प्रदेश सरकारको बजेटलाई चुनाव केन्द्रीत भन्न मिल्दैनः जम्मकट्टेल

साझाकुरा
२०७९ असार ३, शुक्रबार १०:२५

हेटौंडा- बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले ल्याएको बजेटलाई चुनाव केन्द्रीत बजेट भन्न नमिल्ने बताएका छन् ।
प्रदेशसभाको बिहीबार बसेको दोस्रो बैठकमा बजेटमाथिको छलफलमा प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै जम्मकट्टेलले समग्र प्रदेशको विकासलाई ध्यानमा राखेर सबै क्षेत्र समेट्ने गरी बजेट ल्याएको भन्दै चुनाव केन्द्रीत बजेट भन्न नमिल्ने बताएका हुन् ।

सरकारले प्रतिपक्ष र सत्तापक्षबीच विभेद नगरी बजेट तर्जुमा गरेकाले बजेट जनता लक्षित रहेको उनको भनाई छ । उनले वर्तमान सरकारले विगतका सरकारले गरेका गल्तिहरुलाई सच्याएर समृद प्रदेशको लागि काम गर्न प्रतिबद्ध रहेको बताए । सरकारले दिगो विकासको अवधारणालाई आत्मसाथ गरेर बजेट ल्याएको उनले दावी गरे । प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँको बजेट सार्वजनिक ल्याएको थियो ।

बजेटमा चालूतर्फ १९ अर्ब २ करोड रुपैयाँ, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड रुपैयाँ, वित्तीय हस्तान्तरण तर्फ ८ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । उक्त बजेटमाथि बिहीबार बसेको पहिलो बैठकमा छलफल भएको थियो । छलफलको क्रममा प्रमुख प्रतिपक्ष, प्रतिपक्ष र सत्तापक्षका सांसदहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसदहरुले प्रदेशको हितका लागि सरकारले काम गर्न नसकेको र बजेटले जनतालाई घात गरेको बताएका थिए । उनीहरुले वर्तमान सरकारले जनतामुखी भन्दा पनि कार्यकर्ता लक्षित र चुनावमूखी बजेट ल्याएको भन्दै बजेट प्रति असन्तुष्टि व्यक्त गरेका थिए ।यस्तै, प्रतिपक्षहरुले सरकारले बजेटमा सिमान्तकृत समुदायका नागरिकको माग सम्बोधन गर्न नसकेको आरोप लगाएका थिए । उनीहरुले बजेटमा ति समुदायको नाम समावेश गरेपनि बारम्बार झुक्याउने काम गरेको बताए । विगतको रवैया अनुसार बजेट आएको भन्दै उनीहरुले योजना छनौट र बजेट विनियोजनको प्रक्रिया बदल्नुपर्नेमा जोड दिए ।

उनीहरुले बजेटले प्राकृतिक विपत्तिलाई न्युनिकरण गर्न सक्नुपर्ने र त्यसका लागि प्राकृतिको स्रोतको दोहन रोक्नतर्फ ध्यान दिन जरुरी रहेको बताएका थिए । त्यस्तै, सत्तापक्षका सांसदहरुले सार्वजनिक बजेट जनताप्रति उत्तरदायी रहेको भन्दै समग्र प्रदेशको विकासमा बजेट फलदायी हुने विश्वास व्यक्त गरे । प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा समाजवाद उमुख अर्थतन्त्रलाई विकास गर्ने योजनाहरु समेटिएको बताउँदै उनीहरुले बजेट कार्यान्वयनमा प्रतिबद्ध भएर उत्पादनमुखी आयात प्रतिस्थापनमा विनियोजित बजेटलाई सफल बनाउन सुझाव व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*