जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको दाबी

साझाकुरा
२०७९ जेष्ठ २५, बुधबार ११:३२

हेटौंडा, २४ जेठ÷ जिल्ला समन्वय समिति मकवानपुरको नेतृत्वमा नेपाली कांग्रेसले दाबी गरेको छ ।मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति बुद्ध लामाले नेपाली काँग्रेस सबैभन्दा ठूलो दल भएको भन्दै जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा आफूहरुको दाबी रहेको बताएका हुन् । उनले जिल्लाका स्थानीय तहमा आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेकोले आफूहरुले दाबी गरेको बताएका हुन् । उनले जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेसकै नेतृत्वमा अघि बढ्ने गरी गठबन्धन दलहरुबीच छलफल भइरहेको समेत बताए ।

स्थानीय तहको निर्वाचनअघि जिसस प्रमुख नेकपा माओवादी केन्द्रले पाउने सहमति गठबन्धनमा भएको चर्चा थियो । तर, स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पहिलो पटक पत्रकार सम्मेलन गर्दै कांग्रेसले जिससमा आफ्नो दाबी रहेको बताएको हो । मकवानपुरमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टी गठबन्धनमा छ ।

जसपा र नेमकिपाको उपस्थिति त्यति बलियो नभएकोले स्थानीय तहको निर्वाचनमा तीन दलले मात्रै भागवण्डा गरेका थिए । जसअनुसार नेपाली कांग्रेसले पाँच, माओवादी केन्द्रले तीन र समाजवादीले दुईवटा पालिकामा भागवण्डा मिलाएका थिए ।काँग्रेसले ठूलो दल भएकोले पाँचवटा स्थानीय तहको प्रमुख र ४ वटा पालिका उपप्रमुख लिएको थियो भने समाजवादीले हेटौंडा उपमहानगरपालिकासहित दुईवटा पालिका प्रमुख लिएको थियो ।

तर, माओवादीले तीनवटा पालिका प्रमुख र केहि उपप्रमुख लिएको थियो । माओवादीले जिससमा नेतृत्व गर्ने गठबन्धनमा भद्र सहमति भएको चर्चा थियो । तर, काँग्रेस सभापति लामाले काँग्रेस जिल्लाकै ठूलो पार्टी भएकोले जिससमा काँग्रेसले नेतृत्वमा दाबी गर्नु स्वाभाविक भएको बताएका छन् । ‘हामी छलफल गरिरहेका छौँ । अहिलेसम्म काँग्रेसकै नेतृत्वमा अघि बढ्ने खालको वातावरण बनेको छ । केन्द्रको निर्णय फेरिएन भने गठबन्धन अघि बढ्छ ।

जिससमा हाम्रो नेतृत्व हुनेछ’, उनले भने । जिल्ला समन्वय समितिको निर्वाचनमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी कूल २० जनाले मतदान गर्न पाउँछन् ।नेपाली कांग्रेसका ९ जना, नेकपा माओवादी केन्द्रमा ७ जना, नेकपा एमालेका ३ जना र नेकपा एकीकृत समाजवादीको १ जना मतदाता रहेका छन् । काँग्रेस सबैभन्दा ठूलो दल भएपनि उसको एकल बहुमत भने पुग्दैन । एकल बहुमत नपुग्ने भएपनि गठबन्धनमा काँग्रेसले जिससमा आफूले नेतृत्व गर्न पाउनुपर्ने कुरा बलियोरुपमा प्रस्तुत गर्ने जनाएको छ ।

तर, निर्वाचनअघि भएको सम्झौता विपरीत काँग्रेसले जिससमा दाबी गरे नेकपा एमालेसँग मिल्न जाने माओवादीले संकेत गरेको छ । साझाकुरासँग कुरा गर्दै माओवादीको एक नेताले भने ‘गठबन्धनमा यस विषयमा औपचारिक कुनै छलफल भएको छैन । तर, निर्वाचनअघिको सहमतिअनुसार जिससमा माओवादीले नेतृत्व गर्छ । सम्झौता कार्यान्वयन गर्दिनँ भन्न पाइँदैन ।’

उनले गठबन्धनको सहायतामा काँग्रेस जिल्लाको पहिलो पार्टी बनेको भन्दै निर्वाचनपछि गठबन्धनको अवमूल्यन गर्न नहुने चेतावनी दिए ।मंगलबारको पत्रकार सम्मेलनमा काँग्रेस सभापति लामाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि पनि काँग्रेस कसरी अघि बढ्ने भन्ने सन्दर्भमा आन्तरिक छलफल भइरहेको प्रतिक्रिया दिएका छन् । ‘प्रदेश र संघको चुनाव पनि नजिकिँदै छ । हामी आन्तरिक छलफलमा छौँ ।

वर्षा सकिएलगत्तै एक खालको निष्कर्षमा पुगिएला’ उनले भने । उनले स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई निर्वाचित गराउन महत्वपूर्ण सहयोग पु¥याउने सबैप्रति आभार व्यक्त गरे । उनले निर्वाचित जनप्रतिनिधिहरुलाई लोकतान्त्रिक प्रक्रियाबाट जनहितका सवालमा प्रभावकारीरुपमा काम गर्न निर्देशनसमेत दिए । सभापति लामाले जनभावनाबिरुद्वमा काम नगर्न पनि काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*