मनाङ मस्र्याङ्दीलाई हराउँदै पुलिस क्लब सेमिफाइनलमा
हेटौंडा- हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार हेटौंडा–५ पिप्ले रंगशालामा भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ३४ औं मिनेटमा पुलिसका भरत शाहले गरेको गोल निर्णायक गोल बन्यो । मनाङ मस्र्याङदीले खेलको ४१ औं मिनेटमा प्राप्त पेनाल्टी गोल गर्न सकेन । पुलिसका गोलरक्षक शत्रुधन चौधरीले मनाङका कप्तान अञ्जन बिष्टले गरेको प्रहार बचाएका थिए ।
खेलको पहिलो हाफ विवाद रहित भएपनि दोेस्रो हाफको अन्त्य तीर निकै विवाद सिर्जना भएको थियो । दोस्रो हाफमा पुलिसका प्रशिक्षकसहित खेलाडीहरुले रेफ्रि प्रति असन्तुष्टी जनाएका थिए । पुलिसका प्रशिक्षक अनन्तराज थापा, खेलाडी हेम तामाङ र हेमन्त श्रेष्ठलाई रेफ्रीले रातो कार्ड दिएका थिए । खेलको थप सयममा पुलिसका खेलाडी तामाङ्ले मनाङका कप्तान अन्जन विष्टलाई धकेलेर लडाएका थिए । त्यसपछि उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेको थियो ।
रातो कार्ड प्राप्त गर्ने प्रशिक्षक र दुई खेलाडीले सेमिफाइनल खेल गुमाउने छन् । पुलिसले फाइनल प्रवेशका लागि बिजय युथ क्लब हेटौंडा र नवजनजागृति युवा क्बल सिमराबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि, सोमबार भएको खेलमा विभागीय टोली त्रिभुवन नेपाल आर्मी सेमिफाइनल प्रवेश
गरिसकेको छ ।
सोमबार भएको खेलमा नेपाल एपीएफलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो । आर्मीले फाइनल प्रवेशको लागि चर्च ब्वाइज क्लब र एभेनिर एफसी, क्यामरुन बीचको बिजेतासँग खेल्नेछ । ३० गतेसम्म जारी रहने प्रतियोगितामा बिजेता टोलीले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख र उपबिजेता टोलीले १० लाख प्राप्त गर्ने छन् ।