‘कांग्रेसले मेहनत बढाए एक्लै बहुमत ल्याउन सक्छ’

साझाकुरा
२०७९ श्रावण ५, बिहीबार ०९:२७

हेटौंडा- नेपाली कांग्रेसका नेताहरुले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले एक्लै बहुमत ल्याउने दाबी गर्दै त्यसको लागि मेहनत बढाउनुपर्ने बताएका छन् ।
हेटौंडामा कांग्रेस मकवानपुरले बुधबार आयोजना गरेको जनप्रतिनिधिलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय उपसभापति सहितका नेताहरुले कांग्रेसले आसन्न निर्वाचनमा बहुमत ल्याउन सक्ने तर, त्यसको लागि अझै मेहनत आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा बोल्दै उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बहुमत ल्याउने दाबी गरे । उनले पार्टीको मूलभूत एजेन्डा पूरा गर्न बहुमत आवश्यक रहेको बताए ।

उनले कांग्रेसले चाहेर मात्रै गठबन्धन नभएको बताउँदै दुई तिहाई बहुमत पाएको नेकपाको जनबिरोधी काम, मनलाग्दी र ज्यादतीको अन्त्य गर्न गठबन्धन गरेको बताए । उनले भने, ‘अधिनायकवाद, संविधान र लोकतन्त्र बिरोधी गतिविधिले गठबन्धन निर्माण भएको हो ।’कार्यक्रममा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । दुई तिहाई बहुमत पाएको नेकपाको जनबिरोधी काम, मनलाग्दी र ज्यादतीको अन्त्यको लागि गठबन्धन भएको उनले बताए । उनले १२ बुँदे शान्ति सम्झौता पूरा गर्नका लागि काँग्रेसले माओवादी केन्द्रलाई साथमा लिएर सरकारको नेतृत्व गरिरहेको बताए । उनले काँग्रेसको बहुमतको लागि निर्वाचित जनप्रतिनिधिले आफ्नो स्थानीय तहमा पार्टीलाई सधाउ पुग्ने गरी विकास निर्माणका काम गर्न पनि आग्रह गरे ।

उनले काँग्रेसको बहुमतको लागि कार्यकर्ता र क्रियाशील सदस्यहरुले आम मतदाताहरूलाई वर्तमान सत्ता गठबन्धनको मर्म बुझाउन जरुरी रहेको बताए । ‘आगामी निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने लक्ष्य बोकेर अघि बढ्नुपर्छ । काँग्रेसको मूलभूत एजेण्डा पूरा गर्न पनि बहुमतको लक्ष्य पूरा गर्नुपर्छ ।’ उनले भने, ‘काँग्रेसका कार्यकर्ता र क्रियाशील सदस्यहरुले आम मतदातालाई वर्तमान सत्ता गठबन्धनको मर्म बुझाउन सक्नुपर्छ । काँग्रेस वा शेरबहादुर देउवाले चाहेरमात्र गठबन्धन भएको होइन, यो राष्ट्रिय आवश्यकता हो ।’

नेपाली कांग्रेसकी सह– महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ ले आफ्ना उम्मेदवारहरुलाई सफल बनाउन स्थानीय तहमा प्राप्त नतिजाको आधारमा थप मेहनत
गरेर अघि बढ्न आवश्यक रहेको औंल्याइन् । उनले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बहुमत ल्याउनको लागि अहिलेको मात्रै मेहनत पर्याप्त नभएकोले थप मेहनत गरेर अगाडि बढन्पर्ने बताएकी हुन् ।‘आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अझै राम्रो गर्न आ–आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने आवश्यकता छ । हामीले स्थानीय तहको निर्वाचनको नतिजालाई आधार मानेर थप सक्रियरुपमा काम गर्नुपर्छ’, उनले भनिन् ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँले संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार छनौट क्रियाशील सदस्यबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरे । उनले टिकट वितरणको विषयमा पार्टीभित्र विवाद देखिँदा घातअन्तर्घात बढेको भन्दै क्रियाशीलबाटै उम्मेदवार छनौट जरुरी रहेको बताए ।‘पार्टीभित्र आफू केन्द्रीत राजनीति हाबी भइरहेको छ । आफूले टिकट पाए ठीक नत्र बेठीक भन्ने प्रवृत्ति बढिरहेको छ । त्यसकारण क्रियाशीलबाट उम्मेदवार छानौं । विद्युतीय मतदानको व्यवस्था गरौं’, उनले भने । सभापति बानियाँले मंसिरको पहिलो हप्ता हुने निर्वाचनमा संघ र प्रदेश दुवै तहमा काँग्रेसको बहुमत ल्याउने गरी जित्ने उम्मेदवारलाई टिकट वितरण गर्न जरुरी रहेको औंल्याए । ‘पार्टीभित्र बढ्दो अनुशासनहिनतालाई तोड्न जरुरी छ’, उनले भने । उनले स्थानीय तहमा मकवानपुर कांग्रेस पहिलो पार्टी भएपनि जनाधार अझै बलियो बनाउन जरुरी रहेको बताए ।

सम्मान कार्यक्रम कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षता एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा मकवानपुरको स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित भएकाहरुलाई सम्मान गरिएको थियो । कांग्रेसले हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखसहितको स्थानीय तहहरुमा जीत हासिल गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*