साढे १७ करोडको काठ दाउरा वनमै अलपत्र

साझाकुरा
२०७९ श्रावण २, सोमबार १२:००

हेटौंडा- बागमती प्रदेशमा साढे १७ करोडभन्दा बढी मूल्य बराबरको काठ दाउरा अलपत्र हुँदा कुहिने अवस्थामा पुगेको पाइएको छ । बागमती प्रदेशअन्तर्गत्का ११ डिभिजन वन कार्यालयमा गरेर १६ करोड ३५ लाख बढीको काठ र १ करोड २६ लाख बढी मूल्यको चट्टा दाउरा अलपत्र रहेको महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । डिभिजन वनहरुले वर्षौदेखि वनमै काठ घाटगद्दी गरेर राखेका कारण कुहिने अवस्थामा पुगेका हुन् । आर्थिक वर्ष २०७७÷०७८ सम्ममा करोडौं रुपैयाँ मूल्य बराबरका काठ जंगलमा नै कुहिने अवस्थामा पुग्दा पनि सम्बन्धित वन कार्यालयहरुले चासो नदिएको महालेखाले उल्लेख गरेको छ ।

‘प्रदेशअन्तर्गत्का ११ डिभिजन वन कार्यालयमा गत वर्षको मौज्दात सात लाख ११ हजार एकसय ६२ क्यूफिट र यसवर्ष कटान चारलाख ८७ हजार छसय ९२ क्यूफिटसहित सालका ११ लाख ९८ हजार आठसय ५५ क्यूफिट तथा अन्य जातका गतवर्षको मौज्दात ४८ हजार दुईसय ३५ क्यूफिट र यसवर्ष कटान दुईलाख ३० हजार तीनसय ७७ क्यूफिटसमेत दुईलाख ७८ हजार छसय तीन क्यूफिट काठ रहेको छ’, महालेखाले प्रतिवेदनमा जनाएको छ । आव २०७७÷०७८ मा छ लाख ६१ हजार सातसय ६८ क्यूफिट तथा अन्य जातका दुई लाख ३७ हजार पाँचसय ५१ क्यूफिट बिक्री गरी पाँच लाख ३७ हजार ८८ क्यूफिट साल तथा ४१ हजार ५१ क्यूफिट अन्य जातका काठ मौज्दात रहेको जनाइएको छ ।

मौज्दात विवरण अनुसार १६ करोड ३५ लाख ४८ हजार मूल्यको दुई सय ९२ क्यूफिट र एक करोड २६ लाख ३७ हजार मूल्यको सात सय २७ चट्टा दाउराको मौज्दात रहेको महालेखाले जानकारी दिएको छ । वर्षौंदेखि कटान भई मौज्दात रहेका काठहरु नै बिक्री भई नसकिएको हो । मौज्दात रहेका काठ दाउरा समयमै लिलाम बिक्री नगर्दा घामपानीको कारणले गुणस्तरमा ह्रास आई प्रयोगमा ल्याउन नसकिने र बिक्रीबाट राजस्व आम्दानी घट्न जानेतर्फ महालेखाले औंल्याएको छ । महालेखाले वन तथा वातावरण मन्त्रालयलाई समयमै लिलाम बिक्री गरी आम्दानी गर्नेतर्फ ध्यान दिन सुझाव दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*