शिर्ष नेताले नै आफ्नो वडामा सकेनन् जिताउन

साझाकुरा
२०७९ जेष्ठ ११, बुधबार १०:०३

हेटौंडा- स्थानीय तह सदस्य निर्वाचन–०७९ अन्तर्गत् मकवानपुरको १० वटा पालिका र १ सय २ वटा वडाको अन्तिम मतपरिणाम आइसकेको छ ।मकवानपुरमा गठबन्धनको संयोजन गरेको नेपाली कांग्रेसले ५ वटा गाउँपालिकाको अध्यक्ष, ६ वटा पालिकाको उपप्रमुख÷उपाध्यक्ष जितेको छ । गठबन्धनकै नेकपा माओवादी केन्द्रले १ नगर प्रमुख, १ गाउँपालिका अध्यक्ष र ५ गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।गठबन्धनविरुद्ध निर्वाचन लडेको नेकपा एमालेले दुई वटा गाउँपालिकाको अध्यक्ष र एउटा उपाध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी)ले हेटौंडा उपमहानगरको प्रमुख मात्रै जितेको छ । जिल्लाभर १ सय २ वटा वडामध्ये कांग्रेसले ४४, एमालेले ३३, माओवादी केन्द्रले २४ र एकीकृत समाजवादीले १ वटा वडा अध्यक्ष जितेको छ ।

मकवानपुर कम्युनिष्टहरुको गढका रुपमा चिनिन्थ्यो । यसपालीको निर्वाचनमा एमालेको गढ भत्काएर कांग्रेस र माओवादीले आफ्नो उपस्थिति बढाएका छन् । तर, मकवानपुरमा राजनीतिक दलहरुको केन्द्र, प्रदेशदेखि जिल्लास्तरसम्म नेतृत्व गर्दै आएका अधिकांश नेताहरुले नै आफ्नो वडा जोगाउन सकेनन् ।अर्थात, दल हाँक्ने नेताहरु गृह वडामा भने आफ्नो पार्टीका उम्मेदवारलाई जिताएर जित जोगाउन चुकेका हुन् । केन्द्रीय राजनीतिमा लामो समयदेखि वर्चश्व बनाउँदै पटक–पटक उपप्रधानमन्त्रीदेखि मन्त्रीसमेत भएका कमल थापाले आफ्नै वडामा समर्थन गरेको दलका उम्मेदवारलाई जिताउन सकेनन् ।

थापाले यसपालीको निर्वाचनमा एमालेलाई पूर्ण समर्थन गरेका थिए । उनको हेटौंडा–६ नम्बर वडा गृह वडा हो । ६ नम्बर वडामा एमालेका उम्मेदवारलाई हराउँदै कांग्रेसका विष्णुप्रसाद दाहाल निर्वाचित भए । थापाले नेतृत्व गरेको राप्रपा नेपालले एमालेसँग ६ नम्बरको वडा अध्यक्ष मागेको थियो ।तर, एमालेले विश्वराज राईलाई उम्मेदवार बनायो । राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले मकवानपुरमा सुर्य चिन्हमा मतदान गर्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान नै गरेका थिए । ६ नम्बर वडामा थापा नेतृत्वको राप्रपा नेपालको उपस्थिति कमजोर थियो वा थापाले सहयोग गरेनन् त्यो गर्वभित्रकै विषय भएपनि उनले समर्थन गरेको उम्मेदवारले भने जितेनन् । नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्यसमेत रहेका संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको गृह वडा हेटौंडाको ४ नम्बर हो । खतिवडाको वडामा एमाले मकवानपुरका सचिवसमेत रहेका नवीन सिग्देलले दोस्रो पटकका लागि वडा अध्यक्ष जिते ।

मकवानपुरमा गठबन्धनकै नेतृत्व गरेका खतिवडाले आफ्नो उम्मेदवारलाई जिताउन सकेनन् । गठबन्धनबाट ४ नम्बर वडामा कांग्रेसका हरि पौडेल उठेका थिए । ४ नम्बर वडा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको बसोबास रहेको वडा हो । बानियाँको गृह वडा भने हेटौंडा–१८ नम्बर हो । उनले पनि आफ्नो वडामा जित निकाल्न सकेनन् । १८ नम्बरमा एमालेका अनिल बानियाँ विजयी भए ।एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाको अर्थ विकास समिति सभापति कृष्णप्रसाद दहालले पनि गृह वडामा आफ्नो पार्टीका उम्मेदवार जिताउन सकेनन् । उनको बकैया गाउँपालिकाको १२ नम्बर वडा हो । १२ नम्बर वडामा कांग्रेसका ज्ञानेन्द्र बजगाई निर्वाचित भए । एमालेका बागमती प्रदेश कमिटीका संगठन विभाग प्रमुख तथा हेटौंडाको मेयर उम्मेदवार अनन्तप्रसाद पौडेलले पनि गृह वडामा जिताउन सकेनन् ।

९ नम्बर वडामा नेकपा (एकीकृत समाजवादी)का सुकराम केसी विजयी भए । एमाले मकवानपुरका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पनि गृह वडामा पार्टीका उम्मेदवारलाई जिताउन सकेनन् । उनको गृह वडा १ नम्बरमा कांग्रेसका सविन न्यौपाने निर्वाचित भएका थिए ।हेटौंडाको मेयरका उम्मेदवार राप्रपाका दिक सिंहको गृह वडा २ नम्बर वडामा कांग्रेसका विष्णुगोपाल मर्हन निर्वाचित भए । २ नम्बर वडामा मेयरका उम्मेदवारमध्ये सर्वाधिक मत ल्याएका सिंहले वडा अध्यक्षमा राप्रपाका उम्मेदवारले जिताउन सकेनन् ।

नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्यक्ष ‘डिना’को गृह वडा भिमफेदी गाउँपालिका–७ मा भने कांग्रेसका उम्मेदवारले निर्वाचन जितेका छन् । उक्त वडामा कांग्रेसका मित्रबन्धु सिंजाली विजयी भएका हुन् । एमालेका केन्द्रीय सल्लाहर सदस्य तथा बागमतीमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, एमाले केन्द्रीय सदस्य तथा मकवानपुर पार्टी इञ्चार्ज रामेश्वर रानाको ११ नम्बर वडामा एमालेकी जुना दहालले जितिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*