बानियाँ बागमतीको मुख्यमन्त्रीमा लगभग पक्का

साझाकुरा
२०७९ असार १८, शनिबार १२:२२

हेटौंडा-राजनीति वृतमा बागमती प्रदेश सरकार परिवर्तनको विषय चर्चामा छ । गठबन्धनभित्र नेकपा (एकीकृत समाजवादी) नेतृत्वको सरकार परिवर्तन गर्न कांग्रेसले दबाब बढाइरहेको छ । बागमतीमा करिब साढे ३ महिने लामो तत्कालीन नेकपा एमाले सरकार बहिर्गमन भएसँगै एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको गठबन्धन सरकार ११ कार्तिकमा बनेको थियो । गठबन्धनको नेतृत्व गर्दै एकीकृत समाजवादीबाट राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बनेका थिए । उनले मुख्यमन्त्री बन्नुअघि कांग्रेससँग आधा–आधा कार्यकाल सरकार चलाउने गरेको सहमतिले उनलाई अप्ठेरो बनाइरहेको छ । सहमति गरेका पाण्डे नै केन्द्रीय गठबन्धनको आधारमा मात्रै

सरकार परिवर्तन हुने धारणा दिँदै आएका छन् । तर, कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भने सहमतिअनुसार सरकार छोड्नु पर्ने दबाब दिइरहेका छन् ।
नेता बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री बन्ने लगभग पक्का जस्तै भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे सरकारको नेतृत्व छाड्न सकारात्मक भएसँगै बानियाँ मुख्यमन्त्री बन्ने भएका हुन् । पाण्डेलाई आफ्नै पार्टीभित्र मुख्यमन्त्रीबाट राजिनामा दिनुपर्ने दबाब आएको जनाइएको छ । हेटौंडामा केही दिनअघि बसेको दलको बैठकमा पनि गठबन्धनभित्र भएको सहमति कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने धारणा सांसदले राखेको जनाइएको छ । सहमति कार्यान्वयन गरेर गठबन्धनलाई सहजसँग लैजानु पर्ने सांसदहरुले बताएका हुन् । पाण्डेलाई सहमतिअनुसार अघि बढ्न उनीहरुले सुझाएको बुझिएको छ ।

एकीकृत समाजवादीको संसदीय दलका उपनेतासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनालले पार्टी अध्यक्षको निर्देशनअनुसार आफूहरुले निर्णय गर्ने बताए । पाण्डेले आज शनिवार बिहान काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदेश संसदीय दलको बैठक आह्वान गरेका छन् ।सम्भवतः उनले बागमतीको मुख्यमन्त्रीबाट राजिनामा दिने वा नदिने विषय टुंगो लाग्ने एक सांसदले जानकारी दिए । मुख्यमन्त्री पाण्डेविरुद्व गठबन्धनकै सारथी माओवादी र कांग्रेसका सांसदहरुले नयाँ सरकार गठनका लागि हस्ताक्षर संकलन गरेपछि उनी दबाबमा परेका थिए । केन्द्रीय गठबन्धनमा राजनीतिक परिस्थति फेरबदल नभए र अन्य प्रदेशमा सरकार परिवर्तन नभएको अवस्थामा बानियाँ बागमतीको चौथो मुख्यमन्त्री बन्ने निश्चित जस्तै बनेको जनाइएको छ ।

एकीकृत समाजवादीका एक सांसदका अनुसार पाण्डेले सम्भवत आज अथवा निश्चित दिनभित्रै मुख्यमन्त्रीबाट राजिनामा दिनेछन् । माओवादी र कांग्रेसले सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने तयारीसमेत गरेपछि उनी थप दबाबमा परेका थिए । सरकार छाड्नैपर्ने दबाबमा परेपछि सरकार परिवर्तनको विषयमा छलफल गर्न दलको बैठक बोलाइएको हो । सरकारको विषयमा दलको बैठकमै छलफल हुने एकीकृत समाजवादीकी सचेतक मुनु सिग्देलले जानकारी दिइन् । ‘सरकार फेरबदलको विषयमा छलफल हुनेछ, अब बन्ने सरकारमा हाम्रो कतिजना मन्त्री रहने भन्ने बारेमा छलफल हुन बाँकी छ,’ सिग्देलले भनिन् ।

उनको भनाईले पनि पाण्डेले मुख्यमन्त्री छोड्ने तयारी गरिरहेको र गठबन्धनभित्र मन्त्रीको भागबण्डा बारे कुरा नटुंगिएको प्रष्ट हुन्छ । वर्तमान सरकारमा एकीकृत समाजवादीका चारजना मन्त्री छन् । जसमध्ये दोस्रो बरियताको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उर्जा तथा जलस्रोत मन्त्रालय एकीकृत समाजवादीले पाएको थियो ।

पाण्डेको नेतृत्वमा सरकार गठन गर्दा समाजवादी, कांग्रेस र माओवादीबीच सरकार ६÷६ महिना नेतृत्व गर्ने भद्र सहमति भएको थियो । सहमति कार्यान्वयन गर्न पाण्डे अनिच्छुक देखिएपछि कांग्रेसले सहमति पत्र सार्वजनिक गर्दै दबाब बढाएको थियो । मुख्यमन्त्री पाण्डेलाई तत्कालिन समयमा बागमती प्रदेशका कुल १०९ जना सांसदमध्ये ५९ सांसदको समर्थन थियो ।

हाल कुल सांसद संख्या १ सय ७ छ । बागमतीमा सरकार निर्माण गर्न ५४ जना सांसदसहित बहुमत संख्या हुनुपर्दछ । प्रदेशसभामा माओवादी २३, नेपाली कांग्रेस २२, एकीकृत समाजवादी १३ र जसपाको एकसहित ५९ सांसद छन् । प्रमुख प्रतिपक्षी एमालेसँग ४१, विवेकशील दलसँग ३, राप्रपा र नेमकिपाका २÷२ सांसद छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*