हेटौंडामा विरासत जोगाउन एमालेलाई कति सम्भव ?

साझाकुरा
२०७९ जेष्ठ ४, बुधबार ११:४५

हेटौंडा- हेटौंडामा मतगणना जारी छ । नतिजा पनि अनपेक्षित आइरहेको छ । जसकारण बहुदलपछि निरन्तर राज गर्दै आएको एमालेलाई झस्कापनि दिइरहेको छ ।०४६ सालपछि निरन्तर जित्दै आएको एमालेलाई २०७८ मा आएर धक्का लाग्ने सम्भावना बढेको छ । हालसम्मको मतगणना अनुसार हेटौंडामा एमाले तेस्रो स्थानमा छ । सानो संगठन भएको राप्रपासमेत एमाले भन्दा अगाडि छ । राप्रपा भन्दापनि अगाडि गठबन्धनका उम्मेदवार छन् ।

समाचार तयार पार्दासम्म गठबन्धनबाट हेटौंडाको मेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मिनाकुमारी लामा अग्रभागमा छिन् । लामालाई पछ्याउँदै आइरहेका छन्, राप्रपाका मेयर उम्मेदवार दिपक सिंह । उनै सिंहले हेटौंडामा अनपेक्षित मत ल्याइरहेका छन् । जसका कारण हेटौंडामा तरंग नै ल्याएको छ ।सिंहको पछाडि मात्रै एमालेका मेयर उम्मेदवार अनन्त पौडेल छन् । यहाँ २०४६ मा बहुदल आएपछि एमाले बाहेक अन्य पार्टीले निर्वाचन जित्न सकेको छैन् । ०४९ र ०५४ मा भएको निर्वाचनमा एमाले विजयी बन्यो ।२० वर्षपछि २०७४ मा भएको निर्वाचनमा पनि एमालेका मेयर र उपमेयर नै निर्वाचित भए । हाल पौडेल तेस्रो स्थानमा छन् भने उपमेयर उम्मेदवार सुमित्रा काफ्ले ठूलो मतान्तरसहित दोस्रो स्थानमा छिन् । काफ्ले अघि गठबन्धनबा उपमेयर उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँ छन् ।

मेयर उम्मेदवार लामा २८ हजार ३ सय ५६ मत गन्दा करिब ९ हजार मतसहित अगाडि छिन् । १, २, १८ र १९ नम्बर वडाको मतगणना सम्पन्न भएर ३,४, ५, ६, १४, १५, १६ र १७ नम्बर वडा मतगणना जारी रहँदा लामा ८ हजार ९ सय १५ मतसहित सबैभन्दा अगाडि रहेकी हुन् ।उनलाई राप्रपाका दिपक सिंहले ८ हजार ७ सय ९० मत ल्याएर पछ्याइरहेका छन् । एमालेका पौडेलले समाचार तयार पर्दासम्म ७ हजार ६ सय २ मत ल्याएका थिए ।

राप्रपाकी उपमेयर उम्मेदवार इन्दिरा न्यौपाने २ हजार १ सय २१ मतसहित तेस्रो स्थानमा रहेकी छन् । एमालेभित्र मेयर र उपमेयरलाई अपेक्षा गरेअनुसार मत नआएपछि अन्तर्घातको बहस सुरु भएको छ । तर, कतिपयले पार्टी विभाजन र गठबन्धनको असर भनिरहेका छन् । जिल्लाकै १० स्थानीय तहमध्ये सबैभन्दा बलियो संगठन भएको हेटौंडामा तेस्रो स्थानमा खुम्चिनु परेपछि एमालेमा सन्नाटा छाएको हो हेटौंडामा मात्र नभई, मकवानपुरकै कम्युनिष्टको गढ हो । गत निर्वाचनमा बहुमत पालिका एमालेले जितेको थियो । तर, जिल्लामा एमालेले पुरानो बिरासत जोगाउन सकेको छैन् । गत निर्वाचनमा एमालेले जितेको मकवानपुरगढी, मनहरी र कैलाश गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भइसकेका छन् ।

हेटौंडाको अधिकांश वडाको मतगणना जारी छ । तर, एमालेका मेयर र उपमेयरले जित्ने झिनो सम्भावना छ । गत निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन उम्मेदवारलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका थिए । तर, यसवर्ष सोही अनुपातमा मत किन पाएन ? यो एमालेभित्रै समिक्षा होला । तर, राप्रपाका उम्मेदवार दिपक सिंहको योजनलाई नगरबासीले मन पराउनु र पार्टी विभाजनको असर प्रमुख कारण हुन् । सिंहले गठबन्धनको मत काट्ने एमालेको आंकलन ठिक विपरित भइदिएपछि नतिजा खस्किएको बताइन्छ । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पार्टी विभाजनको असर नभई गठबन्धन दलको असरका कारण तेस्रो स्थानमा पुगेको दावी गर्छन् । एमाले अध्यक्ष श्रेष्ठले बाँकी वडामा मतगणना हुँदै गरेकाले सम्भावना अझै रहेको बताए ।

हेटौंडाको ३,४, ५, ६, १४, १५, १६ र १७ नम्बर वडा मतगणना जारी छ । ७, ८, ९, १०, ११, १२, १३ नम्बर वडाको मतगणना हुन बाँकी रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । १, २, १८ र १९ नम्बर वडाको मतगणना गरेर सक्किएको छ । जसमध्ये १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने, २ नम्बर वडामा कांग्रेसका विष्णुगोपाल महर्जन, १८ नम्बर वडामा एमालेका अनिल बानियाँ र १९ नम्बर वडामा एमालेकै नरनाथ सुवेदी विजयी भएका छन् । गत निर्वाचनमा एमालेले हेटौँडाको १९ वटा वडामध्ये बहुमत अर्थात १२ वटा वडामा विजय हासिल गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*