बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

साझाकुरा
२०७९ जेष्ठ २०, शुक्रबार १०:२०

हेटौंडा-बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।बिहीबार बसेको प्रदेशसभाको बैठकले सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सरकारको नीति तथा कार्यक्रममाथि बुधबार र बिहीबार सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए ।

प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संसदमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएका थिए । प्रदेशसभाको प्रतिपक्षी दल नेकपा एमाले, विवेकशील साझा र नेपाल मजदुर किसान पार्टीका ९ जना सांसदले सरकारको नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने माग गर्दै संशोधनको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए । उनीहरुले सरकारको नीति तथा कार्यक्रमको १५ वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गराएका थिए । तर उक्त प्रस्ताव सदनबाट बहुमतले अस्विकृत भएको थियो ।

संशोधन प्रस्ताव अस्वीकृत भएपछि प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । प्रदेशसभाको बिहीबार तीन वटा बैठक बसेर सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । बिहीबार बिहान बसेको पहिलो बैठक एमालेको अवरोधपछि करिब दुईघन्टा स्थगित भएको थियो । एमालेका सांसदहरुले मुख्यमन्त्री पाण्डे, कृषि मन्त्री बसुन्धरा हुमागाईं र मन्त्रालयका सचिव शरणकुमार पाण्डेले कार्यविधि मिचेर अनुदान कार्यक्रम आफ्नालाई नदिएको भन्दै कर्मचारीलाई सरुवा गरेको भन्दै विरोध गरेपछि बैठक स्थगित भएको थियो ।

एमालेको विरोधपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक राखेर संसदको अवरोध हटाउदै पुनःबैठक सञ्चालन गरेका थिए । बैठक संचालनमा आएपछि प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि सांसदहरुले आफ्नो धारणा राखेका थिए । बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि ३१ जना सांसदहरुले धारणा राखेका थिए ।
प्रदेश सरकारको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सरकारको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए । सरकारको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले समाजवादी कार्यक्रम वडा तहबाटै शुरु गर्ने र सो कार्यक्रम आगामी दिनमा यो सबैले सम्झन लायक हुने बताएका छन् । विपक्षीहरुले समाजवादी कार्यक्रमको विरोध भन्दा पनि सुझाव दिनुपर्ने उनको भनाई थियो ।

उनले विगतमा सीमान्तकृत समुदायको पक्षमा नीति तथा कार्यक्रम ल्याउन तत्कालिन सरकारले नसकेको भन्दै अहिलेको सरकारले सीमान्तकृत वर्गलाई लक्षित गरी नीति तथा कार्यक्रम ल्याएको बताए । उनले कर्मचारी अभावका कारण काम अघि बढाउन समस्या भएकाले बजेट खर्च गर्न नसकेको बताए ।डिपिआर नभएका योजनामा बजेट विनियोजन गर्ने प्रवृत्तिका कारण पनि बजेट खर्च हुन नसकेको उनको भनाइ छ ।

सरकारको नीति तथा कार्यक्रम पारित भए लगत्तै प्रदेशसभाका सभामुख श्रेष्ठले प्रदेशसभाको अर्को बैठक जेठ ३१ गते दिउँसो २ बजे बस्ने गरी स्थगित गरेका छन् । उक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव पेश हुने जनाइको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*