अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उद्घाटनमा सिमरा विजयी
हेटौंडा-चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगितामा सिमराको नव जनजागृति क्लबले विजयी सुरुवात गरेको छ ।बिहीबार हेटौंडा–५ स्थित पिप्ले रंगशालामा भएको उद्घाटन खेलमा सर्लाहीको बागमती युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सिमराले विजयी सुरुवात गरेको हो ।
नव जनजागृतीका लागि खेलको ८ औं मिनेट विवेक चौधरीले गोल गर्दै अग्रता दिलाए । खेलको दोस्रो हाफको ३४ औं मिनेटमा सिमराका क्रिपाकान्त चौधरीले गरेको गोल विजयी गोल बन्यो ।
सर्लाहीले खेलमा केही राम्रा अवसर पाएको भएपनि गोल निकाल्न नसक्दा निराश हुँदै घर फर्किन बाध्य भयो । खेलको म्यान अफ द म्याच सिमराका विवेक चौधरी घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरेका छन् । ३० गतेसम्म सञ्चालन हुने चौथो संस्करणको मकवानपुर गोल्डकपमा १२ क्लवको सहभागिता रहेको छ । प्रतियोगितामा भोली शुक्रबार बीएफसी भरतपुर र चर्च ब्वाइज क्लवको बीचमा खेल हुनेछ ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा नव जनजागृति र बागमतीसंगै त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, विजय युथ क्लब हेटौंडा, बीएफसी चितवन, चर्चब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहेको छ ।