घरेलु टोलीलाई हराउँदै आर्मीले चुम्यो मकवानपुर गोल्डकपको उपाधि

साझाकुरा
२०७९ जेष्ठ ३१, मंगलवार १०:१०

हेटौंडा-घरेलु टोलीलाई पराजित गर्दै विभागीय त्रिभुवन आर्मी क्लबले दोस्रोपटक चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।घरेलु टोली विजय युथ क्लब हेटौैडालाई २–१ गोलअन्तरले पराजित गर्दै आर्मीले लगातार दोस्रो पटक उपाधि चुमेको हो । कप्तान भरत खवास र कमलबहादुर थापाको योगदानमा दोस्रोपटक आर्मी च्याम्पियन बन्न सफल भयो ।

खेलको १५ औं मिनेटमा कप्तान खवासको गोलबाट आर्मीले सुरुवाती अग्रता लियो । उनले टेक बहादुर बुढाथोकीको पासलाई सुन्दर फिनिसको नमूना पेश गरेका थिए । त्यसको १० मिनेटपछि घरेलु टोलीले बराबरी गोल फर्काउन सफल भयो ।घरेलु टोली विजय युथका डोना थापाले पेनाल्टीमार्फत् एक गोल फर्काए । युद्ध शाहीले पेनाल्टी बक्समा बिमल रानालाई फाउल गरेपछि रेफ्रीले विजय युथलाई पेनाल्टी प्रदान गर्दा थापाले घरेलु टोलीलाई एक गोलको योगदान दिन सफल भए । दोस्रो हाफको शुरुमै कमलबहादुर थापाले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए । लगत्तै आर्मीले पेनाल्टीको अवसर पाए पनि दिनेश हेन्जनले गोल गर्न नसक्दा आर्मी थप अग्रता लिनबाट चुक्यो ।

विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले सन्तोष केसीलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा दिनेशले गोल गर्न सकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा आर्मी विजयी हुँदै च्याम्पियन बन्न सफल भयो ।आर्मीले गत सिजन पनि च्याम्पियन बन्ने क्रममा विजय युथलाई नै पराजित गरेको थियो । उपाधिसँगै आर्मीले १५ लाख रुपैयाँ र शिल्ड हात पारेको छ । दोस्रो भएको विजय युथले १० लाख रुपैयामा चित्त बुझाएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा १२ टोलीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै घरेलु टिम एफसी विजय युथका क्याप्टेन अशोक बरालले बुलेट बाइक पाएका छन् । सोमबार भएको फाइनल खेलमा उपविजेता बनेको एफसी विजय युथका बराल ए डिभिजन क्लबमा व्यावसायिक फुटबल खेलाडी हुन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीका लागि बुलेट बाइकको प्रायोजन हेटौंडा स्कूल अफ म्यानेजमेन्टले गरेको थियो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका बिकेश कुथु घोषित भए । उत्कृष्ट मिडफिल्डर आर्मीका विवेक बस्नेत, स्ट्राइकरमा आर्मीकै दिनेश हेम्जन र प्रशिक्षकमा आर्मीका नवीन न्यौपाने घोषित भए । विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाएका छन् । मकवानपुरका १० वटै स्थानीय तहको लगानीमा प्रतियोगिता भएको थियो ।प्रतियोगिताका बिजेता तथा उपबिजेतालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस बागमती प्रदेश सभापति तथा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले पुरस्कार वितरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*