भलिबल संघमा ‘बिद्रोह’पछि सिटौला बने अध्यक्ष

साझाकुरा
२०७९ असार ९, बिहीबार ११:११

हेटौंडा- मकवानपुर जिल्ला भलिबल संघको अध्यक्षमा बसन्तकुमार सिटौला चयन भएका छन् । बुधबार हेटौंडामा भएको संघको पाँचौ अधिवेशनले सिटौलालाई अध्यक्षमा चुनेको हो ।सिटौलाको नेतृत्वमा संघको १३ सदस्यीय नर्या कार्यसमिति चयन भएको छ । संघमा उपाध्यक्ष ईन्द्रप्रसाद सञ्जेल र चुडा खड्का, महासचिवमा सन्तोष श्रेष्ठ र कोषाध्यक्षमा शंकर कार्की चयन भएका छन् । सदस्यहरुमा मनोज लामा वाईबा, ईन्द्र बज्राचार्य, कमल बिडारी, सजिता पोखरेल, सिशम माझी, राजु घले र रञ्जन अमात्य चयन भएका हुन् । सदस्यमा पछि २ जना थप गरिने संघका अध्यक्ष सिटौलाले जानकारी दिए ।

संघका अध्यक्ष बिन्द्रलाल श्रेष्ठको सभाध्यक्षता तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । जिल्ला भलिबल संघमा सिटौलाको नेतृत्व र यसअघि संघको सदस्यता नै नपाएका तर, भलिवलमा ठूलो योगदान पु¥याएकाहरु कार्यसमितिमा चयन हुनुलाई ‘बिद्रोह’का रुपमा होरिएको छ । भलिबल संघमा निवर्तमान अध्यक्ष श्रेष्ठले दुई कार्यकालभन्दा बढी समय नेतृत्व गरेका थिए । श्रेष्ठ र उनको कार्यसमितिले भलिबल संघ निश्क्रिय भएको भन्दै युवा खेलाडी, प्रशिक्षक तथा अम्पायरहरुले आलोचना गर्दै आएका थिए ।

संघले बुधबार भएको अधिवेशनअघि पुरानो सदस्यता नवीकरणका लागिमात्रै एक पत्रिकामार्फत् सूचना जारी गरेका थिए । नवीकरणका लागि सूचना आएपनि नयाँ सदस्यता नखुलाएको भन्दै युवा खेलाडी, प्रशिक्षक र अम्पायरहरु भित्रभित्रै मुरमुरिएका थिए । उक्त सूचना पनि संघको नेतृत्वले गोप्यरुपमा निकालेको आरोप लागेको थियो । ‘भलिबल संघमा वर्षौदेखि पुराना मान्छेहरुले हक जमाएर बस्नु भएको थियो । संघमा युवाहरुलाई प्रवेशमा अघोषित निषेध जस्तै थियो । जब की भलिवलमा ठूलो योगदान पु¥याएकाहरु नै बाहिर थिए’, नयाँ सदस्यता नखुलाएको झोँकमा नाम नलेख्ने सर्तसहित पूर्वखेलाडीले साझाकुरासँग भने ।

‘संघमा फेरि पुरानाहरुले हक जमाउने कुरो थियो । हाम्रो बिद्रोहले युवाहरुलाई संघमा लैजान सफल भएका छौं’, उनले थपे । उनीहरुले सिटौलालाई अध्यक्ष बनाउने गरी पूर्वतयारी नै गरेका थिए । तयारीअनुसार सिटौला नै अध्यक्ष भएको स्रोतको दाबी छ । संघमा पछिल्लो समय जिल्लाको भलिबल विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरेका रञ्जन अमात्य, सन्तोष श्रेष्ठ, चुडा खड्का, शंकर कार्की, मनोज लामालगायतको उदय भएको छ । जसमध्ये श्रेष्ठ र खड्काबाहेक अन्य तीन जना संघको सदस्यसमेत थिएनन् । भलिबलको उर्वर भूमि पालुङसहित उत्तरी क्षेत्रमा अमात्य र कार्कीको भलिबल विकासका लागि प्रशंसा योग्य योगदान छ । अमात्य पूर्वराष्ट्रिय खेलाडीसमेत हुन् । हेटौंडामा श्रेष्ठ र लामाले भलिबल क्षेत्रको विकासमा काम गर्दै आएका छन् ।

अधिवेशनअघि साझाकुरासँग कुरा गर्दै संघका निवर्तमान अध्यक्ष श्रेष्ठले आफू पुनः संघको नेतृत्वमा दोहोरिन नचाएको बताएका थिए । अधिवेशन नजिकिएका कारण नयाँ सदस्यता नखुलाएको पनि श्रेष्ठले बताएका थिए । ‘हामीले नवीकरणका लागि मात्रै सूचना जारी गरेका हौं । अधिवेशनका कारण समय नभएकोले सदस्यता नखोलिएको हो । नयाँ सदस्य दिइहाले पनि निर्वाचनमा भाग लिन पाउँदैनन्’, उनले भनेका थिए । सदस्यता नभएका तर, भलिबल विकासमा योगदान पु¥याएकाहरु कार्यसमितिमा पुगेपछि युवाहरुको ‘बिद्रोह’ले सफलता हात पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*