प्रेस युनियनको महाधिवेसनको तयारी पुरा

साझाकुरा
२०७९ श्रावण ५, बिहीबार ०९:३६

हेटौंडा- नेपाली काँग्रेस पार्टीनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसनको तयारी पूरा भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा भोलि शुक्रबारबाट सुरु हुने नवौं महाधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ ।महाधिवेशनका लागि प्रेस युनियनका केन्द्रीय टोलिसहितका युनियनकर्मीहरु हेटौंडा आउन थालिसकेका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रमको तयारी पूरा भएको स्थानीय समन्वय समिति संयोजक एंव केन्द्रीय सदस्य राममणि दाहालले बताए । बुधबार केन्द्रीय अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष ईश्वरी ओझा कार्यवाहक महासचिव भीष्मराज ओझा, कोषाध्यक्ष सरोज अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी(पोष्टराज) लगायत युनियनकर्मीहरुको उपस्थितिमा बसेको बैठकले महाधिवेसनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न प्रेस युनियन मकवानपुरले विभिन्न समिति, उपसमितीहरु गठन गरेर आवश्यक तयारी गरिरहेको प्रेस युनियन मकवानपुरका अध्यक्ष
पोष्टराज अधिकारी कुमारले जानकारी दिए । उनले प्रेस युनियनको केन्द्रीय महाधिवेशन हेटौंडामा गर्न पाउनु युनियनको लागि मात्रै नभई समग्र मकवानपुरको लागि गौरवको कुरा भएको भन्दै महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न आ–आफ्नो स्थानबाट भूमिका खेल्न आग्रह गरे ।

महाधिवेशनमा संघीय संरचनाअनुरुप विधान संसोधनसहित निर्वाचन कार्यक्रमसमेत रहेको छ । देशभरबाट १६ सयभन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहने युनियनले जनाएको छ । १६ सय प्रतिनिधिलाई खाना आवासको लागि तयारी पूरा भइसकेको भन्दै उनले आज बिहिबारबाट प्रतिनिधिहरु हेटौंडा आउन थाल्ने बताए । उनले अतिथि, प्रतिनिधि र पर्यवेक्षक गरी करिब दुई हजार जना सहभागी हुने निश्चित रहेको बताए ।

प्रधानमन्त्री, मन्त्री तथा पार्टीका शीर्ष नेतृत्व नै हेटौंडामा हुने भएका कारण सोहीअनुसार सुरक्षाको व्यवस्था मिलाउन जिल्ला प्रशासन, जिल्ला प्रहरी र ट्राफिक प्रहरीलाई अनुरोध गरेको बताए । महाधिवेशनको उद्घाटन, बन्द सत्र र नयाँ कार्यसमिति चयनका लागि हुने मतदानको सम्पूर्ण प्रबन्ध रोयल पार्टी प्यालेसमा हुने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ । हेटौंडामा रहेका होटलमा मात्र आवास व्यवस्था सम्भव नभएपछि छिमेकी जिल्ला बाराको अम्लेखगञ्ज र चितवनको सौराहामा समेत आवासको व्यवस्था मिलाएको उनले बताए । अधिकारीले भोली शुक्रबार बिहान पल्पसा अगाडिबाट प्रभातफेरी गरिदैं कार्यक्रम स्थल रोयल पार्टी प्यालेसमा महाधिवेशन कार्यक्रम हुने बताए । महाधिवेशनले यूनियनको नयाँ कार्यसमिति चयन गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*