२३ सय टुक्रे योजनाको लागि सवा तीन अर्ब निकासा
हेटौंडा २३ सय वटा टुक्रे योजनाको लागि बागमती प्रदेश सरकारले सवा तीन अर्बभन्दा धेरै बजेट निकासा गरेको पाइएको छ ।कार्यकर्ता पोस्न ल्याएको भन्दै विवादित बनेको २३ सय टुक्रे योजनाको लागि प्रदेश सरकारले तीन अर्ब १५ करोड ३५ लाख रुपैयाँ बजेट निकासा गरेको पाइएको हो । चालू आर्थिक वर्ष सकिन करिब डेढ महिनामात्रै बाँकी हुँदा कूल बजेटको ३५ प्रतिशतमात्रै खर्च गरेको प्रदेश सरकारले टुक्रे योजनामा मात्रै सवा तीन अर्ब खर्चेको छ ।
मुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्तारोहण गरेको केहि महिनामा नै चालू आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा समावेश नभएका २३ सय टुक्रे योजना ल्याएका थिए । मुख्यमन्त्री पाण्डे अध्यक्ष रहेको प्रदेश पूर्वाधार विशेष कार्यक्रम कार्यान्वयन कार्यविधिअन्तर्गत्को समितिले ती योजना सरकारलाई सिफारिस गरेको थियो । समितिले सिफारिस गरेका २३ सय वटा टुक्रे योजनालाई गत फागुन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो ।
मुख्यमन्त्री पाण्डे अध्यक्ष रहेको समितिमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेल र भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेल सदस्य छन् । स्रोतले दिएको जानकारी अनुसार तीन सदस्यीय समितिको सिफारिसमा मन्त्रिपरिषद् बैठकले २३ सय टुक्रे योजना पारित गर्दै योजना कार्यान्वयनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयसँग बजेट माग गरेको थियो । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतको अनुसार मन्त्रिपरिषद्बाट पारित भएको योजना कार्यान्वयनको लागि मुख्यमन्त्री कार्यालयले बजेट माग गरेपछि मन्त्रालयले पाँच पटक गरेर तीन अर्ब १५ करोड ३५ लाख रुपैयाँ निकासा गरेको छ ।
स्रोतले दिएको जानकारी अनुसार आर्थिक वर्षको बीचमा सोझै नयाँ योजना ल्याउन नमिल्ने भएपछि सरकारले प्रदेश पूर्वाधार विशेष कार्यक्रममार्फत् योजना ल्याएको थियो ।
प्रदेश पूर्वाधार विशेष कार्यक्रममा १० करोड रूपैयाँ बजेट बाँकी रहेकोमा सरकारले प्रतियोजना पाँच लाख रूपैयाँका दरले २३ सय योजना ल्याएपछि अर्थले सुरुमा योजना कार्यान्वयनका लागि १ अर्ब ४ करोड ९५ लाख रूपैयाँ बजेट दिएको थियो । तर, पछि प्रदेश सरकारले २३ सय टुक्रे योजनालाई संशोधन गर्दै प्रतियोजना पाँच लाख देखि ४५ लाखसम्मको पु¥याएको अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।
जसले गर्दा ती योजना कार्यान्वयनको लागि अर्थ मन्त्रालयबाट पाँचपटक गरेर तीन अर्ब १५ करोड ३५ लाख रुपैयाँ निकासा भएको स्रोतको दाबी छ ।स्रोतका अनुसार टुक्रे योजना कार्यान्वयनको लागि दोस्रो पटक ४८ करोड २८ लाख, तेस्रो पटक एक अर्ब २३ करोड ६३ लाख, चौथो पटक २४ करोड ३० लाख र पछिल्लोपटक तीन करोड २९ लाख रुपैयाँ बजेट निकासा गरिएको छ । अर्थ मन्त्रालयबाट टुक्रे योजना कार्यान्वयनको लागि उक्त बजेट प्रदेशका जिल्लास्थित विभिन्न कार्यालयमा पुगेको छ । सरकारले बजेट निकासा गरेको योजनाहरुमध्ये अधिकांश योजनाहरु भौतिक पूर्वाधार सम्बन्धी छन् ।
सडक सञ्जाल निर्माण, स्वास्थ्य चौकी निर्माण, विद्यालयको कम्पाउण्ड निर्माण, सामुदायिक वन भवन निर्माण, दुग्ध संकलन केन्द्र स्थापना, बोयर बाख्रापालन प्रवद्र्धनजस्ता कार्यक्रम उक्त योजनामा रहेको छ । प्रदेश सरकारमातहत रहेका १४ वटै मन्त्रालयअन्तर्गत् पर्ने गरी सरकारले ती २३ सय योजना ल्याएको जनाइएको छ ।
कार्यकर्ता पोस्ने गरी प्रदेश सरकारले २३ सय टुक्रे योजना ल्याएको भन्दै प्रतिपक्षी दलहरुले बिरोध गर्दै आएका छन् । हाल बागमती प्रदेशमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धन सरकार छ ।
अल्पमतमा परेर कात्तिक १० गते एमाले सरकारबाट बाहिरिएपछि गठबन्धनबाट नेतृत्व गर्दै मुख्यमन्त्री पाण्डेले सत्तारोहण गरेका थिए । प्रदेश सरकारको नेतृत्व गरेको करिब तीन महिनामा नै मुख्यमन्त्री पाण्डेले चालू आवको नीति तथा कार्यक्रमभन्दा बाहिरको २३ सय वटा टुक्रे योजना ल्याएका थिए ।