एपीएफलाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश
हेटौंडा- हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलबाट साविक बिजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा अर्को विभागीय टोली एपीएफ फुटबल क्लबलाई टाइबे्रकरमा
५–४ गोलअन्तरले हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइबे्रकरबाट लिइएको थियो ।
आर्मीले खेल अवधिभर दुई वटा पेनाल्टी पाए पनि सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । तर, टाईब्रेकरलाई सदुपयोग गर्दै आर्मी जीत निकाल्न सफल भयो ।
निकै रोमाञ्चक बनेको खेलको पहिलो हाफमा डिबक्सभित्र एपीएफका कप्तान टोपबहादुर विष्टको हातमा बलले लागेपछि आर्मीले पेनाल्टी पाएको थियो । आर्मीले पाएको पहिलो पेनाल्टी सदुयोग गर्न सकेन । आर्मीका बिवेक बस्नेतले प्रहार गरेको पेनाल्टी एपीएफका गोल रक्षक राजु नगरकोटीले रोकेका थिए । त्यस्तै, दोस्रो हाफको प्रतिस्र्धात्मक खेलको ६७ औँ मिनेटमा एपीएफका खेलाडीले डिबक्सभित्र फाउल गरेपछि आर्मीले दोस्रोपटक पेनाल्टी भएको थियो । दोस्रोपटक पाएको पेनाल्टीलाई आर्मीका दिनेश हेम्जनले सहजै जाली चुमाउँदै १–० को अग्रता दिलाएका थिए । तर, त्यो अग्रता जीतको लागि पर्याप्त भएन ।
खेलको थप समयको अन्तिम मिनेटमा एपीएफका युवराज खड्काले गोल गर्दै टोली खेलमा फर्काएका थिए । त्यसपछि खेलको निर्णय टाईब्रेकरको साहाराबाट लिनु परेको थियो ।टाईब्रेकरमा आर्मीलाई जीत दिलाउन गोलरक्षक विकेश कुथु नायक बने । उनले ४–४ गोलको स्थितिमा उनले एपीएफका मणिकुमार लामाको प्रहार रोक्न सफल भएका थिए । आर्मीका दीपक गुरुङ, सिमान्त थापामगर, सन्तोष केसी, कमलबहादुर थापा र दिनेश हेम्जनले गोल गरेका थिए । उता, एपीएफका नविन लामा, सुदीप शिखरकार, सनिश श्रेष्ठ र नविन थिङले मात्रै गोल गरेका थिए ।
टाईब्रेकरमा टोलीलाई जीत दिलाउन महत्वपूर्ण पेनाल्टी बचाउँ गरेका आर्मीका विकेश कुथु म्यान अफ दी म्यच घोषित भए । उनले नगद १० हजारसहित ट्रफि हात पारे । आर्मीले फाइनल प्रवेशको लागि चर्च ब्वाइज क्लब र एभेनिर एफसी, क्यामरुन बीचको बिजेतासँग खेल्नेछ ।
प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेल आज मंगलबार नेपाल पुलिस क्लब र स्टार खेलाडीले भरिएको मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे ३ बजे सुरु हुने बताइएको छ ।
प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै विधागत उत्कृट हुने प्रशिक्षकसहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।