मकवानपुरगढी र राक्सिराङमा गठबन्धनका उम्मेदवार विजयी

साझाकुरा
२०७९ जेष्ठ ४, बुधबार ११:५३

हेटौंडा- मकवानपुरको मकवानपुरगढी र राक्सिराङ गाउँपालिकामा गठबन्धनका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार विजयी भएका छन् ।मकवानपुरगढीमा नेकपा एमालेका उम्मेदवार बिदुर हुमागाईंलाई पराजित गर्दै गठबन्धनबाट कांग्रेसका दोर्जे लामा स्याङ्तान १ हजार ६१ मतान्तरसहित निर्वाचित भएका हुन् । गत निर्वाचनमा अध्यक्षको लागि हुमागाईं र स्याङ्तान नै प्रतिस्पर्धामा थिए । गत निर्वाचनमा व्यहोरेको हारको बदला स्याङ्तानले तिरेका छन् । स्याङतानले ६ हजार ७ सय ६ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी हुमागाईंले ५ हजार ६ सय ४५ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकी सन्तु थिङलाई हराउँदै नेकपा माओवादी केन्द्रकी मानकुमारी पाख्रिन उपाध्यक्षमा विजयी भइन् । पाख्रिनले थिङलाई ९ सय ६ मतान्तरमा पराजित गरेकी छन् । पाख्रिनले ६ हजार १ सय १० मत पाउँदा थिङले ५ हजार २ सय ४ मत ल्याइन् । मकवानपुरगढीमा कांग्रेसले ६ वटा वडा जित्दा एमाले २ वटा वडामा मात्रै विजयी भयो । यसैगरी, राक्सिराङ गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजकुमार मल्ल दोस्रो पटकका लागि विजयी भएका छन् । मल्ल गत निर्वाचनमा पनि अध्यक्षमा निर्वाचित भएका थिए । मल्लले ५ हजार ४ सय ८१ मत ल्याएका छन् । एमालेका उम्मेदवार बाबुलाल स्याङ्तानले ४ हजार ५ सय ७२ मत मात्रै पाए । राक्सिराङको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका वनस्थम थिङ निर्वाचित भए । उनले ४ हजार ८ सय ३९ मत ल्याउँदा एमालेकी उम्मेदवार सुन्तली माया प्रजाले ४ हजार १ सय २९ मत पाएकी थिइन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*