आज मकवानपुर गोल्डकप फाइनल, घरेलु मैदानमा बिजय युथलाई कति सहज ?

साझाकुरा
२०७९ जेष्ठ ३०, सोमबार ११:३३

हेटौंडा- आज सोमबार हेटौंडा जारी चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल हुँदैछ । हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा हुने फाइनल खेलमा घरेलु टोली बिजय युथ क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दै छन् । आर्मी गोल्डकपको डिफेन्डिङ च्याम्पियन हो भने बिजय युथ घरेलु टोली हो । तेस्रो संस्करणको गोल्डकपमा पनि आर्मीले आयोजक टोलीलाई हराएर उपाधि जितेको थियो । यद्यपि, जारी प्रतियोगितामा आयोजक टोली नरहेपनि घरेलु टोलीका रुपमा बिजय युथ मैदान छिरेको हो । बिजय युथ र आर्मी दुबै टोलीले राम्रा क्लबलाई हराएर फाइनल प्रवेश गरेका हुन् । विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएर बिजय युथ उपाधि नजिक पुगेको हो ।

विदेशी खेलाडीले भरिएको पाहुना टोली एभिनियर एफसी क्यामरुनलाई हराउँदै आर्मीले बिजय युथसँग फाइनलमा भेट पक्का गरेको हो । पिप्ले क्याम्पा रंगशालामा आइतबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा फाइनलमा पुगेका दुबै टोलीका प्रशिक्षक तथा कप्तानले उपाधि आफूले जित्नेमा ढुक्क रहेको दाबी गरे । बिजय युथका प्रशिक्षक विजयलाल श्रेष्ठले फाइनल खेल्न टोली तयारी रहेको भन्दै जीत निकाल्नेमा ढुक्क रहेको बताए ।

आर्मी बलियो टोली भएकाले भरपर्दो रणनीति बनाएर मैदानमा उत्रिने उनको भनाइ छ । बिजय युथका कप्तान अशोक बरालले अनुभवी खेलाडी रहेको आर्मीलाई फाइनलमा हराउन सहज नहुने स्वीकार्छन् । उनले आर्मीसँगको प्रतिस्पर्धा कडा हुने भएपनि जित्नका लागि खेल्ने बताए ।आर्मीका प्रशिक्षक नविन न्यौपानेले जीतको निरन्तरता दिँदै उपाधि हात पार्ने बताए । दोस्रो रोजाईका खेलाडी लिएर मैदान छिरेको भन्दै घरेलु टोलीलाई कमजोर नसोचेको उनको भनाइ छ । आर्मीका मुख्य फरवार्ड नवयुग श्रेष्ठलगायतका खेलाडी हाल गोल्डकपमा सहभागी छैनन् । एसियन छनौटमा कुवेत रहेको राष्ट्रिय टोलीमा आर्मीका नवयुगसहित अन्य खेलाडी छन् । महत्वपूर्ण खेलाडी राष्ट्रिय टिममा परेर हाल सहभागी नभएको भन्दै खेलमा ठूलो असर नपरेको प्रशिक्षक न्यौपानेको भनाइ छ ।

घरेलु टिमसँगको फाइनल खेल मज्जा आउने भन्दै आर्मी फिट्नेसले गेम खेल्ने उनको भनाइ छ । प्रशिक्षक न्यौपानेले पछिल्लो दुई खेलमा भएको कमी कमजोरीलाई सुधार्दै फाइनल खेल्ने बताए ।क्वार्टरफाइनलमा सिधै स्थान पाएको आर्मीलाई फाइनल यात्राका दौरान खेलमा धेरै संर्घष गर्नु परेको थियो । क्वाटरफाइनल खेलमा एपीएफलाई ५–४ गोलअन्तरले पेनाल्टी सुटआउटमा र शनिबार सेमिफाइल खेलमा सडनडेथमा एभिनियर एफसी क्यामरुनलाई ११–१० ले हराएर आर्मी उपाधि नजिक पुगेको हो । आयोजकको हैसियतले सिधै अन्तिम आठमा प्रवेश पाएको बिजय युथले पहिलो खेलमा नव जनजागृतिमाथि ३–० को शानदार जीत निकालेको थियो । सेमिफाइनलको संघर्षपूर्ण खेलमा बिजय युथले नेपाल पुलिस क्लबलाई १–० ले हराएको थियो । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगिताको बिजेताले १५ लाख र उपबिजेता १० लाख पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*