औद्योगिक क्षेत्रको विकास गर्न प्रदेश मातहत ल्याउनुपर्छः मुख्यमन्त्री पाण्डे
हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले औद्योगिक क्षेत्रको विकास गर्न प्रदेश सरकारमातहत ल्याउनुपर्ने बताएका छन् ।शुक्रबार हेटौंडामा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौं प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्रको विकास गर्नको लागि त्यसलाई प्रदेशमातहत ल्याउन आवश्यक रहेको बताएका हुन् । बागमती प्रदेशका चारवटा औद्योगिक क्षेत्र संघीय सरकार मातहत रहेको भन्दै उनले उक्त औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याउन जरुरी रहेको बताए ।
पाण्डेले औद्योगिक क्षेत्रलाई प्रदेश मातहतमा ल्याएर उत्पादनमूलक उद्योग खोल्ने वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए । औद्योगिक क्षेत्रमा संघीय सरकारको ध्यान पुग्न नसकेको भन्दै उनले प्रदेश मातहत ल्याउन सके प्रदेश सरकारले औद्योगिक क्षेत्रलाई व्यवस्थित गर्ने जिकिर गरे । मजदुरलाई तालिम दिएर मात्र काममा लगाउनको लागि उद्योग पाठशाला खोल्न आवश्यक रहेको उनको भनाई थियो । पाण्डेले चितवन उद्योग वाणिज्य संघलाई उद्योग पाठशाला खोल्न दस लाख रुपियाँ सहयोग
गरिसकेको भन्दै अरुले पनि उद्योग पाठशाला सञ्चालन गर्न चाहे प्रदेश सरकारले सहयोग गर्ने बताए ।
पाण्डेले प्रदेश सरकार उद्योगी व्यवसायीको सहयात्री बन्न तयार रहेको बताए । उनले सरकार र निजी क्षेत्र देशको अर्थतन्त्रको दुई मूल आधार भएकाले एकताबद्धरुपमा सहयात्रा गर्न सरकार तयार रहेको बताए । निजी क्षेत्र र सरकार प्रतिस्पर्धीको रुपमा नभएको बताउँदै देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी रहेको उनको भनाई छ । उनले स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न र कृषि क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले उद्योगमैत्री वातावरण तयार पार्न प्रदेश सरकार तयार रहेको बताए । मुख्यमन्त्री पाण्डेले मल कारखाना खोल्नको लागि बंगलादेशबाट कम्पनी प्रदेश सरकारसँग आएको भन्दै नेपालकै उद्योगीहरुलाई त्यसको लागि पहल गर्न पनि आग्रह गरे । उनले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटको आकार करिब १० अर्ब बढेर आउन सक्नेसमेत बताए । चालू आवमा प्रदेश सरकारको बजेट ५७ अर्बको छ ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले आगामी आर्थिक वर्षको बजेटमा उद्योगी व्यवसायीहरुको धेरै समस्याहरुलाई समाधान गर्न प्रयास गरेको बताए । उनले सरकारले बजेटबाट उद्योग तथा वाणिज्य क्षेत्रको समस्या समाधान गर्न तदारुकता देखाएर ल्याएको बजेट कार्यान्वयनको चरण भने हेर्न बाँकी रहेको बताए । गोल्छाले उद्योग क्षेत्रको थप समस्याहरु मौद्रिक नीतिले पनि समाधान गर्ने बताए । अध्यक्ष गोल्छाले उद्योगी व्यवसायीको हित र उद्योग क्षेत्रको विकासका लागि विना धितो लगानीका आधारमा कर्जा प्राप्तिको व्यवस्था, जग्गा प्राप्तिमा सहजता, तरलता अभावको अन्त्य गर्नुपर्ने बताए ।
साना तथा मझौला उद्योगको विकास गर्न सकेमात्र देशको अर्थतन्त्रमा उल्लेख्यरुपमा सुधार आउने उनको भनाइ छ । उनले वर्तमान अवस्थामा भइरहेको तरलता अभावको अन्त्यका लागि बृहत अध्ययन गर्नु पर्ने बताए । निर्यातलाई बढाउन उद्योगीहरुलाई थप सुविधा दिने प्रकृतिको बजेट आएकाले यसले अर्थतन्त्रमा केही सुधार पनि हुने अवस्था देखिएको उनले बताए । उद्योग क्षेत्र सरकारलाई कर तिर्न तयार रहेको भन्दै अध्यक्ष गोल्छाले नीजि क्षेत्रसँगको सल्लाह र सहकार्य गर्न सरकारसंग आग्रह गरे ।