भौतिक मन्त्रालयअन्तर्गत् चिया र इन्धनमा ११ करोड

साझाकुरा
२०७९ श्रावण ४, बुधबार ०९:२७

हेटौंडा,- बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमातहतका १३ वटा कार्यालयले चियादेखि इन्धनमा करिब ११ करोड रुपैयाँ खर्च गरेका छन् । १३ वटै जिल्लामा मन्त्रालयमातहत रहेका पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय, खानेपानी तथा सिचाई डिभिजन कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ मा मनलाग्दी खर्च गरेको महालेखाले औंल्याएको हो । सबै कार्यालयले विविध खर्चमा मात्र १० करोड ९८ लाख ४२ हजार रुपैयाँ खर्च गरेको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । अस्वाभाविक खर्च गरेपछि महालेखा परीक्षकको कार्यालयले खर्च व्यवस्थापन गर्न सुझाव दिएको छ । महालेखाले कन्टिन्जेन्सी खर्चको कार्यविधि तर्जुमा गरेरमात्र खर्च गर्न सुझाव दिएको हो ।

कार्यालयहरुले कन्टिन्जेन्सी वापतको खर्च रकम दैनिक भ्रमण भत्ता, इन्धन, गाडी र मोटरसाइकल मर्मत, कार्यालय तथा स्टेशनरी, छपाई, सूचना प्रकाशन खर्च, चिया खाजा खर्च र कार्यालय सञ्चालन खर्चमा करोडौं रकम खर्च गरेको महालेखाले जनाएको हो । प्रदेश सार्वजनिक खरिद नियमावली, २०७६ मा लागत अनुमान तयार गर्दा वर्क चार्ज स्टाफ खर्च २ प्रतिशत र अन्य सानातिना खर्च २ प्रतिशत गरी ४ प्रतिशत कन्टिन्जेन्सीमा समावेश गर्न पाउने व्यवस्था रहेको छ । कन्टिन्जेन्सी खर्चअन्तर्गत्
दैनिक भ्रमण भत्ता, इन्धन, गाडी र मोटरसाईकल मर्मत, कार्यालय तथा स्टेशनरी, छपाई, सूचना प्रकाशन, चिया खाजा खर्च जस्ता कार्यालय सञ्चालन खर्चमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, भक्तपुरले ९७ लाख २१ हजार खर्च गरेको हो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मकवानपुरले ९१ लाख २ हजार, सिन्धुपाल्चोकले ७१ लाख ७३ हजार, पूर्वाधार विकास कार्यालय काभ्रेले २ करोड ३ लाख ७९ हजार, रामेछापले १ करोड ८० लाख ४७ हजार, ललितपुरले १ करोड ७ लाख ८३ हजार, सिन्धुपाल्चोकले १ करोड ४५ लाख ९२ हजार, यातायात पूर्वाधार विकास निर्देशनालयले ७७ लाख ६५ हजार खर्च गरेको छ । जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय दोलखाले ७४ लाख ९१ हजार, जलस्रोत तथा सिचाई विकास डिभिजन काभ्रेले ५५ लाख ९३ हजार, ललितपुरले ११ लाख ८६ हजार, काठमाडौले २८ लाख २ हजार, धादिङले ३४ लाख १६ हजार खर्च गरेको महालेखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*