मकवानपुरसहित बागमतीका तीन जिल्ला चेपाङ संरक्षित क्षेत्र घोषित

साझाकुरा
२०७९ असार ३, शुक्रबार १०:२०

हेटौंडा- बागमती प्रदेश सरकारले मकवानपुरसहित धादिङ र चितवनलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरेको छ ।प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले बुधबार आगामी आव २०७९÷०८० को बजेट भाषणमा तीन जिल्लाका चेपाङ जाती बाहुल्य रहेको क्षेत्रलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्दै विशेष कार्यक्रम ल्याइने घोषणा गरेका हुन् ।

बजेटमा अति विपन्न र पिछडिएको जातीको रुपमा रहेको वनकरिया, चेपाङ, माझी र जिरेल जातीको लागि विशेष कार्यक्रम ल्याइने घोषणा पनि गरिएको छ । नेपालमै पहिलोपटक चेपाङ समुदायबाट मन्त्री बनेका बागमती प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले प्रदेश सरकारले अब चेपाङ संरक्षित क्षेत्र सम्बन्धी कार्यविधि बनाई बजेट कार्यान्वयन गर्ने बताए ।

स्थानीय सरकार संचालन ऐन २०७४ दफा (९) मा सांस्कृतिक वा पर्यटक क्षेत्र घोषणा गर्न सक्ने कुरा उल्लेख छ । सो दफा ९ (१) मा प्रदेश सरकारले कुनै गाउँपालिका वा नगरपालिकाको ऐतिहासिक महत्व पुरातात्विक, वस्तु कला वा सांस्कृतिक संरक्षण वा पर्यटन प्रवद्र्धन र उपयुक्त देखेमा त्यसको लागि मापदण्ड तोकी कुनै गाउँपालिका वा नगरपालिका वा सोको कुनै क्षेत्रलाई चार किल्ला खोली सांस्कृतिक वा पर्यटकीय क्षेत्र घोषणा गर्न सक्ने छ, भनी उल्लेख गरिएको छ । सोही दफाको उपदफा दुईमा एक बमोजिम घोषणा भएमा प्रदेश सरकारले विशेष कार्यक्रम तथा बजेट ब्यवस्था गर्न सक्ने छ भनी उल्लेख गरिएको छ ।

उक्त कानुनी व्यवसथालाई टेक्दै सिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको क्षेत्रलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरी सामाजिक र आर्थिक विकासको लागि विशेष कार्यक्रम सञ्चालन गर्न चेपाङ अगुवा एवम् अधिकारकर्मीले माग गर्दै आएका थिए ।चेपाङ संरक्षित क्षेत्र घोषणाको अलवा प्रदेश सरकारले आगामी आर्थिक वर्षमा धादिङ, मकवानपुर र चितवनमा बसोबास गर्ने अति विपन्न चेपाङ समुदायको आवास निर्माणको लागि चेपाङ एकीकृत बस्ती निर्माणको लागि ५ करोड रुपैयाँसमेत छुट्याइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*