प्रदेश र स्थानीय सरकारले अधिकार प्राप्त गर्न सकेनः मुख्यमन्त्री पाण्डे

साझाकुरा
२०७९ असार १, बुधबार ०९:१५

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रधानमन्त्रीकै कारण पछिल्लो ५ वर्ष प्रदेश सरकार र स्थानीय सरकारले अधिकार प्राप्त गर्न नसकेको टिप्पणी गरेका छन् ।बागमती प्रदेशका स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखका लागि आयोजित अभिमुखीकरणको समापन समारोहलाई सोमबार हेटौंडामा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले संघीयता कार्यान्वयन गर्नकै लागि भने पनि संघीय मामिला मन्त्री र प्रधानमन्त्रीबीच मन्त्रिपरिषद् बैठकमै झगडा नै हुनुपर्ने टिप्पणी समेत गरे ।
पाण्डेले संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार हस्तान्तरण नगरेका कारण संघीयताको मर्मअनुसार काम हुन नसकेको दावी गरे ।

स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखलाई सरल व्यवहार प्रस्तुत गर्न, जनताको कुरा सुन्ने धैर्यता राख्न उनले आग्रह गरे । मुख्यमन्त्री पाण्डेले जनताकै मतबाट निर्वाचित भएर जनताका अगाडि अभद्र र म ठूलो हुँ भन्ने भाव नराख्न पनि सुझाव दिए । प्रधानमन्त्री र जनताको मत बराबरी भएकोले जनताको सेवाको स्तर बढाउन पनि पाण्डेले आग्रह गरे । मुख्यमन्त्री पाण्डेले अब पालिकाका उपाध्यक्षहरुका लागि न्यायिक समितिसम्बन्धी अभिमुखीकरण र वडा अध्यक्षहरुका लागि पनि अभिमुखीकरणको कार्यक्रम आयोजना गरिने बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*