मनहरीको बजेट ९१ करोड, बकैयाले आज ल्याउँदै

साझाकुरा
२०७९ असार २४, शुक्रबार १०:२३

हेटौंडा- मकवानपुरका आठ वटा गाउँपालिकामध्ये सबैभन्दा ठूलो आन्तरिक स्रोत भएको मनहरी गाउँपालिकाले ९१ करोड ८ लाख रुपैयाँको बजेट ल्याएको छ । १० असारमा नीति तथा कार्यक्रम ल्याएको मनहरीले बिहीबार एघारौ गाउँसभाबाट आर्थिक वर्ष २०७९÷०८० का लागि ९१ करोड ८ लाख २६ हजारको अनुमानित आयव्यय प्रस्तुत गरेको हो । बजेटमा पूर्वाधार विकासलाई बढी प्राथमिकता दिइएको छ । राप्ति खोलाले दुई भागमा विभाजित मनहरीमा चालू आर्थिक वर्षदेखि पाँच ठूला पक्की पुल निर्माण भइरहेका छन् ।

गाउँपालिकाले गाउँबासीको जीवनस्तरमा सहज ल्याउन उक्त पुललाई प्राथमिकताका साथ निर्माण गर्न बजेट बिनियोजन गरेका छन् । पक्की पुलसँगै सडक निर्माणलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । गाउँपालिकाले सबैभन्दा बढी पूर्वाधार विकासतर्फ ३८ करोड ९६ लाख ६० हजार बजेट विनियोजन गरेको हो । सामाजिक विकासतर्फ ३१ करोड ४५ लाख ७५ हजार, आर्थिक विकासतर्फ ४ करोड ४७ लाख, सुशासन तथा संस्थागत विकासतर्फ २ करोड २० लाख ६२ हजार विनियोजन भएको छ ।

पालिकाले वन, वातावरण तथा विपद व्यवस्थापनका लागि ७५ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १३ करोड २३ लाख २९ हजार विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष सिता पुलामी मगरले जानकारी दिइन् । गाउँपालिको आन्तरिक आय स्रोतबाट कुल बजेटको ३५.०२ प्रतिशत अर्थात ३१ करोड ९० लाख ५० हजार बजेट बिनियोजन गरेको छ । संघीय सरकारको वित्तिय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त र विशेष गरी ४८ करोड ९४ लाख २८ हजार, प्रदेश सरकारको समानीकरण अनुदान, सवारी कर बाँडफाड, सशर्त, समपुरक र विशेष गरी ९ करोड ८३ लाख ४८ हजार र जिल्ला समन्वय समितिबाट १५ लाख गरी कुल ९१ करोड ८ लाख २६ हजारको बजेट विनियोजन गरिएको उपाध्यक्ष मगरले जानकारी दिएकी छन् ।

सुशासन तथा संस्थागत विकासतर्फ २ दशमलव ४३ प्रतिशत अर्थात २ करोड २० लाख ६२ हजार बजेट विनियोजन गरिएको छ । अािर्थक विकासतर्फ ४ करोड ४७ लाख, सामाजिक विकास तर्फ ३१ करोड ४५ लाख ७५ हजार, पूर्वाधार विकास तर्फ ३८ करोड ९६ लाख ६० हजार, वन, वावतावरण तथा विपद व्यवस्थापन तर्फ ७५ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १३ करोड २३ लाख २९ हजार रकम विनियोजन गरिएको हो । पालिकाले शिक्षा क्षेत्रमा ४ करोड १८ लाख ४७ हजार र स्वास्थ्य क्षेत्रमा ३ करोड ४२ लाख रकम विनियोजन गरेको छ ।

गाउँपालिकाले जनतासँग अध्यक्ष÷उपाध्यक्ष विकास कार्यक्रम सञ्चालन गर्न बजेट बिनियोजन गरेको छ । उक्त कार्यक्रमका लागि २ करोड बजेट बिनियोजन गरिएको हो । गाउँपालिका भित्रका नागरिकको मागअनुसार साना विकास योजना तथा कार्यक्रमहरु सञ्चालनका लागि उक्त कार्यक्रम सञ्चालन गाउँपालिका अध्यक्ष कालाखेतीले बताए । जनताका प्रत्यक्ष सरोकारका विषयलाई योजनामा समेट्ने गरी उक्त कार्यक्रम ल्याइएको उनको भनाई छ ।

गाउँपालिकाले ‘विपन्न विद्यार्थीसँग विश्वेश्वर सहायता कोष’ स्थापना गर्ने नीति, कार्यक्रमबाट घोषणा गरिएको थियो । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले सामुदायिक विद्यालयमा अध्ययनरत् गरिव विद्यार्थीहरुका लागि सहायता कोष स्थापना तथा सञ्चालन गरिने बताए । गरिब तथा विपन्न विद्यार्थीलाई १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था मिलाउन कोषबाट सहयोग गरिने जनाइएको छ । नीति कार्यक्रममा पालिका स्तरीय शिक्षा समितिलाई सक्रिय बनाएर शिक्षाका नीति तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन र अनुगमन गर्दै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको प्रत्याभूति दिलाउने जनाइएको छ । गाउँपालिकालाई विपन्न विद्यार्थीमात्र नभई १२ कक्षासम्मको पठनपाठनमा सबै विद्यार्थीहरुलाई निःशुल्क शिक्षा दिने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

यसैगरी, बकैया गाउँपालिकाले आज शुक्रबार आगामी आवका लागि बजेट ल्याउँदै छ । गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेका अनुसार बकैयाले १० असारमा नीति तथा कार्यक्रम ल्याएको थियो ।बकैयाले भौतिक पूर्वाधार विकाससँगै भूमिहीन नागरिकलाई भूमि र लालपूर्जा दिनेदेखि कृषि तथा पशुपालन, पर्यटन, खेलकुदलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको अध्यक्ष लामिछानेले बताए । गाउँपालिकामा करिब ६० प्रतिशत घरधुरीसँग आफ्नो जग्गा प्रमाण पुर्जा प्राप्त नभएको, नापनक्सा समेत नभएको, ऐलानी जग्गा भएको र त्यस्ता जग्गाको तथ्यांक संकलनसमेत भइसकेकोले लालपूर्जा दिन बजेटमार्फत कार्य अगाडि बढाइने कार्यक्रममा उल्लेख छ ।

बजेट ल्याउन बाँकी इन्द्रसरोबर गाउँपालिकाले भोली शनिवार करिब ४१ करोड बराबरको बजेट ल्याउने तयारी गरेको अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए । बकैया र इन्द्रसरोबर बाहेक हालसम्म मकवानपुरका ८ वटा स्थानीय तहले बजेट ल्याइसकेका छन् । हेटौंडा उपमहानगरपालिकाले १३ असारमा नीति, कार्यक्रम र बजेट एकैसाथ प्रस्तुत गरेको थियो । १० असारमा नीति, कार्यक्रमसँगै थाहा नगरपालिका, मकवानपुरगढी, बागमती, राक्सिराङ र भीमफेदी गाउँपालिकाले बजेट ल्याएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*