कैलाशले ल्यायो ५१ करोडको बजेट, तीन पालिकाको तयारी तीव्र

साझाकुरा
२०७९ असार २३, बिहीबार ११:२०

हेटौंडा- मकवानपुरका १० वटा स्थानीय तहमध्ये पाँच वटा पालिकाले १० असारमै आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट ल्याइसकेका छन् । हेटौंडा उपमहानगरपालिकाले १३ असारमा बजेट ल्यायो । तर, बाँकी चार पालिकाले आगामी आवका लागि बजेट ल्याएका थिएनन् । जसमध्ये विकट कैलाश गाउँपालिकाले बुधवार बजेट ल्याएको छ ।१० असारमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको कैलाश गाउँपालिकाले बुधवार बसेको दशौं गाउँसभाले ५१ करोड १५ लाख ९८ हजारको बजेट ल्याएको हो । बजेट सर्वसम्मतीले पारितपनि भएको छ ।

गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा दिएर बजेट प्रस्तुत गरेका हुन् । कैलाशले कृषि, स्वास्थ्य, पर्यटन, विद्युत, ऊर्जा, शिक्षा, खानेपानी तथा सरसफाई, युवा, खेलकुद, भाषा, संस्कृति, सहकारी क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको हो ।भौतिक एवं सामाजिक पूर्वाधारलाई बजेटमा प्राथमिकता दिँदै कैलाशबासीको जीवनयापनमा सहजीकरण गर्ने, कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकिकरण गर्ने, सीपयुक्त मानव विकासमा जोड दिने, जनसहभागिता र पारदर्शिता कायम गरि सुशासन प्रबद्र्धन गर्ने जस्ता कार्यक्रम तय गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।

गाउँपालिकाले सडक पूर्वाधारतर्फ ८ करोड ५४ लाख ७७ हजार, भवन पूर्वाधारतर्फ १ करोड १२ लाख ५० हजार, विद्युत पूर्वाधारको निर्माण गर्न ५० लाख, सिंचाई क्षेत्रको लागि १० करोड ५३ लाख २६ हजार ५ सय बजेट बिनियोजन भएको छ ।गाउँपालिकाले शिक्षातर्फ ९४ लाख २२ हजार रुपैंया बजेट विनियोजन गरेको छ । सामाजिक विकासतर्फ ३४ लाख ६५ हजार, क्षमता अभिवृद्धि, नेतृत्व विकास र शसक्तिकरणका लागि ८ लाख, खेलकुद पूर्वाधारमा २५ लाख बजेट छुट्याइएको अध्यक्ष मोक्तानले बताए । एक घर एक धारा कार्यक्रम र सुख्खा क्षेत्र खानेपानी योजनाका लागि २९ लाख ५० हजार, प्रथा, परम्परा, संस्कृति सम्पदा, संग्रहालयलगायतको विकास र विस्तारका लागि ११ लाख रुपैंया बजेट विनियोजन गरिएको छ । कृषि र पशुपन्छी क्षेत्रमा ५५ लाख, पर्यटन विकास तथा प्रबद्र्धनतर्फ ३८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
अब मकवानपुरमा मनहरी, बकैया र इन्द्रसरोबर गाउँपालिकाले बजेट ल्याउन बाँकी छ । यसअघि जिल्लाका हेटौंडा उपमहानगर र थाहा नगरपालिकासहित मकवानपुरगढी, बागमती, भीमफेदी गाउँपालिकाले बजेट ल्याइसकेका छन् ।

बकैया गाउँपालिकाले २४ असारमा बजेट ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए । बकैयाले १० असारमा नीति तथा कार्यक्रम ल्याइसकेको छ । बकैयाले भौतिक पूर्वाधार विकाससँगै भूमिहीन नागरिकलाई भूमि र लालपूर्जा दिनेदेखि कृषि तथा पशुपालन, पर्यटन, खेलकुदलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकामा करिब ६० प्रतिशत घरधुरीसँग आफ्नो जग्गा प्रमाण पुर्जा प्राप्त नभएको, नापनक्सा समेत नभएको, ऐलानी जग्गा भएको र त्यस्ता जग्गाको तथ्यांक संकलनसमेत भइसकेकोले लालपूर्जा दिन बजेटमार्फत कार्य अगाडि बढाइने कार्यक्रममा उल्लेख छ ।

इन्द्रसरोबर गाउँपालिकाले २५ असारमा बजेट ल्याउने तयारी गरेको अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए । उनका अनुसार इन्द्रसरोबरले ४३ करोड हाराहारीको बजेट ल्याउन लागेको हो । यसैगरी, मनहरी गाउँपालिकाले पनि बजेटको तयारी गरिरहेको छ ।तर, तयारी र बजेटको सम्बन्धमा सम्पर्क गर्न खोज्दा अध्यक्ष रञ्जन कालाखेतीले अस्वीकार गरिदिए । काननुतः २५ असारभित्र बजेट ल्याइसक्नु पर्ने प्रावधान रहेकाले मनहरीले पनि बजेट ल्याउने तयारी गरिरहेको हो । मनहरी जिल्लाका ८ वटा गाउँपालिकामध्ये सबैभन्दा ठूलो आन्तरिक स्रोत भएको स्थानीय तह हो ।

यसअघि थाहा नगरपालिकाले आगामी आवका लागि १ अर्ब ८ करोड ८४ लाख ७ हजारको अनुमानित आयव्यय सार्वजनिक गरेको थियो । मकवानपुरगढी गाउँपालिकाले आगामी आवका लागि ६७ करोड ४४ लाख १२ हजार बराबर बजेट प्रस्तुत गरेको छ । भीमफेदी गाउँपालिकाले करिब ७० करोडको बजेट ल्याएको हो । जिल्लाको विकट राक्सिराङ गाउँपालिकाले ६२ करोड ३४ लाखको बजेट सार्वजनिक गरेको थियो । बागमती गाउँपालिकाले ६३ करोड १९ लाख १८ हजार बजेट ल्याएको गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए । सबै स्थानीय तहको प्रमुख प्राथमिकता पूर्वाधार विकास नै रहेको छ । बितेका पाँच वर्षमा पनि पालिकाहरुले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*