बजेटपछि बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ

साझाकुरा
२०७९ जेष्ठ १३, शुक्रबार १४:५५

हेटौँडा– आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट ल्याएपछि बागमतीमा सरकार परिवर्तन हुने भएको छ । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ हुने भएका छन् । गठबन्धनका दलबीच भएको सम्झौता अनुसार बानियाँ मुख्यमन्त्री बन्ने भएको स्रोतले जानकारी दिएको छ । बागमतीमा हाल गठबन्धनको नेकपा (एकीकृत समाजवादी)ले नेतृत्व गरिरहेको छ । गत ११ कार्तिकमा नेकपा (एस)का केन्द्रीय उपाध्यक्षसमेत रहेका राजेन्द्र प्रसाद पाण्डे बागमतीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

११ कार्तिकमा पाण्डे मुख्यमन्त्री बन्नुअघि आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट ल्याएपछि सरकारको नेतृत्व हस्तान्तरण गर्ने गरी लिखित सहमति भएको कांग्रेस स्रोतले जानकारी दिएको छ । तर, मुख्यमन्त्री पाण्डेले सरकारको आधा–आधा कार्यकाल चलाउने सहमति नभएको बताउँदै आएका थिए । शुक्रबार प्रदेशसभामा कुरा गर्दै पाण्डेले सरकार परिवर्तन बारे केन्द्रको निर्णय मानेर अघि बढ्ने प्रतिक्रिया दिए । पाण्डेले सरकार परिवर्तन भएपछि थाहापाईहाल्नु हुन्छ भन्दै पन्छिए ।

भावी मुख्यमन्त्रीका रुपमा चर्चा भएका बानियाँले विगतमा भएको सम्झौता अनुसार कार्यान्वयन हुनुपर्ने बताए । ‘पहिला सम्झौता जे अनुसार भएको हो, त्यही कार्यान्वयन हुनु पर्दछ । राजनीतिमा सम्झौता, समझदारी र विश्वास भन्ने हुन्छ । राजनीतिक संस्कार अनुसार त्यसलाई पालना गर्नुपर्छ ।,’ बानियाँले सम्झौता कार्यान्वयन नभए तत्कालीन नेकपामा केपी शर्मा ओली र प्रचण्डबीच भएको घटना दोहोरिने घुमाउने तरिकाले चेतावनीसमेत दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*