मल कारखानाको सम्भाव्यता अध्ययन गर्ने सम्झौता

साझाकुरा
२०७९ असार ९, बिहीबार १०:०८

हेटौंडा- बागमती प्रदेश सरकारले काठमाडौं विश्वविद्यालयसँग युरिया मल उत्पादन कारखाना स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने सम्झौता गरेको छ ।देशैभरि युरिया मलको अभाव सिर्जना भइरहेका बेलामा प्रदेश सरकारले मल कारखाना स्थापना गर्न आवश्यक सम्भाव्यता अध्ययन गर्ने सम्झौता गरेको हो । बुधबार प्रदेशको कृषि तथा पशुपन्क्षी विकास मन्त्री बसुन्धरा हुमागाईं र विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले सम्झौतामा हस्ताक्षर गरेका छन् । हरित अमोनियाबाट हरित युरिया उत्पादनका लागि सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार गर्न सम्झौता गरिएको मन्त्रालयले जनाएको छ । बागमती सरकारले प्रदेशभित्र तीन वटा मल कारखाना खोल्ने निर्णय यसअघि नै गरिसकेको छ ।

यसबीचमा मन्त्रालयले केयूका पदाधिकारी र प्राविधिकहरूसँग मल उत्पादन कारखाना सञ्चालनका सम्बन्धमा छलफल गरेको थियो । केयूले छलफलका क्रममा नेपालमा हरित अमोनियाबाट हरित युरिया मल उत्पादन गर्न सम्भव रहेको तर सबै सरकारको साथ आवश्यक रहेको औँल्याएको थियो । केयूले नेपालमा पानी प्रशस्त रहेका कारण पर्याप्त विद्युत्को उपलब्धता भएमा हाइड्रोजन प्रविधिबाट मल कारखाना सञ्चालन गर्न सकिने जानकारी प्रदेश सरकारलाई गराएको थियो । काठमाडौं विश्वविद्यालयले दुई वर्षदेखि नेपालमा पहिलोपटक हरित हाइड्रोजन उत्पादन गर्न अध्ययन अनुसन्धान गरिरहेको छ ।

बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई भेटेर गत फागुनमा विश्वविद्यालयका ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. विराज सिंह थापाले हाइड्रोजन प्रविधिबाट मल उत्पादन गर्दा उपयुक्त हुने सुझाव दिएका थिए । प्रदेश सरकारले यसअघि पनि मल कारखाना स्थापनाको लागि पहल गर्दै आएको थियो । मल कारखाना स्थापना गर्नका लागि थाइल्याण्डको नीजि कम्पनीको टोलीले प्रदेशको विभिन्न स्थानको स्थलगत अनुगमनसमेत गरेको थियो ।उक्त कम्पनीले कारखाना स्थापना गर्नको लागि प्रदेश सरकारले निःशुल्क विद्युत उपलब्ध गराउनुपर्ने लगायतको माग गरेको थियो । तर, विभिन्न कारणले उक्त कार्य अगाडि बढ्न नसकेपछि प्रदेश सरकारले आफैंले मल कारखाना स्थापना गर्नको लागि सम्भाव्यता अध्ययन गर्न लागेको हो ।

सरकारले वर्षेनि कृषिमा ठूलो समस्याको जरो गाढेर बसेको मलको अभाव अन्त्य गर्न आफैंले मल उत्पादन कारखाना सञ्चालन गर्न विस्तृतरुपमा सम्भाव्यता अध्ययन गर्न लागेको जनाएको छ । प्रदेशको कृषि तथा पशुपन्क्षी विकास मन्त्री हुमागाईंले वार्षिकरुपमा दुई लाख मेट्रिक टन मल उत्पादन गर्न सक्ने क्षमताको कारखाना स्थापना गर्ने प्रदेश सरकारको तयारी रहेको बताए । मन्त्री हुमागाईंले सरकारले काठमाडौं विश्वविद्यालयसँग भएको सीप, ज्ञान र प्रविधिको प्रयोग गर्दै मलको अभावको अन्त्य गर्ने बाटो खोजेको जिकिर गरे । उनले ६ महिनाभित्र विश्वविद्यालयले मल कारखाना स्थापना सम्भाव्यताको बिस्तृत अध्ययन गरेपछि अर्को वर्षमा कारखाना स्थापनाको काम हुने जानकारी दिए ।
सरकार, नीजि क्षेत्र र नागरिकको पनि लगानीबाट काम गरिने उनको भनाइ छ ।

करिब ५० लाख लाग्ने अनुमान गरिएको सम्भाव्यता अध्ययन गर्न मन्त्रालयले विश्वविद्यालयलाई चालू आर्थिक वर्षमा २० लाख दिने सम्झौता गरेको मन्त्री हुमागाईंको भनाइ छ ।बाँकी ३० लाख रुपैयाँ विश्वविद्यालयलाई प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटबाट उपलब्ध गराउनेछ । उपकुलपति थापाले विद्युतबाट रासायनिक मल उत्पादन गर्न नेपालमा नै पहिलोपटक बागमती प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्न लागेको बताए । थापाले जलविद्युतबाट मल उत्पादन गरेर देशलाई आर्थिक समृद्विको बाटोमा लैजान सक्ने बताए । उनले अध्ययन गरेर प्रतिवेदन थन्क्याएर राख्न नहुने भन्दै नेपालमा कुनैपनि हालतमा मल उत्पादन गर्ने कारखाना स्थापना गर्नुपर्नेमा जोड दिए । विश्वविद्यालयको ग्रिन हाइड्रोजन ग्यासको प्रमुख प्राध्यापक डा. विराजसिंह थापाले नेपालमा १९६२ सालदेखि युरिया मल उत्पादन गर्ने कारखाना स्थापनाको बहस चलेपनि स्थापना हुन नसकेको बताए ।

उनले नेपालमा पहिलोपटक बागमती प्रदेश सरकारले मल उत्पादन कारखाना स्थापना गर्न सम्भाव्यता अध्ययन गर्न लागेको भन्दै ६ महिनामा अध्ययन प्रतिवेदन तयार हुने बताए । उनले प्रारम्भिक अनुमान गर्दा कारखाना स्थापना गर्न ६० देखि ८० अर्ब सम्म लाग्न सक्ने जानकारी दिए । थापाले नेपालमा खेर गइरहेको पानी र सिमेन्ट उद्योगहरुबाट निस्किने धुलोको प्रयोगमा मल उत्पादन गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*