साउन ६ र ७ गते प्रेस युनियनको महाधिवेशन हेटौंडामा हुने

साझाकुरा
२०७९ असार १७, शुक्रबार ०९:१९

हेटौंडा- नेपाल प्रेस युनियनको ९ औ राष्ट्रिय महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौंडामा हुने भएको छ ।बिहीबार पत्रकार सम्मेलन गर्दै युनियनले साउनको ६ र ७ गते आफ्नो ९ औ राष्ट्रिय महाधिवेशन हेटौंडामा हुने जनाएको हो । महाधिवेशनको साउन ६ गते प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको युनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देलले जानकारी दिए ।बिहीबार रिगल हेटौंडा रिसोर्टमा महाधिवेशन तयारीको लागि सचिवालयसमेत स्थापना गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सचिवालयको उद्घाटन गरेका हुन् । सचिवालय उद्घाटन गर्दै बानियाँले युनियनको महाधिवेशन सम्पन्न गर्न पार्टीले सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए । मुलुकमा लोकतन्त्र र प्रजातन्त्रको रक्षा गर्न पत्रकारको अहम् भूमिका हुने भन्दै बानियाँले पत्रकारले सत्य र तथ्यमा आधारित भई सत्य सामाग्री प्रवाह गर्नुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले युनियनको महाधिवेशनको तयारी तीव्र पारिएको भन्दै साउन पहिलो साता युनियनका देशभरका करिब १ हजार पाँच सय प्रतिनिधि र अतिथिहरुको सहभागितामा महाधिवेशन भव्य रुपमा सम्पन्न गर्ने बताए । महाधिवेशनको तयारीका लागि केन्द्रीय तथा स्थानीय समितिहरु गठन भइसकेको पनि उनले बताए । विविध कारणले यसअघि युनियनको महाधिवेशन सर्दै आएकोमा यस पटक भने जस्तोसुकै कठिन परिस्थितिका बाबजुत पनि महाधिवेशन सम्पन्न गर्ने उनले प्रतिवद्धता जनाए ।

महाधिवेशनले युनियनको नयाँ कार्यसमितिसमेत चुन्ने छ । महाधिवेशन सम्पन्न गर्नको लागि युनियनले केन्द्रीय सदस्य एवम् बागमती प्रदेश संयोजक राममणि दाहालको संयोजकत्वमा स्थानीय समन्वय समिति गठन गरेको छ । जसको सहसंयोजकमा केन्द्रीय सदस्य गिरिजा अधिकारी रहेका छन् । आवास व्यवस्थापन समिति संयोजकको जिम्मा रुपेश दुलाललाई दिइएको छ भने भोजन व्यवस्थापनमा सुजन विडारीलाई संयोजक तोकिएको छ । पोष्टराज अधिकारी कुमारको संयोजकत्वमा सचिवालय व्यवस्थापन हुनेछ भने प्रचार प्रसारको जिम्मा केशव समर्पणलाई दिइएको छ ।

अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । स्वागत सत्कार समिति संयोजकमा उपाध्यक्ष ईश्वरी ओझा रहेका छन् । विधान मस्यौदा संशोधन समितिको संयोजक वरिष्ठ उपाध्यक्ष दीपक आचार्य रहेका छन् भने प्रतिनिधि व्यवस्थापनको जिम्मा कार्यबहाक महासचिव भिष्मराज ओझालाई दिइएको छ । कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ भने तेज रावलको अध्यक्षमा निर्वाचन समिति गठन गरिसकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*