जनप्रतिनिधिलाई काम नगरी बस्ने छुट छैनः गगन थापा

साझाकुरा
२०७९ जेष्ठ १७, मंगलवार १२:२९

हेटौंडा-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई काम नगरी बस्ने छुट नभएको बताएका छन् ।स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित प्रतिनिधिको सम्मानमा नेपाली काँग्रेस हेटौंडा नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दे थापाले काम नगरी बस्ने छुट जनप्रतिनिधिहरुलाई नभएको बताएका हुन् । महामन्त्री थापाले गठबन्धनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले अघिल्लो सरकारको तुलनामा उत्कृष्ट काम गरेर देखाउनुपर्नेसमेत बताए । उनले गठबन्धनबाट निर्वाचित जनप्रतिनीधिहरुलाई शासकका रूपमा नभएर जनताका सेवक बनेर काम गर्न सुझावसमेत दिए । थापाले नागरिकको सेवकका रूपमा काम गरेर उनीहरुको जीवन बदल्ने प्रयास गर्न आग्रह गरे ।

चुनावी घोषणा पत्रको आधारमा काम गर्नसमेत उनले सुझाएका छन् । ‘घोषणा पत्रलाई संकल्पपत्रको रूपमा बुझ्न जरुरी छ,’ उनले भने, ‘जवाफदेही, पारदर्शी भएर काम गरौं । अब अरुका कारण काम गर्न सकिएन भन्न पाइँदैन । जनताले मत दिएका छन् । त्यसको सम्मान गर्नुको विकल्प छैन ।’ थापाले नेकपा एमालेका कारण २०७४ को स्थानीय चुनावदेखि हालसम्मको अवधि खेर गएको टिप्पणी गरे । उनले एमालेले स्थिरता र विकास गर्ने अवसर गुमाएको बताए ।

हेटौंडाको मेयरमा सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामा र उपमेयरमा राजेश बानियाँ विजयी भएका थिए । लामा नेकपा (एस) र बानियाँ कांग्रेसबाट विजयी भएका हुन् । त्यस्तैगरि हेटौंडाको ८ वटा वडामा कांग्रेस तथा एक÷एक वडामा नेकपा एकीकृत समाजवादी र माओवादी विजयी भएको छ ।नेपाली काँग्रैस हेटौंडा उपमहानगर समितिका सभापति उत्सव इटेनीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै संविधानमा व्यवस्था भएका सबै अधिकार जनतामाझ लैजाने काम स्थानीय तहको जनप्रतिनिधिहरुको भएको भन्दै त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न जोड दिइन् ।

उनले महिलाहरुको सहभागिता तथा महिलामाथि हुने गरेको हिंसाको विषयमा आफूले जोडदार माग उठाउँदै आएको बताउँदै त्यसका कार्यान्वय पक्ष अझै सशक्त हुन नसकेको प्रति चिन्ता व्यक्त गरिन् ।
कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले नेकपा एमालेको संविधान बिरोधी गतिविधि रोक्न गठबन्धनको आवश्यकता परेको भन्दै यसलाई निरन्तरता दिएर आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा गठबन्धनका सबै उम्मेदबारहरु जिताउनुपर्नेमा जोड दिए ।

हेटौंडा उपमहानगरमा गठबन्धनका तर्फबाट निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको कार्यक्रममा हेटौंडाका मेयर मिनाकुमारी लामाले हेटौंडाका जनताहरुलाई प्रवाह गरने सेवा सरल र सुलभ हुने विश्वास दिइन् ।कार्यक्रममा नेपाली काँग्रेस हेटौंडाका पूर्व नगर सभापति तथा जिल्ला सदस्य आनन्दराम पराजुली, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*