हेटौंडाको बजेट दुई अर्ब ७१ करोड ७९ लाख

पूर्वाधार, खेल र कृषि प्राथमिकतामा
साझाकुरा
२०७९ असार १३, सोमबार ०८:५१

हेटौंडा, १२ असार÷ हेटौंडा उपमहानगरपालिका नगरसभाको एघारौं अधिवेशनअन्तर्गत् दोस्रो बैठक आइतबार बसेको छ ।अधिवेशनमा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले २०७९÷८० का लागि कूल दुई अर्ब ७१ करोड ७९ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।आगामी आर्थिक वर्षको बजेटमा हेटौंडा उपमहानगरपालिकाले सबैभन्दा धेरै पूर्वाधार विकासमा बजेट विनियोजन गरेको छ । पूर्वाधार विकासतर्फ कूल एक अर्ब आठ करोड ४२ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ । आर्थिक विकास क्षेत्रभित्रका समग्र योजनाका लागि १९ करोड ६९ लाख रुपैयाँ, सामाजिक विकासतर्फ ८३ करोड ६७ लाख १७ हजार रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनमा समितितर्फ १२ करोड ६ लाख ८० हजार रुपैयाँ, सुशासन तथा संस्थागत विकासतर्फ ७ करोड ३३ लाख ५० हजार रुपैयाँ, अन्य विविध कोषहरूमा ९९ लाख रुपैयाँ र बागमती प्रदेश सरकारबाट हस्तान्तरित आयोजनाहरुमा ६ करोड ३ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

नगरसभामा हेटौंडा उपमहानगरपालिकाका उपमेयर बानियाँले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । उपमहानगरपालिकाले बजेटमा खेल क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएको छ । उपमहानगरले खेल क्षेत्रका लागि तीन करोड ७३ लाख रुपैयाँ विनियोजन गरेको छ । उपमेयर बानियाँका अनुसार हेटौंडा–५ स्थित क्याम्पा रंगशाला निर्माणका लागि २५ लाख रुपैयाँ, नगरमा थप एक मिनि रंगशाला तथा फुटसल निर्माणका लागि ८० लाख रुपैयाँ, स्थानीय तह गोल्डकपका लागि २५ लाख र फुटबलको नियमित प्रशिक्षण र एकेडेमीका लागि ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपमेयर बानियाँले सीमान्तकृत तथा गरिब एक हजार पाँचसय ४१ घरपरिवारको स्वास्थ्य बिमाका लागि ५३ लाख रुपैयाँ विनियोजन  गरिएको जानकारी दिए । चुनावमा घोषणा गरेअनुसार खानेपानी र विद्युत पनि निःशुल्क उपलब्ध गराइने पनि बताइएको छ । आर्थिक विपन्नता भएका ५ जनालाई प्रत्येक वर्ष मेयर छात्रवृत्ति कार्यक्रमअन्तर्गत् एमबीबीएस अध्ययन गर्न वार्षिक छात्रवृत्ति उपलब्ध गराइने बजेटमा उल्लेख छ । उपमहानगरले हेटौंडा–१० स्थित एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि १५ करोड रुपैयाँ, हेटौंडा–४, बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माणका लागि ५ करोड रुपैयाँ, बृहत्तर चक्रपथ निर्माण गर्न ३ करोड रुपैयाँ, वडा तथा बस्तीस्तरीय पूर्वाधार निर्माण गर्न ३८ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

हेटौंडा–११ मा निर्माणाधीन प्रादेशिक थोक फलफूल तथा तरकारी बजार केन्द्रका लागि ३ करोड रुपैयाँ, पर्यटकीय पूर्वाधार योजना निर्माण गर्न ४ करोड १७ लाख रुपैयाँ, विद्यार्थी दिवा खाजा कार्यक्रमका लागि ३ करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।उपमहानगरपालिकाले तामाङ संग्राहलय स्थापना गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमेयर बानियाँले जनसांख्यिक बाहुल्यताका आधारमा तामाङ जातिको भेषभूषा, कला, संस्कृतिलगायत मौलिक पहिचानको संरक्षण तथा प्रबद्र्धन गर्न उक्त बजेट विनियोजन गरेको उपमेयर बानियाँले बताए ।

यस्तै, उपमहानगरपालिकले मकवानपुरगढी गाउँपालिकास्थित ऐतिहासिक मकवानपुरगढी दरबार परिसरमा राष्ट्र निर्माता स्वर्गीय राजा पृथ्वीनारायण शाह र तत्कालीन मकवानपुर राज्यको सेनापति कनकसिं बानियाँको प्रतिमा राख्ने भएको छ । उपमहानगरपालिकाले परियोजना बैंकको लागि बजेट विनियोजन गरेको छ । परियोजना बैंक निर्माणको लागि १ करोड ४५ लाख बजेट विनियोजन गरेको उपमेयर बानियाँले जानकारी दिए । उपमहानगरपलिकाले नगरको बृहत्तर विकासमा महत्व राख्ने ठूला आयोजनाहरुको सम्भाव्यता अध्ययन, डिजाइन, ड्रइङ, अनुसन्धान तथा परामर्श एवम् आवधिक योजना निर्माण गर्न परियोजना बैंक निर्माण गर्न लागेको बताए ।
उपमहानगरपालिकाले कृषि उपज व्यवसाय बाहेक फुटपाथ, साईकल, ठेला तथा घुम्ती व्यवसायहरुलाई करको दायरामा ल्याउने भएको छ । यसैगरी, व्यवसाय दर्ता नगरी व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुलाई अनिवार्य व्यवसाय दर्ता गराइ करको दायरामा ल्याइने बताए ।

नगरसभामा नेकपा एमालेबाट निर्वाचित सदस्यहरुले उपमहानगरको केही ऐन नियमावल परिवर्तनको माग गर्दै शुक्रबारका लागि तय गरिएको नगरसभामा उपस्थिति नजनाएपछि नगरसभाको एघारौं अधिवेशनको दोस्रो बैठक आइतबारको लागि बोलाइएको थियो ।नीति, कार्यक्रम र बजेट प्रस्तुतिपछि छलफल गरी पारित गर्ने, विषयगत समितिहरू सहमतिमा गठन गर्ने र नियमावली परिवर्तनका लागि नेकपा एमालेले राखेको मागको विषयमा उपयुक्त समयमा छलफल गर्ने गरी मौखिक सहमति भएपश्चात् अधिवेशनमा एमाले उपस्थित भएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*