आजदेखि महालक्ष्मी कर्पोरेट क्रिकेट लिग
हेटौंडा-महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा आज शुक्रबारदेखि ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने भएको छ ।बैंकले जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेकोले २८ औं वार्षिकोत्सवको अवसर पारेर क्रिकेट लिग आयोजना हुँदैछ । आज जेठ १३ देखि १५ गते तिन दिनसम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा हुने प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाउँदै छन् । आयोजक महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको ट्रफी र आयोजक समितिका संयोजक तथा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले जर्सी सार्वजनिक गरेका छन् ।
क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले लिगका नियमहरुका बारेमा प्रकाश पारेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत देवकोटाले यस क्रिकेट लिगले बैंक तथा वित्तीय संस्थाहरु बिच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्ने बताए । लिग कम नक आउटमा हुने प्रतियोगितामा कुल ३२ वटा खेल खेलिने छ । सहभागी १६ टोलीलाई ४ वटा समुहमा विभाजन गरिएको छ र जसबाट समुहको उत्कृष्ट हुने दुई समुह क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रति इनिंग्सको हुनेछ ।
प्रतियोगितामा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्स, मेगा बैंक, ज्योति विकास बैंक, प्राइम बैंक, सानिमा बैंक, कुमारी बैंक, कामना सेवा विकास बैंक, सनराइज बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकको सहभागिता रहेको छ ।