मकवानपुरका स्थानीय तहमा साढे ७ करोड अनुदान बृद्धि
हेटौंडा-संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानमा आगामी आर्थिक वर्ष २०७९÷०८० मा मकवानपुरका स्थानीय तहले थप साढे ७ करोड पाउने भएका छन् ।
संघीय सरकारले स्थानीय तहमा दिँदै आएको समानीकरण अनुदान बृद्धि गरेको हो । चालू आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाका १० स्थानीय तहका लागि एक अर्ब ३३ करोड १४ लाख अनुदान आएको थियो । आगामी आवका लागि सरकारले ७ करोड ५२ लाख रुपियाँ बृद्धि गरी कूल अनुदान रकम एक अर्ब ४० करोड ६६ लाख रुपियाँ पु¥याएको हो ।
मकवानपुरमा आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाले ३५ करोड ७५ लाख रुपियाँ वित्तीय समानीकरण अनुदान पाउने बजेट भाषणमा उल्लेख छ । चालू आवमा हेटौंडाले ३४ करोड ४९ लाखमात्रै पाएको थियो । सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले आठ करोड १० लाख रुपियाँ पाउने भएको छ । इन्द्रसरोवरले चालू आवमा सात करोड ६५ लाख रुपियाँ अनुदान पाएको थियो । यसैगरी, थाहानगरपालिकाले आगामी आवका लागि १४ करोड ३६ लाख रुपियाँ अनुदान पाउने बजेट भाषणमा उल्लेख गरिएको छ ।
चालू आवभन्दा आगामी आवका लागि थाहानगरपालिकाले ८९ लाख अुनदान बढी पाउन लागेको हो । थाहाले गत आवमा १३ करोड ४७ लाख रुपियाँमात्रै अनुदान पाएको थियो । थाहापछि सबैभन्दा बढी अनुदान पाउनेमा मनहरी र बकैया गाउँपालिका छन् । मनहरीले आगामी आवका लागि १३ करोड ७७ लाख अनुदान पाउँदै छ ।
मनहरीले चालूभन्दा ६६ लाख बढी अनुदान पाउने भएको हो । बकैया गाउँपालिकाले चालूमा भन्दा ७९ लाख बृद्धि भई कूल १३ करोड ४१ लाख अनुदान पाउने बजेट भाषणमा उल्लेख छ ।
बागमती गाउँपालिकाले ११ करोड ९० लाख र भीमफेदी गाउँपालिकाले ११ करोड २३ लाख वित्तीय समानीकरण अनुदान पाउने उल्लेख छ । चालू आवमा बागमतीले ११ करोड १२ लाख र भीमफेदीले १० करोड ५९ लाख अनुदान पाएका थिए । बागमतीलाई ७८ लाख र भीमफेदीलाई ६४ लाख अनुदान बढेको हो । मकवानपुरगढी गाउँपालिकाले ११ करोड १९ लाख अनुदान पाउने भएको हो ।
चालू आवमा १० करोड ५३ लाख पाएको मकवानपुरगढीलाई ६६ लाख अनुदान बढेर आएको हो । राक्सिराङ गाउँपालिकाले १० करोड ७७ लाख वित्तीय समानीकरण अनुदान पाउने भएको हो । चालू आवमा १० करोड १२ लाख अनुदान पाएको राक्सिराङलाई ६५ लाख अनुदान बढेको हो । आगामी आवका लागि १० करोड १८ लाख अनुदान पाउन लागेको कैलाश गाउँपालिकाले चालूमा भन्दा ७४ लाख अुनदान थप पाएको हो ।