छाएको पनि देखिन्छ । समग्रमा गठबन्धन बलियो देखिए पनि बदर मत बढेको खण्डमा फेरि अघिलो निर्वाचनको परिणाम आउन सक्ने पनि देखिन्छ । सत्तारुढ गठबन्धनमा रहेको सबै दल एकढिक्का भएको अवस्थामा भने हेटौंडामा एमालेको ‘लालकिल्ला’ भत्काएर नयाँ इतिहास रच्न सक्ने सम्भावना पनि देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*