समाजवाद उन्मुख हुने गरी काम गर्न मुख्यमन्त्री पाण्डेको आग्रह
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न प्रदेश अन्तर्गत्का स्थानीय तहहरुलाई आग्रह गरेका छन् ।
बागमती प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि सोमबार र आज मंगलबार गरी दुई दिनसम्म हेटौंडामा चल्ने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न आग्रह गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले गरिब तथा सामाजिक विभेदमा परेकाहरुको उत्थान हुने खालको नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्दै त्यसैसँग जोडेर बजेट ल्याउन पनि स्थानीय तहहरुलाई आग्रह गरे । उनले एकल महिला, दलित, लोपोन्मुख, सीमान्तकृत समुदाय, अपांगता भएका महिलाहरुको सशक्तिकरणका लागि सीप, पूँजी र प्रविधिको उपयोग गरिने कुरालाई स्थानीय सरकारले पनि विशेष रुपले अघि बढाउनुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए ।
मुख्यमन्त्री पाण्डेले स्थानीय तहमा डोजरे विकास मौलाएको भन्दै चिन्ता व्यक्त गरे । उनले जनप्रतिनिधिलाई डोजरे विकासबाट बाहिर निस्किन पनि आग्रह गरे । मुख्यमन्त्री पाण्डेले असार १० गते स्थानीय तहले ल्याउने बजेटमा प्रदेशको नीति तथा कार्यक्रममा समावेश भएका योजनाहरुलाई समेत समेट्न आग्रह गरे ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र प्रदेश सुशासन केन्द्र वागमती प्रदेशको समन्वयमा हेटौंडामा प्रदेशभरका स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि दुई दिने तालिमको आयोजना गरिएको हो ।तालिममा स्थानीय सरकार सञ्चालन र विकास सम्बन्धी प्रक्रिया र कानुनको विषयमा उनीहरुलाई जानकारी गराइनेछ ।