मेयरलाई आफ्नै छोराको ध्यानाकर्षणः शिक्षा क्षेत्रको विकृति हटाउनूस्

साझाकुरा
२०७९ असार २८, मंगलवार १०:१९

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामालाई आफ्नै छोरा सुपेन लामाले अनेरास्ववियूकोतर्फबाट शैक्षिक क्षेत्रको विकृति हटाउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले लामालाई हेटौंडा उपमहानगरपालिकाभित्र शिक्षा क्षेत्रमा देखिएको समस्या, विकृति र विसंगतिको सामुल अन्त्य गर्न र हेटौडा उपमहानगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्न १५ बुँदे ज्ञापन पत्र बुझाएको छ । लामाको छोरा सुपेन अनेरास्ववियू नगर समति अध्यक्ष हुन् । सोमबार मेयरको कार्यकक्षमा पुगेर सुपेनसहित अनेरास्ववियुका जिल्ला अध्यक्ष अरुण बर्तौला, सचिव आकाश अधिकारीसहितको टोलीले शिक्षा क्षेत्रको रुपान्तरणका लागि ध्यानाकर्षण गराएको हो ।

अनेरास्ववियूले हेटौडा उपमहानगरपालिका भित्रका निजि विद्यालयहरुले मनपरि रुपमा शुल्क उठाउने गरेको अभिभावकहरुको गुनासो आएको भन्दै यसलाई नियन्त्रण गर्न लामाको ध्यानाकर्षण गराएको छ । निजि विद्यालयहरुको प्रभावकारी अनुगमन गर्न र नियन्त्रण गर्न संयन्त्र निर्माणका लागि माग गरिएको छ । निजि विद्यालयले निर्धारण गरेको नयाँ चर्को शुल्क तत्काल खारेज गरी आवश्यक सरोकारवालाहरुको सहभागितामा निश्चित मापदण्ड बनाई नयाँ शुल्क निर्धारण गर्न माग गरिएको जिल्ला सचिव अधिकारीले जानकारी दिए ।

सरकारी निकायको फितलो अनुगमन प्रणाली र अनावश्यक राजनीतिक खिचातानीले राज्यको लगानीमा रहेका सामुदायिक विद्यालयको गुणस्तर दिन प्रतिदिन खस्किँदै गइरहेको भन्दै अनेरास्ववियूले चिन्ता व्यक्त गरेको छ । नियमित रुपमा सामुदायिक विद्यालयको विद्यार्थीसँग अन्र्तक्रिया गर्न मेयरसँग विद्याथी कार्यक्रम सञ्चालन गर्न, माध्यमका नाममा रहेको वर्गीय विभेद अन्त्य गर्न सबै सामुदायिक विद्यालयमा शुल्कका आधारमा माध्यम छनौट गर्नपर्ने बाध्यताको अन्त्य गर्न आवश्यक पहल गरिनु पर्ने, अंग्रेजी माध्यम र नेपाली माध्यमको शुल्क र गुणस्तरमा एकरुपता बनाइनुपर्ने, हरेक विद्यालयमा एक जना खेलकुद प्रशिक्षक र एक जना नर्सको व्यवस्था गरिनुपर्ने, हरेक सामुदायिक विद्यालयको मावि तहमा अनिवार्य रुपमा सिपमुलक तालिम संचालन गरिनुपर्ने लगायतका माग राखिएको छ ।

अनेरास्ववियूले केहि विद्यालयमा विद्यार्थीको लागि व्यवस्था गरिएको दिवा खाजामा शिक्षक र कर्मचारीसमेतले खाने गरेको पाइएकोले त्यसको तत्काल छानविन गरी
कारवाहीको दायरामा ल्याइनुपर्ने माग गरेको छ । हरेक सामुदायिक विद्यालयको हिसाबकिताब पारदर्शी बनाउन सबै सामुदायिक विद्यालयलाई केन्द्रित लेखा प्रणाली विकास
गरि नियन्त्रण गरिनुपर्ने, अन्तरविद्यालय खेलकुद कार्यक्रमको आयोजना गरिनुपर्ने, सामुदायिक विद्यालयलाई पूर्णप्रविधिमैत्री बनाइनुपर्ने, शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक तालिमहरुको व्यवस्था गर्नुपर्ने माग राखिएको छ ।

विद्यालय र क्याम्पस वरिपरि सुर्तिजन्य पदार्थ विक्रि वितरण गर्न नपाइने कानुन नै रहेकोले त्यसको कार्यान्वयन कडाईका साथ लागु गर्नुपर्ने, हेटौडा उपमहानगरपालिकाभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल आवश्यक छात्रवृत्ति प्रदान गर्नुपर्ने, आवश्यकता भन्दा बढी भार बोकेर विद्यालय जानु पर्ने वाध्यताको अन्त्य गर्न हरेक विद्यालयमा लकरको व्यवस्था गरिनुपर्ने, हेटौंडाभित्रका उत्कृष्ट विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षाको अभ्यास गर्न नगरपालिकामै इन्टर्नसिप गर्ने व्यवस्था मिलाइनुपर्ने माग राखिएको छ । मेयर लामाले आवश्यक मागको उचित सम्बोधन हुने प्रतिबद्धता जनाएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*