कसरी पायो हेटौंडामा राप्रपाले धेरै मत ?

साझाकुरा
२०७९ जेष्ठ ८, आईतवार १४:२०

हेटौंडा-स्थानीय तह निर्वाचन–२०७९ ले हेटौंडाको राजनीतिलाई तरंगित बनाएको छ ।पहिलोपटक महिला मेयर पाएर इतिहास रचेको हेटौंडा राजनीतिक रुपमा भने तरंगित बनेको छ । २०४८ साल यता तीन दशकदेखी नेकपा एमालेले कब्जा जमाउँदै आएको हेटौंडा यो स्थानीय तह निर्वाचनबाट एमालेको कब्जामुक्त भएको छ भने नेपाली कांग्रेस पहिलोपटक हेटौंडा उपमहानगरको नेतृत्वमा पुगेको छ ।
हेटौंडाको मेयरमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका हुन् । अहिलेको स्थानीय तहको निर्वाचनले हेटौंडाको राजनीतिलाई तरंगित बनाउनुको केहि कारणहरु छन् ।

पहिलो महिला मेयर पाउनु, कांग्रेस नेतृत्वमा जानु, प्रतिष्पर्धामा धेरैपटक तेस्रो स्थानमा रहेको एमाले पराजय हुनु र राप्रपा जस्तो सांगठनिक रुपमा कमजोर दलले धेरै मत पाउनु मुख्य कारणहरु हुन् । तीमध्ये सबैभन्दा ठुलो कारण एमाले जस्तो ठुलो दल र पाँचदलीय गठबन्धनको घेराबन्दीमा रहेर पनि राप्रपा एक्लैले धेरै मत ल्याउनु नै हो । राप्रपाले यो निर्वाचनमा जीत हात पार्न नसकेपनि ठुला दललाई प्रतिष्पर्धा अवधिभर बेचैन भने बनाइदियो । राजनीतिक वृत्त अनुसार राप्रपा सानो दलको रुपमा चिनिन्छ । करिव तीन दशकदेखी राप्रपाबाट राजनीति गर्दै आएका कमल थापा हेटौंडाका हुन् ।

लामो समयसम्म राप्रपाको केन्द्रिय अध्यक्षसमेत रहेर राजनीति गरेका थापा हुनै समयमा मकवानपुरमा प्रभावशाली थिए । २०४६ को बहुदलअघि राप्रपा मकवानपुरको पहिलो पार्टीको रुपमा रहेको थियो । त्यतिबेला मकवानपुरको राजनीतिमा थापा प्रभावशाली पनि मानिन्थे ।बहुदल स्थापनापछि कम्युनिष्टहरुको प्रभाव बढ्दै जादाँ राप्रपा कमजोर बन्दै गयो । त्यस यता मकवानपुरमा राप्रपाले आफ्नो उपस्थिती खासै राम्रोसँग देखाउन सकेको थिएन । अघिल्लो स्थानीय तहको निर्वाचनलाई हेर्दा राप्रपा मकवानपुरको चौथो पार्टी हो । केहि समयअघि भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापाले राप्रपा नै त्यागे र राप्रपा नेपाललाई पुनर्जिवित गराए ।

पुरानो पार्टी राप्रपा नेपाललाई पुनर्जिवित गराएका उनले आफ्नै गृहजिल्लामा पनि यो स्थानीय तहमा उम्मेदवार खडा नै गर्न सकेनन् । थापाले नेकपा एमालेलाई समर्थन गरेको बेलामा उनले छोडेको राप्रपा भने हेटौंडाको प्रतिष्पर्धामा राम्रोसँग उभ्भियो । थापाको समर्थनमा रहेको एमाले र पाँचदलीय गठबन्धनको घेराबन्दीमा राप्रपाले पाएको मतले अर्को निर्वाचनको लागि ठुला दलहरुलाई चुनौती पनि दिएको छ । यो स्थानीय निर्वाचनमा राप्रपाबाट हेटौंडाको मेयरमा दीपक बहादुर सिंह र उपमेयरमा ईन्दिरा डल्लकोटी न्यौपाने उम्मेदवार बनेका थिए । व्यवसायीक बवि बनाएका सिंह धनाढ्य व्यक्तिको रुपमा चिनिन्छ । राजा ज्ञानेन्द्रले २०६१ सालमा उनलाई जिविस सभापति मनोनित गरेका थिए । त्यो बाहेक सिंहले अरू कुनै निर्वाचित पदमा काम गरेका थिएनन् ।

