जेठ १९ गतेदेखि चौथो सहिद स्मृति गोल्डकप
हेटौंडा -कोरोना संक्रमणलगायतका कारणले पटक–पटक स्थगित हुँदै आएको चौथो स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिता जेठ १९ गतेबाट हुने भएको छ ।मकवानपुर जिल्ला फुटबल संघले बिहीवार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमणको कारण सर्दै आएको चौथो स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जेठ १९ बाट २८ गतेसम्म हुने जनाएको हो ।
प्रतियोगिताका संयोजक प्रताप विष्टले हेटौंडा–५ क्याम्पा रंगशालामा हुने गोल्डकपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको १० वटा टिमको सहभागिता रहने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विभागीय टोलीहरु त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब, फ्रेण्डस् क्लब, युमलटार, क्यामरुन, सिमरा, सर्लाही, बिजय युथ र चितवनको सहभागिता रहनेछ ।प्रतियोगितामा प्रथम हुने टिमले ट्रफी, मेडल, प्रमाणपत्रसहित १५ लाख रुपैयाँ र द्वितीय हुने टिमले १० लाख रुपैयाँ प्राप्त गर्ने आयोजक जिल्ला फुटबल संघले जनाएको छ । प्रत्येक खेलको म्यान अफ दी म्याच हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक विष्टले जानकारी दिए ।
यसैगरी, खेलको उत्कृष्ट विद्यागत पुरस्कारअन्तर्गत् वेष्ट फर्वाड, वेष्ट डिफेन्डर, वेष्ट गोलकिपर, वेष्ट कोच र वेष्ट स्कोररले जनही २५ हजार रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई आकर्षक पुस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । गतवर्ष भएको तेस्रोे स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गरिएको थियो ।
तर, आगामी संस्करणमा उक्त पुरस्कार प्रदान गर्ने विषयमा निर्णय नभइसकेको खेल संयोजक विष्टले बताए ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा मकवानपुरको स्थानीय तहहरुको सहयोगमा आयोजना हुँदै आएको प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको आयोजकले जनाएको छ । आयोजक संघका अध्यक्ष टीका लामाले हेटौंडा उपमहानगरपालिकाबाट २५ लाख रुपैयाँ, विभिन्न स्थानीय तहबाट ४० लाख रुपैयाँ, बागमती प्रदेश
सरकारबाट ८ लाख रुपैयाँ सहयोग प्राप्त हुने बताए ।
उनका अनुसार जिल्ला समन्वय समिति मकवानपुरबाट ५ लाख रुपैयाँ, थाहा नगरपालिकाबाट १० लाख रुपैयाँ, विभिन्न प्रायोजकबाट ८ लाख रुपैयाँ, टिकटबाट १६ लाख २५ हजार रुपैयाँ, ४ लाख ७५ हजार रुपैयाँ व्यक्तिगत तथा सस्ंथागत सहयोग र विविधबाट ९२ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको लामाले जानकारी दिए । लामाले प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ नै खर्च हुने अनुमान गरिएको पनि बताए ।
उनले खेलाडी यातायात खर्चमा ६ लाख पाँच हजार, अनुमानित खेलाडी दैनिक भत्तामा २९ लाख १२ हजार, टिम खेल भत्तामा ४ लाख २० हजार, विज्ञापनमा ९ लाख, फिल्ड व्यवस्थापनमा ५ लाख, मसलन्दमा २ लाख, टेन्ट कुर्सी, कार्पेट तथा मञ्च सजावटमा ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनको भनाइ छ ।त्यस्तै, पुरस्कारमा २९ लाख ८५ हजार, प्याराफिट व्यवस्थापनमा ५ लाख, खेल मैदान घेराउमा ३ लाख, अतिथि सत्कारको लागि ३ लाख, प्राथमिक उपचारमा ४ लाख, रेफ्रिको लागि ७ लाख, अन्य अतिथि यातायात खर्चमा ५० हजार र विविधमा एक लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको जनाइएको छ ।
प्रतियोगितामा भाग लिने प्रत्येक टिममा २० जना खेलाडी तथा टिम कोच र टिम म्यानेजर गरी २२ जना हुनुपर्ने आयोजकले जनाएको छ । खेलपश्चात् प्रत्येक टिमलाई म्याच अलाउन्स वापत १० हजार रुपैयाँ प्रदान गर्ने खेल संयोजक विष्टले जानकारी दिए । उनले सम्पूर्ण खेलाडीहरुको प्रतियोगिता अवधिभरको बिमा गरेर सम्बन्धित क्लवहरुले कागजात पेश गर्नुपर्ने नियम रहेको बताए ।