स्थानीय निर्वाचनमा जितेर हारेकाहरु

साझाकुरा
२०७९ जेष्ठ १८, बुधबार ११:२३

हेटौंडा- देश संघीयतामा गएपछि वैशाख ३० गते दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचनबाट मकवानपुरको १० वटै स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आइसकेका छन् ।जिल्लाको १० स्थानीय तहमध्ये ७ वटा स्थानीय तहको प्रमुखमा नयाँ अनुहार आएको छ भने तीनवटा स्थानीय तहमा पुरानै अनुहार दोहोरिएका छन् । तीनवटा गाउँपालिकाको प्रमुखमा अघिल्लो निर्वाचनमा जितेकाहरु यो निर्वाचनमा हार्न पुगेका छन् । त्यस्तैगरी २०७४ को निर्वाचनमा उपप्रमुखमा निर्वाचित पाँचजनाले यो निर्वाचनबाट हार व्यहोरेका छन् । सामान्यताः मानिसले हारपछिको जीत, असफलतापछिको सफलतालाई सहज रुपमा स्विकार गर्छ । तर, यो निर्वाचनले धेरैलाई सफलतापछिको असफलता तथा जीतपछिको हारको स्वाद पनि चखाएर गएको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका, भीमफेदी गाउँपालिका र बागमती गाउँपालिकाको प्रमुखमा पुरानै अनुहार दोहोरिएको छ । राक्सिराङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका राजकुमार मल्ल निर्वाचित भएका छन् । २०७४ मा भएको निर्वाचनमा पनि सोही गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर काम गरिसकेका उनी पुनः पाँच वर्षका लागि गाउँपालिकाको अध्यक्षमा बिजयी भएका हुन् ।त्यस्तैगरी भीमफेदी गाउँपालिकामा नेकपा एमालेका हिदम लामा निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका लामा र उपाध्यक्षमा एमालेकै पार्वती राना निर्वाचित भएका थिए ।

तर, यो निर्वाचनबाट अध्यक्षमा पुनः लामा दोहोरिँदा उपाध्यक्षमा राना भने पराजित भइन् । पाँच वर्षअघि राम्रो मत पाएर जितेको गाउँपालिकाको सोही पदमा उम्मेदवार बन्दा रानालाई आफ्नै वडाले सघाएन । रानाको आफ्नै वडाबाट उनलाई भन्दा धेरै मत गठबन्धनबाट उपाध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठलाई गएको थियो । पाँच वर्षअघिको चिर्वाचनमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा बिदूर हुमागाइँ निर्वाचित भएका थिए । तर, उनी यो निर्वाचनमा सोही गाउँपालिकाको अध्यक्षमा पराजित हुन पुगे । बितेको पाँच वर्षमा कृषि लगायत विविध क्षेत्रमा राम्रो काम गरेको दाबी गर्ने हुमागाइँ यो निर्वाचनमा भारि मत पाएर बिजयी हुनुपथ्र्यो । पाँच वर्षसम्म गाउँपालिका हाँकेका उनलाई जनताले अनुभव गरिसकेको हुँदा राम्रो काम गरेको दाबी गर्ने उनले गएको निर्वाचनमा भन्दा धेरै मत पाउनुपथ्र्यो । तर, त्यस्तो हुन सकेन ।

उनी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दोर्जे लामासँग पराजित भए । गठबन्धनको चलाखीको कारण आफूले हार्नु परेको हुमागाइँको ठम्याई छ । आफूले पाँच वर्षमा राम्रो काम गरेको छु भनेर ढुक्क भएर बस्दा गठबन्धनले सत्ताको आवश्यकता भन्दा धेरै प्रयोग गरेर चातुर्यतापूर्वक जीत हासिल गरेको उनको भनाइ छ । ‘मैले राम्रो काम गरेको छु भनेर चुप लागेर बसेँ तर, गठबन्धनले जीत्नको लागि साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेछ । त्यसैले म हार्न पुगेको हुँ’, उनले भने । हुमागाइँले गाउँपालिकाको अध्यक्षको रुपमा आफूले पाँच वर्षमा राम्रो काम गरेको दाबी गरे । आफूले गरेको कामलाई प्रतिपक्षीले समेत नराम्रो भन्न नसकेको भन्दै अब आफूले पनि राम्रो कामलाई समर्थन र गलत कामको खबरदारी गर्ने बताए ।

हुमागाइँले यो पराजयलाई पनि आफूले विजयको रुपमा लिएको बताएका छन् । हार र जीत स्वभाविक प्रक्रिया भएको भन्दै हारेर पनि आफूलाई जीतेको जस्तै महशुस भएको उनको भनाइ छ ।
२०७४ को निर्वाचनमा मनहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले जीत हासिल गरेको थियो । एमालेबाट अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा मनिला विष्ट निर्वाचित भएका थिए । यो निर्वाचनमा पनि उनीहरु दुवैजना सोहि पदको लागि उम्मेदवार बने । पाँच वर्षपछि फरक–फरक पार्टीबाट उम्मेदवार बनेका उप्रेती र विष्ट दुवै पराजित हुन पुगेका छन् । उप्रेती एमालेबाटै गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका थिए भने विष्ट एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षको उम्मेदवार बनेकी थिइन् । एक्लै समाजवादीबाट उम्मेदवार बनेकी उनले गठबन्धन र एमाले उम्मेदवारसँग प्रतिष्पर्धा गरेकी थिइन् ।

पाँच वर्ष गाउँपालिका हाँकिसकेका व्यक्तिहरु सोही गाउँपालिकाको सोही पदमा पराजित हुनुले उनीहरुले राम्रोसँग काम गर्न नसकेको सरोकारवालाहरुको टिप्पणी छ । बितेको पाँच वर्षमा जनभावना अनुसार काम गर्न नसकेकाले यो निर्वाचनमा उनीहरुले हार व्यहोर्नुपरेको उनीहरुको ठम्याई छ । जिल्लाको १० स्थानीय तहमध्ये मनहरी गाउँपालिका सबैभन्दा विवादित गाउँपालिका बन्यो । एमाले विभाजनमा उप्रेती एमालेमा नै बस्दा विष्ट समाजवादीतीर लागिन् । त्यसपछि यी दुईबीचको युद्व गाउँपालिकामा मात्रै सीमित रहेन । जिल्लाभर नै छताछुल्ल भयो ।
बोलचाल समेत बन्द गरेका विष्ट र उप्रेती सामाजिक सञ्जालमा नै एकअर्काबीच आरोप–प्रत्यारोपमा उत्रिन्थे । जनमत प्राप्त गरेर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका उनीहरुको विवादले नै उनीहरुलाई पराजितको यात्रामा पु¥याएको टिप्पणी गरेको पाइन्छ ।

मकवानपुरको विकट कैलाश गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका टंक मोक्तानले एकसय २० मतमात्र पाउन सफल भए ।अघिल्लो निर्वाचनमा एमालेबाट भारी मतसहित निर्वाचित भएका मोक्तानले यो निर्वाचनमा एकसयको हाराहारीमा मात्रै मत पाए ।आर्थिक अनियमितताको आरोपमा गाउँपालिकाको अध्यक्षबाट निलम्वनमा परेका उनी यो निर्वाचनमा पुनःसोही पदको उम्मेदवार बनेका थिए । तर, मोक्तानलाई पराजित गर्दै गठबन्धनका लोक मोक्तान निर्वाचित भए ।

यसमा तपाइको मत

Your email address will not be published.


*