खासै हेटौंडामा नदेखिने उनी यो निर्वाचनमा उम्मेदवारी दिन पनि हतार हतार हतार आइपुगेका थिए । उम्मेदवारी दर्ताको दोस्रो दिन वैशाख १२ गते प्लेनबाट सिमरामा उर्लिएका उनी ४ बजे हेटौंडा आइपुगेर उम्मेदवारी दिन पुगेका थिए । सिंहले उम्मेदवारी दिएसँगै उनलाई गठबन्धनको मत काट्न कांग्रेसको असन्तुष्ट पक्षले ल्याएको भन्ने खालको चर्चा समेत हेटौंडामा चल्न थाल्यो । एमालेले त सिंहको उम्मेदवारीसँगै गठबन्धन आफ्नो प्रतिष्पर्धी बन्न नसक्ने बरु राप्रपासँग आफ्नो प्रतिष्पर्धा हुने नै बताएको थियो । कांग्रेसमा समाजवादीलाई मेयर दिएको विषयमा असन्ततुष्ट पक्ष पनि रहेकोले सिंहको उम्मेदवारीले गठबन्धनको उम्मेदवार लामालाई हराउन सक्ने डर गठबन्धनमा थियो ।

यता एमाले भने उनको उम्मेदवारीले गठबन्धन कमजोर हुने र आफू अगाडि बढ्न सक्ने अपेक्षामा थियो । तर, निर्वाचनको मतगणनाको समयमा नतिजा उल्टो आयो । सिंहले कसैले पनि अपेक्षा नै नगरेको मत ल्याउदै दुवै पक्षलाई टक्कर दिदै प्रतिष्पर्धा गरे ।उनले एमाले र गठबन्धनको उम्मेदवारलाई पछि पार्दै धेरै पटक पहिलो स्थानको मत पाए । राप्रपाको नेपालको समर्थनमा उभिएको एमालेले २० हजार नौसय ८ र पाँच दलीय गठबन्धनले २३ हजार ६७ मत पाउदै विजयी हुँदा उनले एक्लै २० हजार ३१ मत पाए । ठुला दलहरु गठबन्धन नै गरेर चुनावी अभियानमा होमिदा पनि सानो पार्टीबाट उम्मेदवार बनेका सिंह एक्लैलै पाएको यो मत ‘पपुलर’ हो । उनले एक्लै यति धेरै मत पाउनुको पछि केहि कारणहरु छन् । सिंह हेटौंडाको पुराना मान्छेहरुको लागि परिचित छन् । खासै राजनीति नगरेको भएपनि उनको व्यवसायको कारण ‘दीपक सिंह’ हेटौंडामा परिचित नाम बनेको हो हेटौंडाको कुनाकाप्चासम्म रहेका पुराना मान्छेहरुको लागि नयाँ व्यक्ति होइनन् ।

त्यसैले उनले विशेष गरि जेष्ठ मतदाताहरुबट मत बटुल्न सकेको देखिन्छ । सिहंले ‘पपुलर’ मत पाउन सक्नुको दोस्रो कारण कमल थापा नै रहेको देखिन्छ । थापाको पार्टी राप्रपा नेपालले एमालेलाई समर्थन गरेको भएपनि गृहनगरमा नै उम्मेदवार खडा गर्न नसक्दा राप्रपा नेपालको मत पनि सिंहले पाएका छन् । राप्रपाबाट उपमेयरको उम्मेदवार बनेकी ईन्दिरा डल्लाकोटी न्यौपानेले राम्रो मत पाएकी छैनन् । सिंहले २० हजार ३१ मत पाउँदा न्यौपानेले पाँच हजार ८ सय ८७ मत मात्रै पाएकी छन् ।

यसैबाट सिंहले राप्रपाको सांगठनिक मत मात्रै नपाएको पुष्टि हुन्छ । उनले पाएको अधिकांश मत नेकपा एमाले र गठबन्धनबाट आएको देखिन्छ । गठबन्धन र एमालेको असन्तुष्ट पक्षले सिंहलाई मत दिएको आकंलन गर्न सकिन्छ । मतपत्र हेर्दा सबै मत एमालेको उम्मेदवारलाई जाँदा मेयरको एक मत राप्रपाको सिंहलाई गएको देखिन्छ ।एमाले नेता डोरमणी पौडेलको वडा र एमालेबाट मेयर बनेका पौडेलको आफ्नै वडाबाट समेत एमालेलाई भन्दा धेरै मत उनलाई गएको छ । त्यस्तैगरि अधिकांश मत गठबन्धनको उम्मेदवारलाई गइरहदा मेयरको मत गठबन्धनबाट पनि सिंहलाई गएको देखिन्छ ।
गठबन्धनको पनि विशेष गरि नेपाली कांग्रेसबाट उनले धेरै मत पाएका छन् । गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका राजेश बानियाँले ३२ हजार पाँचसय ९३ मत पाउँदा मेयरमा नेकपा एकिकृत समाजवादीकी मीना लामाले २३ हजार ६७ मत मात्रै पाएकी छन् । यी दुईबीचको मतान्तर हेर्दा नै कांग्रेस असन्तुष्ट पक्षले सिंहलाई मत दिएको पुष्टि हुन्छ । यो निर्वाचनमा सिंहले राप्रपाबाट एक्लै चुनावमा होमिदा पाएको मतले अर्को निर्वाचनमा ठुला दलहरुलाई चुनौती दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*