महंगीको मारले सरकारकै करोडौंका योजना अलपत्र

साझाकुरा
२०७९ असार २९, बुधबार ०९:१५

हेटौंडा- मुलुकमा दैनिकरुपमा भइरहेको मूल्यवृद्विले आमनागरिकलाई मात्रै होइन सरकारको कामलाई पनि प्रभावित पारेको छ । पछिल्लो समय नेपालमा दैनिकरुपमा भइरहेको मूल्यबृद्विको मारमा आमनागरिकसँगै सरकारकै योजनाहरु पनि परेका हुन् । दैनिक उपभोग्य सामाग्रीसँगै निर्माण सामाग्री पनि आकाशिदो मूल्यले गर्दा बागमती प्रदेश सरकारको योजनाहरु प्रभावित बनेका छन् ।निर्माण सामाग्रीमा भएको मूल्यवृद्विकै कारण चालु आर्थिक वर्षमा सम्पन्न हुनुपर्ने प्रदेश सरकारको साना तथा ठूला सयौं योजनाहरु अलपत्र अवस्थामा रहेका छन् । चालु आर्थिक वर्षको असार मसान्तसम्म काम सम्पन्न गर्ने भन्दै सम्झौता गरेका निर्माण व्यवसायीहरु यतिबेला मूल्यवृद्विलाई कारण देखाउँदै काम सम्पन्न गर्न नसक्ने बताइरहेका छन् ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको अनुसार महंगीकै कारण प्रदेश सरकारकै सयौं योजना अलपत्र परेको जनाएको छ । बजारमा बढेको महँगीअनुसार सरकारले मूल्य समायोजन नगरेको भन्दै निर्माण व्यवसायीले काम नगर्दा प्रदेश सरकारको साना तथा ठूला योजनाहरू अलपत्र परेको मन्त्रालयले बताएको हो । सरकारले मूल्यवृद्धि समायोजन नगरेको भन्दै निर्माण व्यवसायीहरूले प्रदेश सरकारसँग काम सम्पन्न गर्न ठेक्का लिइसकेको आयोजनाहरूको काम रोकेका हुन् ।
मन्त्रालयका प्रवक्ता नविन सिंहका अनुसार कतिपय योजना ठेक्का लिएर पनि सुरु गरिएको छैन भने कति योजना सुरु गरेर बीचमै अलपत्र छोडिएको छ । प्रवक्ता सिंहले चैतको अन्तिमबाट नै प्रदेश सरकारको कतिपय योजनाहरूको निर्माण कार्य रोकिएको बताए । ‘महँगीको मारमा सरकारकै योजनाहरू परेका छन् । चैतबाट  धेरै निर्माण व्यवसायीले महँगीकै कारण सरकारको काम नै रोकिदिएका छन्’, उनले भने ।

सिंहका अनुसार पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले महँगीले गर्दा १० वटा योजना प्रभावित भएको जनाएको छ । कार्यालय मातहतबाट भइरहेको मुडे बाघखोर कालापानी सडक स्तरोन्नति आयोजना, दोलखा, बाह्रबिसे धुस्कुन पिस्कर सडक स्तरोन्नति आयोजना, सिन्धुपाल्चोक, किलो अत्तरपुर लिसंखु सडक आयोजना, सिन्धुपाल्चोक, चौतारा सिपाघाट कात्तिके काठमाडौं (झ्याडही–देउराली खण्ड) सडक, सिन्धुपाल्चोक–सिताकोथान–जुँगुँ झ्याँकु गाउँपालिका सडक स्तरोन्नति आयोजना, दोलखा–नौबिसे–चौतारा सडक, सिन्धुपाल्चोक–भटमासे–जिलु सडक, दोलखा–चर्नावती खोला सडकपुल आयोजना, दोलखा र चरिकोट कालिञ्चोक (देउराली कुरी खण्ड) सडक, निर्माण कार्य महँगीले गर्दा प्रभावित बनेको छ ।

प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले महँगीले एकसय ८० वटा योजनाहरू प्रभावित भएकोमा ९ वटा बहुवर्षीय योजना बढी प्रभावित बनेको जनाएको छ । कार्यालयका प्रमुख मदन आलेका अनुसार पाल्पाभञ्ज्याङ साधभञ्ज्याङ सडक, रुबिभ्याली गाउँपालिका पुग्ने बोराङ–सेर्तुङ सडकखण्ड, पुष्पलाल प्रदेश चक्रपथ, कागेश्वरी गोठडाँडा खेस्ते वीरबहादुरको घर वायुगाउँ टुक्टिङ कोहलिखर्क सडक, नीलकन्ठ ३ नवदुर्गा गणेश मन्दिर थोपलखोला र नीलकन्ठ १२ बीचको पक्की पुल, लिस्ने खोला पुल, कालिदह पुल सिद्धलेख १ र ५ जोड्ने, दार्खाखोला पुल, सान्कोश तिप्लिङ सडक र नेत्रावती १ र गंगाजमुना ४ जोड्ने साप्टारी साल्दुङ झोलुंगे पुल निर्माण कार्य महँगीले गर्दा प्रभावित बनेको बताए ।

