वर्षाका कारण खेल स्थगित, आज दुई खेल

साझाकुरा
२०७९ जेष्ठ २६, बिहीबार ११:००

हेटौंडा- हेटौंडा–५, पिप्ले क्याम्पा रंगशालामा जारी चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपमा बुधबार हुने भनिएको खेल स्थगित भएको छ ।बुधवार ४ बजेका लागि तय भएको हेटौंडेली क्लब विजय युथ र जनजागृति क्लब सिमराबीचको खेल वर्षाका कारण स्थगित भएको हो । वर्षाले पिप्ले क्याम्पा रंगशालाको मैदानमा पानीको दह बनेपछि खेल आज बिहीवारका लागि सारिएको हो । उक्त खेल आज बिहान साढे ८ बजे हुने गोल्डकपका संयोजक प्रताप विष्टले जानकारी दिए । भारी वर्षाका कारण मैदान जलमग्न भएपछि आयोजकले जमेको पानी हटाउने काम गरेको थियो ।प्रतियोगिताअन्तर्गत् क्यामरुनी टोली एभिनियर फुटबल क्लब र चर्च ब्वाइज फुटबल क्लबबीचको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल पनि आज अपरान्ह ४ बजे हुने

भएको छ । आजको खेलमा बिजयी हुने दुवै टोलीले सेमिफाइनल यात्रा तय गर्नेछ । विजय युथ र जनजागृति क्लबबीचको विजेताले विभागीय टोली नेपाल पुलिस क्लबसँग भिड्ने छ । एभिनियर फुटबल क्लब र चर्च ब्वाइजबीचको विजेताले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्ने निश्चित छ ।यसअघि भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले एपिएफ क्लबलाई ट्राइब्रेकरमा ५–४ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । दोस्रो क्वाटरफाइनल खेलमा पुलिसले मनाङ मस्र्याङदी क्लबलाई १–० ले पराजित गरेको थियो । मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना गोल्डकप भइरहेको हो । प्रतियोगितामा विजेताले १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । विधागत उत्कृष्ट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले बुलेट बाईक प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*