दायित्व सरेपछि तीन करोड बढी बजेट पारित

साझाकुरा
२०७९ असार २८, मंगलवार ०९:५६

हेटौंडा-मकवानपुरगढी गाउँपालिकाले १० असारमा ल्याएको बजेटभन्दा झण्डै तीन करोड बढाएर आगामी आव २०७९÷०८० का लागि नयाँ बजेट सर्वसम्मतीले पारित गरेको छ ।गाउँपालिकामा सोमबार भएको दोस्रो गाउँसभाबाट आगामी आवका लागि ७० करोड ७७ लाख ६७ हजार बजेट पारित भएको छ । गाउँपालिकाले १० असारमा ६७ करोड ४४ लाख २२ हजारको अनुमानित आयव्यय सार्वजनिक गरेको थियो ।तर, चालू आवमा आन्तरिक स्रोतमा रकम नहुँदा सम्पन्न विकास योजनालगायतका कार्यमा भुक्तानी दिन नसकेपछि गाउँपालिकालाई अनुमानित ७ करोड रकम दायित्व गरेको थियो । दायित्व रकम सरेपछि गाउँसभाले गाउँपालिकाले ३ करोड ३३ लाख ४५ हजार रकम बढाएर नयाँ बजेट पारित गरेको छ ।

गाउँपालिकाको आन्तरिक स्रोत रितिँदा सम्पन्न योजनाको भुक्तानी दिन नसकेको हो । गाउँपालिकाभित्र सञ्चालित पाँच वटा क्रसरले बक्यौता रकम नतिरेपछि आन्तरिक स्रोत रित्तिएको थियो । नदीजन्य पदार्थ संकलन गरेको बक्यौता रकम नबुझाएकै कारण गाउँपालिकाले गत शनिवार क्रसर उद्योगहरुमा ताला लगाएको थियो । क्रसरहरुले यसअघि गाउँपालिकासँग लिखित सहमति गरेर बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाएका थिए ।भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाको देस्रो गाउँ सभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । वडागत योजनाहरुमा ८ करोड २४ लाख, योजना तथा कार्यक्रममा ५ करोड ४९ लाख ५० हजार, शिक्षा क्षेत्रमा १ करोड ९० लाख, कृषि विकास क्षेत्रमा ८० लाख, पशुपन्छी क्षेत्रमा ८० लाख, शिक्षा क्षेत्रमा १ करोड ९० लाख र स्वास्थ्य क्षेत्रमा ५५ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिनले जानकारी दिइन् ।

चालु आवको आगामी आवमा सर्ने अनुमानित दायित्व रकम ७ करोड, संघीय समपुरक अनुदान वापत ५ करोड ३० लाख, प्रदेश सशर्त र विशेष अनुदान वापत ३ करोड ४९ लाख ३८ हजार रुपैंया र प्रदेश समपुरक योजना वापत ३ करोड प्राप्त हुने उनले बताइन् । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा भएको गाउँसभामा प्रस्तुत बजेट पास भएसँगै अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पनि पास गरिएको छ । विनियोजन विधेयक प्रस्तावलाई कार्यान्वयन गर्न बनेको कानुनको सम्बन्धमा सम्बोधन पनि पास गरिएको छ ।

‘विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९को मारबाट विस्तारै उठ्दै गरेको जनजिवीका, बढ्दो महंगी अनि गरिवीबाट आक्रान्त समुदायको जिवनस्तर सुधार गर्नेतर्फ सोही अनुरुप काम गर्ने बताउँदै चालु आव २०७८÷७९ मा गाउँपालिकाले प्रक्षेपण गरेको अपेक्षाकृत आन्तरिक आम्दानी प्राप्त नहुँदा हाम्रा सामु आएको दायित्व, जनताहरुका असिमित आवश्यकताहरु अनि सिमित बजेट सिमाको बीचमा रहेर पनि यथासम्भव गुणस्तरीय र जनउत्तरदायी काम गर्ने अठोट लिएका छौं ।,’ उपाध्यक्ष पाख्रिनले भनिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*