मल कारखाना निर्माण गर्ने तयारी भइरहेको छः मुख्यमन्त्री पाण्डे
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदेश सरकारले मल कारखाना निर्माण गर्ने तयारी गरिरहेको बताएका छन् । ‘माटो जोगाउ’ अभियान समूहले हेटौंडामा आयोजना गरेको माटो जोगाउ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले किसानलाई रासायनिक मलको प्रयोग गरेर उत्पादन गर्नुपर्ने स्थितिलाई हेरेर प्रदेश सरकारले मल कारखाना निर्माण गर्ने तयारी गरिरहेको बताएका हुन् ।
मुख्यमन्त्री पाण्डेले यदि कसैले गड्यौला मल उत्पादन गरेको छ भने प्रदेश सरकारले ५ करोड रुपैयाँसम्मको मल किन्ने समेत बताए । वातावरणलाई जोगाउन रुख, बिरुवा रोप्नुपर्ने उनको भनाई छ । विश्वमा माटोको स्थिति बिग्रँदै गएकोले विस्तारै खाद्य संकट आउनसक्ने र त्यसका लागि विश्वयुद्ध हुन सक्ने भन्दै उनले ‘माटो जोगाउ’ अभियान सबैको अभियान भएकाले आवश्यक सहयोग, सुझाव र समन्वय गर्न प्रदेश सरकार सधै तयार रहको उउनले बताए ।
‘माटो जोगाउ’ अभियानका अभियन्ता नवीन पुन मगरले मानवका विभिन्न क्रियाकलापले अहिले माटो बिग्रँदै गएको बताए । माटो बिग्रँदा भविष्यमा जीवको अस्तित्व नै नरहने पुनले बताए । विश्वका धेरै जमिनहरु मरुभूमिकरण हुँदै गएको र खाद्यवस्तु उत्पादन हुन नसक्ने पुनको भनाइ छ । माटोको संरक्षण गर्न जनचेतनाका कार्यक्रमहरु सबै तहले सञ्चालन गर्नुपर्ने मगरले बताए ।
मगर ‘माटो जोगाउ’ अभियानलाई लिएर २ सय किलोमिटर दूरी पार गर्दै शनिबार हेटौंडामा आइपुगेका हुन् । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन विभाग प्रमुख रामजी गौतमको अध्यक्षता रहेको थियो । हेटौंडामा प्राज्ञिक विद्यार्थी परिषद्ले अभियानलाई सहजीकरण गरेको छ । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, मकवानपुर जिल्ला साईकिलिङ संघका अध्यक्ष संगीत श्रेष्ठको आतिथ्यता रहेको थियो ।