उनले महँगीले गर्दा पूर्ण रुपमा काम नै रोकिएको नभए पनि काममा धेरै नै ढिलासुस्ती भएको बताए । उनको अनुसार विशेषगरी पुल निर्माणको काम बढी प्रभावित बनेको छ । पुलको लागि रड र सिमेन्ट चाहिने तर, पछिल्लो तीनै वस्तुको मूल्य अत्यधिक बढेकाले पुल निर्माणको काम बढी प्रभावित बनेको उनको भनाइ छ ।
पूर्वाधार विकास कार्यालय चितवनले पनि महँगी र अन्य विविध कारणले चालु आर्थिक वर्षमा बहुवर्षीय तथा साना एकसय ४१ वटा योजना निर्माण कार्य सम्पन्न गर्न नसक्ने मन्त्रालयलाई लिखित पत्र नै लेखेर जानकारी गराएको छ ।

त्यस्तैगरी, पूर्वाधार विकास कार्यालय रामेछापबाट भइरहेको ७ वटा बहुवर्षीय योजनाको निर्माण कार्य मूल्यबृद्विले गर्दा अलपत्र परेको छ । खानी खोला पुल, मन्थली गल्भा चौरी सडक, खिम्ती बेतली धारापानी सडक, कालोचौतारा सिंगटी गल्भ सडक, सिक्टा भीरपानी सडक, लिखु करिडोर र मन्थली गाईखुरा सडकखण्डको निर्माण कार्य महँगीले गर्दा हुन सकेको छैन ।प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले पनि बहुवर्षीय योजनामा रहेर काम भइरहेको १४ वटा योजनाहरूको निर्माण कार्य महँगीले गर्दा हुन नसकेको जनाएको छ ।

कार्यालयले क्यान खोला सडक पुल, क्यनेस्वर क्वाटर, सिन्धुली–आरुबोटे खोला पुल, सुनकोशी, मरिण खोलामा पक्कि पुल (हरिहरपुर गापा–२ को वाखफर र वडा–४ को हाकपुर जोड्ने सडक), सिन्धुली, कमलामाई नगरपालिका–९ र १० जोड्ने सडकको कमला नदिमा पक्की सडक पुल, सिन्धुलीगढी मझुवा काफलचौरी दुम्जा सडक आयोजना, सिन्धुली, भिमस्थान चकमके उदयपुर कटारी सडक (दोस्रो खण्ड), सिन्धुली, भिमस्थान चकमके उदयपुर कटारी सडक, घाँसा कल्लेरी मालुखोला सडक दोलखा, सुकुटे चापागाउँ मेलडाँडा थोकार्पा भञ्ज्याड्ड सडक, सिन्धुपाल्चोक, फिल्मसिटी एक्सेस सडक (कालोपत्र कार्य), दोलखा, जगाडी धनसरि सडक कालोपत्रे, सिन्धुली, बौलाखोला पक्कीपुल निर्माण कनपा, पातीपरान खोला स्ल्याब कज्वे, कमला नगरपालिका र लुङ्लिटार दुम्की ठाक्ले बाँसकटेरी सडक, सिन्धुलीको योजना अलपत्र परेको जनाएको छ ।

तीन वर्षदेखि सिन्धुलीको कमलानदी पुल निर्माण गरिरहेको सूर्या एण्ड सन्स प्रालिका डाइरेक्टर निमि श्रेष्ठ निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिले काम गर्न सकस भइरहेको बताउँछन् ।सम्झौता गरिसकेपछि सरकारसँग थप बजेट पनि माग्न नमिल्ने र सम्झौता गरेको बजेटमा काम सम्पन्न पनि गर्न नसक्ने अवस्था रहेको उनको दुखेसो छ । श्रेष्ठले पुलका लागि आवश्यक पर्ने रडमा अत्यधिक मूल्यवृद्धि भएको बताए । उनले आफूले पुल निर्माणको ठेक्का लिँदा ६८ रुपैयाँ प्रतिकिलो रहेको रडको मूल्य अहिले एकसय ३० रुपैया पुगेको बताए । उनले निर्माण सामाग्रीमा मूल्यवृद्धि सम्झौता भएको निर्धारित समयमा काम सम्पन्न गर्न पनि नसकेको बताए । सरकारले निर्माण व्यवसायीसँग जेठ १३ मा वार्ता गरेर व्यवसायीका समस्या सम्बोधन गर्ने सहमतिसमेत गरिसकेको छ । सरकारले सार्वजनिक खरिद नियमावलीमा १२ औं संशोधन गरेर व्यवसायीको माग सम्बोधन गर्ने आश्वासन दिएको भएपनि व्यावहारिक कार्यान्वयन नहुँदासम्म विकास निर्माण ठप्प नै हुने निर्माण व्यवसायीहरूको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*