मन्त्रालय घटाउने बागमती सरकारको तयारी
हेटौंडा-बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ । मन्त्रालयको संख्या धेरै बनाएको भन्दै आलोचना खेपेको प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी गरेको हो । हाल बागमती प्रदेशमा नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीको गठबन्धनको सरकार छ ।गठबन्धनबाट सरकारको नेतृत्व गर्दै नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले गत कात्तिक ११ गते मुख्यमन्त्रीको रुपमा सत्तारोहण गरेका थिए । मुख्यमन्त्री पाण्डेले सत्तारोहणको समयमा गठबन्धनलाई खुशी बनाउन ८ वटा मन्त्रालयलाई विभाजन गरी १४ वटा पु¥याएका थिए ।
मन्त्रालयको संख्या औचित्य पुष्टी नै नभइ बढाएको भन्दै मुख्यमन्त्री पाण्डेको आलोचना हुँदै आएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा पनि बोल्ने क्रममा प्रतिपक्षी दलका सांसदहरुले मन्त्रालय र मन्त्री थपेको विषयमा सरकारको आलोचना गरेका थिए । मन्त्रालयको संख्या बढेसँगै व्यवस्थापनको अभावमा एउटै भवनमा आधा दर्जनसम्म मन्त्रालय राख्नुपर्ने अवस्था सिर्जना भएको थियो ।
अहिले पनि कतिपय मन्त्रालयहरु भाडाको घरमा राखिएको छ । प्रदेश सरकारको कामलाई प्रभावकारि बनाउने भन्दै मन्त्रालयको संख्या बढाइएको भएपनि सरकारको काममा खासै सकारात्मक प्रभाव नपरेपछि सरकारले मन्त्रालयको संख्या नै घटाउने गरि अध्ययन गर्न थालेको छ । ८ वटा मन्त्रालयलाई विभाजन गरेर १४ वटा पुर्याउदा पनि प्रदेश सरकारको बजेट खर्च समेत ३५ प्रतिशत मात्रै
भएको छ ।
त्यसैले मन्त्रालय विभाजनको औचित्यलाई अध्ययन गरेर मन्त्रालय घटाउने तयारी गरिएको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बताए । ‘हामीले बजेटको परिचालन बढाउन र योजना कार्यान्वयन गर्न मन्त्रालयको संख्या बढाएका हौं । अहिले चालु खर्चमा वृद्धि भएपनि विकासे खर्च बढेको छैन ।मन्त्रालय विभाजन गर्नु ठिक थियो वा थिएन । यस विषयमा हामी अध्ययन गर्नेछौं । आवश्यकताका आधारमा हामी मन्त्रालय र मन्त्रीको संख्या घटाउने छौं’, जम्मकट्टेलले भने । उनका अनुसार विभाजित केही मन्त्रालयले उत्कृष्ट काम गरेपनि केहीको औचित्य अझै पुष्टि हुन सकेको छैन । जसको कारण पनि सरकारलाई मन्त्रालयको संख्या घटाउन नैतिक दबाब सिर्जना भइरहेको छ ।