दुई हजार आठसय ५६ जनालाई सहुलियतपूर्ण ऋण

साझाकुरा
२०७९ जेष्ठ २५, बुधबार १३:११

हेटौंडा-साना व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले दुईहजार आठ सय ५६ जनालाई सहुलियतपूर्ण ऋण प्रदान गरेको छ । चालू आर्थिक वर्षको चैत महिनासम्ममा प्रदेश सरकारले विभिन्न ७ वटा क्षेत्रमा व्यवसाय गर्न चाहने दुईहजार आठसय ५६ जनालाई एक अर्ब ३० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लगानी गरेको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ बाटै विभिन्न क्षेत्रका व्यवसायीलाई तीन प्रतिशतब्याजदरमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउँदै आइरहेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार साना व्यवसायीलाई अधिकतम १० लाख रुपैयाँसम्मका दरले प्रदेश सरकारले ऋण प्रवाह गर्दै आएको छ । मन्त्रालय सहुलियतपूर्ण ऋण सचिवालयका फोकल पर्सन विनोद विडारीले कृषि, उद्योग, पर्यटन प्रवद्र्धन, व्यापार, वन तथा वातावरण, फोहोरमैला व्यवस्थापन र महिला तथा दलित समुदाय विकासका लागि वार्षिक ३ प्रतिशतभन्दा बढी ब्याज नपर्ने गरी सहुलियतपूर्ण ऋण प्रदान गरिरहेको बताए । उनका अनुसार पाँच लाखभन्दा कम ऋण लिने साना व्यवसायीलाई साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र त्योभन्दा माथि १० लाख रुपैयाँसम्म ऋण लिनेका लागि कृषि विकास बैंकका शाखा कार्यालयबाट ऋण प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।

बैंकले प्रदेशका १३ जिल्लाका ६५ शाखाबाट ऋण प्रवाह गरिरहेको छ । पाँच लाखभन्दा कम ऋण लिने व्यवसायीलाई साना किसान लघुवित्त वित्तीय सस्थांले १९९ सहकारीमार्फत् ऋण प्रवाह गरिरहेको छ । चालु आर्थिक वर्षमा यस संस्थाले ६० करोड रुपैयाँ ऋण प्रवाह गरिसकेको विडारीले जानकारी दिए । गत आर्थिक वर्षमा प्रदेश सरकारले दुई हजार आठसय ६४ साना व्यवसायीलाई एक अर्ब १२ करोड रुपैयाँ ऋण लगानीगरेको थियो ।

गत आर्थिक वर्षमा सहुलियतपूर्ण ऋणका लागि ३ अर्ब रुपैयाँ बजेट छुट्याइएको थियो । पहिलो वर्षमा किसानहरूलाई जानकारी नहुँदा एक अर्ब ८८ करोड रुपैयाँ बजेट फ्रिज भएको थियो । प्रदेश सरकारले यस्तो ऋण ५ वर्षसम्मका लागि उपलब्ध गराउँछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*